झण्डा होइन हार्दिकता उठाऊ

Share:
  
- बसन्त महर्जन
विश्वका बौद्ध पर्यटकहरू पञ्चरङ्गी बौद्ध झण्डा र पहेंलो भित्ता हेर्न लुम्बिनी आउँछन् भनेर ठान्नु नै गलत हो।

दीपक ज्ञवाली
गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवा शहरका घरघरमा पञ्चरङ्गी बौद्ध झ्ण्डा फहराउने अभियान थालिएको छ। 'धार्मिक पर्यटनमा टेवा पुर्‍याउन' ब्यांक रोडबाट शुरू भएको यो अभियानलाई सिद्धार्थनगर नगरपालिकाले पनि घरको बाहिरी भित्तामा पहेंलो रंग पोत्न दिएर सघाउन लागेको सुनियो। लुम्बिनीभित्रै बौद्ध वातावरणको अभाव महसूस भइरहेको अवस्थामा भैरहवाका घर–घरमा बौद्ध झ्ण्डा फहराउन लागिएको समाचार आफैंमा सुखद् हो तर, झ्ण्डा फहराउँदैमा र घरको भित्ता पहेंलो पार्दैमा बौद्ध वातावरण सिर्जना हुन्छ

त? कृत्रिमता मात्रै थपिने त होइन? विश्वभरबाट आउने बौद्धहरूमा त्यस्तो प्रदर्शनीले नकारात्मक असर त पार्दैन?

छत वा छानामा बौद्ध झ्ण्डा हुनुको सोझो अर्थ हुन्छ– त्यो घर बौद्ध धर्मावलम्बीको हो। भैरहवामा अहिले भइरहेको कसरतभित्र त्यो सत्य छैन। यो अभियानमा कुनै पनि बेला विचलन आउने र धर्मजस्तो कुरामा यसरी खेलाँची गर्दा व्यक्त/अव्यक्त रूपमा वैमनस्य उत्पन्न हुनसक्ने सम्भावना पनि छँदैछ। अहिलेको शान्त वातावरणमा यही कारणले वैमनस्य उत्पन्न भयो भने सबैका लागि प्रत्युत्पादक हुन्छ।

हिन्दू–बौद्ध एउटै हो भन्ने धारणा राख्ने हिन्दू धर्मावलम्बी थुप्रै छन्। नैतिक आचरण तथा केही आदर्शहरूमा समानता भएकोले यस्तो भ्रम उत्पन्न हुनु अस्वाभाविक होइन। दुवैको धर्म–दर्शन वा आधारभूत मान्यतामा मौलिक भिन्नता छन्। हिन्दू मूल्यमान्यताको विकास वेदवेदान्तको पृष्ठभूमिमा भएको हो। वैदिकहरूले बुद्धलाई वेदविरोधीका रूपमा निन्दा गर्दै 'नास्तिक' भनेका थिए। दर्शनशास्त्रका कक्षाहरूमा हिजोआज पनि आस्तिक दर्शनका रूपमा षट्दर्शन र नास्तिकका रूपमा चार्वाक, जैन र बौद्ध दर्शन पढाइन्छ।

हिन्दूहरू आत्मा–परमात्माको अस्तित्वमा जोड दिन्छन् र त्यसको निरन्तरतामा विश्वास राख्छन् भने बौद्धहरू अनित्य, दुःख र अनात्म (त्रिलक्षण) लाई आफ्नो दर्शन मान्छन्। हिन्दू दर्शनले ईश्वर सर्वशक्तिमान मान्छ भने बौद्ध दर्शनमा ईश्वरको चर्चा हुँदैन। बौद्ध धर्म–दर्शनमा पूर्वजन्म र पुनर्जन्मको अवधारणा त पाइन्छ तर त्यो निर्वाण प्राप्तिपछि अन्त्य हुने मानिन्छ। यस्तो अवस्थामा दुवै धर्म एउटै हो भनी फलाकेर बस्नुभन्दा अलग–अलग भए पनि सद्भाव–सहिष्णुता भएको देखाउनु राम्रो हुन्छ।

विष्णुको नवौं अवतार मानेर बुद्धलाई हिन्दू धर्मले सम्मान गरेको वा हिन्दू धर्मको एक शाखा भएको मान्नेहरू पनि छन्। वैदिक समाजमा विष्णुको अवतारवाद पहिल्यैदेखि नभएर इसाको सातौं–आठौं शताब्दीतिर मात्र आएको हो, बौद्ध धर्म–दर्शनलाई निस्तेज पार्न। वैष्णव सम्प्रदायले विकास गरेको यो अवधारणा वैदिक र बौद्ध दुवै साहित्य अनुकूल छैन। बुद्धलाई विष्णुको नवौं अवतार मान्नु भनेको दुवै धर्म–दर्शनप्रति उदासीन वा अनभिज्ञ हुनु हो।

लुम्बिनी र सिद्धार्थनगर नगरपालिकाभित्र केही दशकयता बौद्धहरूको उपस्थिति बढे पनि हिन्दू र इस्लाम धर्मावलम्बीको बाहुल्य छ। उनीहरूले गौतम बुद्ध र बौद्ध धर्मप्रति गौरव गर्नु धेरै राम्रो कुरा हो। लुम्बिनी आफ्नो क्षेत्रमा पर्नु पर्यटन उद्योगका दृष्टिले पनि महत्वपूर्ण अवसर हो। यही अवसर छोप्न घर–घरमा बौद्ध झ्ण्डा फहराउन लागिएको बुझन गाह्रो पर्दैन। बौद्ध पर्यटकहरूलाई आकर्षित गर्न बरोबर यस्तै हचुवा काम भइरहेको देख्न पाइन्छ। बुद्ध र बौद्ध धर्मदर्शनसम्बन्धी सामान्य जानकारीको अभावमा लुम्बिनी क्षेत्रमा अर्थहीन काम हुने गरेका अनेकौं दृष्टान्त छन्।

विश्वमा धेरै बौद्ध सम्पदा स्थलहरू छन्, जहाँ वर्तमानमा बेग्लै धर्मावलम्बीको बसोबास छ। दक्षिणपूर्वी एशियाका धेरै ठाउँमा इतिहासको कुनै कालखण्डमा निर्मित बौद्ध सम्पदाहरू मुस्लिमहरूबाट संरक्षण भएको पाइन्छ। इण्डोनेसियाको मध्य जाभास्थित बोरोबुदुरलगायतका बौद्ध सम्पदास्थल त्यस्तै उदाहरण हुन्, जो आज प्रमुख पर्यटकीय स्थल बनेका छन्। भारतमै पनि सारनाथ, बोधगया, साँची, संकाश्य, राजगीर, कुशीनगरलगायतका बौद्धस्थलहरूमा अन्य धर्मावलम्बीहरूको बस्ती छ।

ती ठाउँका बासिन्दा वा सरकारले विश्वका बौद्ध पर्यटकलाई आकर्षित गर्न घर–घरमा झ्ण्डा ठड्याउने वा भित्ता पहेंलपुर पार्नेभन्दा अरू रचनात्मक काम गरेका छन्। हामी पनि अर्थहीन कामको साटो सेवासुविधाको बन्दोबस्त र अरू किसिमको रचनात्मक प्रचारप्रसारमा अग्रसर हुनुपर्छ।

comments powered by Disqus

रमझम