विवादले आशंका

Share:
  
- सञ्जीव शर्मा
नेपालको अन्तर्राष्ट्रिय उडान क्षेत्रमा आशा जगाएको हिमालय एअरलाइन्स आन्तरिक विवादमा तानिएको छ।

नियमित उडान शुरू हुनुअघि नै तत्कालीन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण टोलीलाई लिएर ७ चैत २०७२ मा बेइजिङ उडान भरेपछि हिमालय एअरलाइन्सको चर्चा ह्वात्तै बढ्यो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले नेपाली विमान कम्पनीहरूलाई सुरक्षा कमजोर भएको भन्दै कालोसूचीमा राखेको बेला आशा जगाउँदै आएको एअरलाइन्सले डाइरेक्टर अफ फ्लाइट अपरेशन ग्याब्रियल असेन्जोसहित ६ जना पाइलट र एक इन्जिनियरलाई हटाइएपछि भने यसको अपरेशनमा शंका जन्मिएको छ।

क्यानाडाली नागरिक असेन्जोले एअरलाइन्सले सुरक्षा निर्देशिका अनुसरण नगरेको आरोप लगाएका छन् भने निकालिएका पाइलटमध्ये केहीले श्रम अदालतमा मुद्दा दायर गरेका छन्। एअरलाइन्स सुरक्षा सम्बन्धी लामो अनुभव भएका असेन्जोलाई एअरलाइन्सले आईकाओको मापदण्ड पालनाकै लागि डाइरेक्टर अफ फ्लाइट अपरेशन नियुक्त गरेको थियो। मापदण्ड पालनामा कडाइ गर्दा नै आफूलाई हटाइएको उनी बताउँछन्।

यती एअरलाइन्सका तर्फबाट प्रतिनिधित्व गर्ने हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ असेन्जोको ठाउँमा अर्का अनुभवीलाई पदस्थापन गरिसकिएको र डाइरेक्टर अफ फ्लाइट अपरेशनसहित नयाँ कर्मचारीहरूको नाम नागरिक उड्डयन प्राधिकरणले स्वीकार गरिसकेको बताउँछन्। त्यस्तै, को–पाइलटलाई क्याप्टेन बनाउन चारहजार घण्टा उडान भरेको हुनुपर्ने नियम सच्याएर तल झारिएको भन्ने आरोपबारे उपाध्यक्ष श्रेष्ठ भन्छन्, “पाइलट बढुवामा हरेक एअरलाइन्सका आ–आफ्नै नियम हुन्छन्।”

हिमालय एअरलाइन्सले नागरिक उड्डयन प्राधिकरणले तोकेको मापदण्ड र अन्तर्राष्ट्रिय मापदण्ड समेत पुग्ने गरी नेपाली पाइलटलाई क्याप्टेन बनाउन नियम परिमार्जन गरेको श्रेष्ठले बताए। उनले चारहजार घण्टाको शर्तले नेपाली पाइलटहरूलाई मर्का परेकोले सुरक्षा चासोमा कुनै सम्झौता नहुने गरी परिमार्जन गरिएको बताए, तर घटाएर कति घण्टा बनाइएको छ भन्ने बताउन चाहेनन्।

७ चैत २०७२ मा चीन भ्रमणका क्रममा तत्कालीन प्रम केपी शर्मा ओलीले हिमालय एअरलाइन्सको प्रयोग गरेका थिए।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक राजन पोखरेल सुरक्षाको कुरालाई गम्भीरतापूर्वक लिइने बताउँछन्। हिमालय एअरलाइन्सले अहिलेसम्म प्राधिकरणको यो चासोलाई सम्बोधन नगरेको नपाएको उनले बताए। “कर्मचारी फेरबदल हाम्रो चासोको विषय भएन” पोखरेल भन्छन्, “तर, सबै मापदण्ड पूरा गरेर आईकाओलाई परीक्षणका लागि नेपाल आउन अनुरोध गरिएको बेला नेपाली एअरलाइन्सहरूले सुरक्षा मापदण्ड पूरा गरे/नगरेकोमा प्राधिकरणले बढी नै ध्यान दिइरहेको छ।”

नेपालको यती वर्ल्ड इन्भेष्टमेन्टको ५१ प्रतिशत लगानी रहेको हिमालय एअरलाइन्सका लागि ४९ प्रतिशत शेयर रहेको तिब्बत एअरलाइन्सबाट चिनियाँ नागरिक झ्ाओगुओ कियाङ नयाँ अध्यक्षका रूपमा आएपछि यो विवाद शुरू भएको हो। अहिले काठमाडौं–दोहा दैनिक र काठमाडौं–कोलम्बो सातामा दुई उडान भरिरहेको हिमालय एअरलाइन्सले गत सेप्टेम्बरबाट भारतको नयाँदिल्लीलगायतका नयाँ गन्तव्यमा उडान भर्ने गरी नयाँ विमान ल्याउने बताएको थियो।

एअरलाइन्सका उपाध्यक्ष श्रेष्ठ एउटा विमान जनवरी २० र अर्को मार्चमा आइपुग्ने बताउँछन्। ती दुईवटा एअरबस–३२० विमान आएपछि क्वालालम्पुर र यांगुन उडानमा पनि सेवा विस्तार गर्ने उनले बताए। उनी भन्छन्, “नयाँदिल्ली उडानको पनि पहल भइरहेको छ, तर त्यहाँको नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृति आइसकेको छैन।”

चिनियाँ एअरलाइन्सको ४९ प्रतिशत लगानी रहेको विमान कम्पनीलाई भारतले उडान अनुमति दिनेमा शंका गरिएको छ। एक जना अनुभवी क्याप्टेन नेपालमा चिनियाँ लगानी भन्ने वित्तिकै तर्सने भारतले हिमालय एअरलाइन्सलाई शंकाको दृष्टिले हेेरेको हुनसक्ने बताउँछन्। हिमालयमै काम गर्ने एकजना भारतीय नागरिक भन्छन्, “यो एअरलाइन्स सञ्चालनको तौरतरीका हेर्दा स्वयम् चिनियाँहरूले सफल व्यवसाय बनाउलान् जस्तो लाग्दैन।”


प्रतिबन्ध फुकुवाको पहल

आईकाओले नेपालको नागरिक उड्डयन क्षेत्र सुरक्षित नदेखिएको भन्दै २०१३ जुलाईमा 'सेफ्टी अडिट इन्फर्मेशन' जारी गरेको थियो। आईकाओको संपरीक्षण प्रतिवेदन र २०१० देखि २०१२ का बीचमा नेपालमा भएका विमान दुर्घटनाहरूका आधारमा यूरोपियन कमिशनले पनि २०१३ डिसेम्बरदेखि नेपालका विमान कम्पनीहरूमाथि लगाएको प्रतिबन्ध फुकुवा भएको छैन। कमिसनले यूरोपियन युनियनका सदस्य राष्ट्रका नागरिकहरूलाई नेपाली विमान प्रयोग नगर्न भनेपछि नेपालको पर्यटन उद्योगमा प्रभाव परिरहेको छ।

नागरिक उड्डयन प्राधिकरणले अब आईकाओका सबै मापदण्ड पूरा भएको भन्दै पुनः परीक्षणका लागि पत्र पठाइसकेको छ। उप–महानिर्देशक राजन पोखरेल आईकाओ आएर नयाँ प्रतिवेदन जारी गरेपछि संभवतः आगामी डिसेम्बरमा बस्ने यूरोपियन कमिशनको बैठकले प्रतिबन्ध फुकुवा गर्नेमा प्राधिकरण विश्वस्त रहेको बताउँछन्। यस अवधिमा आईकाओको मापदण्ड अनुसार कानून संशोधनदेखि प्राविधिक नियम, निर्देशिका र विमान कम्पनीहरूको सुरक्षामा स्तरीकरणसम्म गरिएको पोखरेलले बताए।

राष्ट्रिय ध्वजावाहक नेपाल एअरलाइन्स तथा निजी क्षेत्रका बुद्ध एअर, श्री एअर र हिमालयन एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमतिपत्र लिएका छन्। यीमध्ये श्री एअर हेलिकप्टर कम्पनी हो।

comments powered by Disqus

रमझम