भारतमा तुफान

Share:
  
- टीकाराम राई
पहिलो पटक हुन लागेको नेपाल–चीन संयुक्त सैनिक अभ्यासको रणनीतिक महत्वका कारण भारतीय सञ्चारमाध्यमहरू अनावश्यक विवाद उत्पन्न गराउन उद्यत भए।

भारतीय अखबारहरूका अनुसार 'प्रतिकार–१' को नेपाल–चीन संयुक्त सैनिक अभ्यास २८ माघमा हुनेछ। नेपाली सेनाका प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले भने संयुक्त सैन्य अभ्यास हुने भए पनि त्यसको मिति र स्थान टुंगो लागिनसकेको जनाएका छन्। चीनका तर्फबाट पनि यस विषयमा स्पष्ट पारिएको छैन। संयुक्त सैन्य अभ्यासको नामले यो प्रतिआतंकवाद, बन्धक उद्धार र प्राकृतिक प्रकोपपछिको उद्धारसँग सम्बन्धित हुने बुझाउँछ। अर्थात्, प्रस्तावित सैनिक अभ्यास युद्ध नभई मानवीय लक्षित छ।

यस्ता मानवीय प्रयासबाट नेपाल र चीनका जनता त लाभान्वित हुन्छन् नै, सँगसँगै क्षेत्रीय शान्तिमा पनि योगदान पुग्ने देखिन्छ। संयुक्त अभ्यासमा सहभागीहरूबीच विषयगत अनुभव, सीप र ज्ञान आदानप्रदान हुनु स्वाभाविकै हो। नेपालले भारत र अमेरिकासँग प्रतिआतंकवाद र प्राकृतिक प्रकोप विषयमा पटक–पटक संयुक्त सैनिक अभ्यास गरे पनि चीनसँग गरेको थिएन। यद्यपि, दुई देशका राष्ट्रिय सेनाबीच अन्य प्रकारको सहकार्य भने चलिनै रहेको छ।

पछिल्लो पटक गत अक्टोबरमा रक्षामन्त्री बालकृष्ण खाँणले गरेको भ्रमणमा चीनले नेपाली सेनाको आधुनिकीकरणमा सहयोग गर्ने वचन दोहोर्‍याएको थियो। त्यसपछि हुन लागेको संयुक्त सैन्य अभ्यासले नेपाल–चीन सम्बन्धमा सैनिक आयाम पनि थप्नेछ, जसले दक्षिण एशियाली भूराजनीतिकमा रणनीतिक महत्व राख्छ।

चीन र भारतबीच सन् २००६ बाट संयुक्त सैनिक अभ्यास हुँदै आएको छ। पछिल्लो पटक गत अक्टोबरमा भारतीय सेनाले आफ्नै भूमि लद्दाखमा चिनियाँ सेनासँग संयुक्त अभ्यास गरेको थियो। आतंककारीहरूले काश्मिरको उरीस्थित आफ्नो एउटा क्याम्पमा गत सेप्टेम्बर १८ मा आक्रमण गरेको एक महीनामा भारतीय सैनिक टोलीले अर्को संवेदनशील क्षेत्रमा चिनियाँ सैनिक टुकडीसँग संयुक्त अभ्यास गरेको थियो। अभ्यासमा सहभागी भारत र चीनका सैनिकहरूले प्राकृतिक प्रकोपपछिको उद्धार र सहयोग कार्यबारे आ–आफ्ना अनुभव, ज्ञान र सीप आदानप्रदान गरेका थिए। त्यसअघि २०७२ असोजमा भारत र चीनका सैनिकहरूबीच चीनको कुन्मिङमा 'हातेमालो– २०१५' नामक संयुक्त सैनिक अभ्यास भएको थियो। भारत र चीनले सन् २०१३ को सीमा सहकार्य सम्झौतामै यस्ता सैनिक अभ्यास गर्ने प्रावधान राखेका छन्।

भारतले त सन् २०१६ मा नेपाल, श्रीलंका, फ्रान्स, बेलायत, अमेरिका र रूससँग पनि संयुक्त सैनिक अभ्यास गर्‍यो। गत नोभेम्बरमा उत्तराखण्ड राज्यमा नेपाली र भारतीय सेनाबीच भएको नवौं संयुक्त सैन्य अभ्यासको नाम 'सूर्य किरण' थियो, जुन प्राकृतिक प्रकोप र मानवीय उद्धारकै विषयमा केन्द्रित थियो। भारतले त्यसको दुई महीना अगाडि अमेरिकासँग चिनियाँ सीमाबाट एकसय किलोमीटर टाढा उत्तराखण्डमा संयुक्त सैनिक अभ्यास गरेको थियो। त्यसमा भारतका गढवाली र मद्रासी पल्टन र अमेरिकी सेनाको सेकेण्ड स्ट्राइकर ब्रिगेडका कमाण्डोहरू सहभागी थिए। समुद्र सतहदेखि करीब २५ सय मीटर अग्लो स्थानमा भएको त्यो अभ्यास 'युद्ध अभ्यास' कोे १२आंै संस्करण थियो। भारतीय र अमेरिकी सेनाबीच यस्ता प्रकृतिका संयुक्त सैनिक अभ्यास सन् २००४ बाट हुन थालेको हो।

नेपाल र चीनबीच हुन लागेको संयुक्त सैनिक अभ्यास विषयबारे भने भारतीय मिडियाहरूले 'चियाको कपमा तुफान' सिर्जना गरेका छन्। कतिपय भारतीय बुद्धिजीवीहरूले पनि प्रस्तावित सैनिक अभ्यासलाई भारत विरोधी भनेर कुप्रचार गरेका छन्। चिनियाँ विज्ञ भनेर चिनिने जयदेव शनाडेले भ्वाइस अफ अमेरिका मा नेपाल भारतको रणनीतिक क्षेत्र भएकोले चिनियाँहरूलाई त्यसरी त्यहाँ ल्याउन नहुनेसम्मका विचार व्यक्त गरे। सरकार नजीक भनेर चिनिएको भारतीय अखबार टाइम्स अफ इण्डिया मा पनि नेपाल–चीन संयुक्त सैनिक अभ्यास हुन नहुने आग्रह झ्ल्किने समाचारहरू प्रकाशित भए। यस्ता विचार र समाचारहरूले नेपालका सामाजिक सञ्जालमा भने भारत विरोधी आवाज नै बढाए।

त्यसरी भारतीय मिडिया र बुद्धिजीवीहरूबाट उत्पन्न 'तुफान' ले नेपाल–चीन सैनिक अभ्यासलाई संकटमा पार्ने आशंका बढिरहेकै बेलाभारतीय सेनाका पूर्व प्रमुख समेत रहेका विदेश राज्यमन्त्री भीके सिंहले त्यसबाट भारत–नेपाल सैनिक सम्बन्धमा प्रतिकूल असर नपर्ने बताएर वातावरण सङ्ल्याए। उनले त्यसो भनेर नेपालमा बढिरहेको भारत विरोधी आक्रोशलाई पनि साम्य पारे। यसमा भारत सरकारको धारणालाई सकारात्मक बनाउन नेपाली राजदूत दीपकुमार उपाध्यायको पनि महत्वपूर्ण भूमिका छ।

comments powered by Disqus

रमझम