विकल्प हेरौं

Share:
  
- सूर्यबहादुर श्रेष्ठ
निर्माणाधीन कान्ति लोकपथलाई कम लगानीबाट ठूलो परिणाम हासिल गर्ने अवसर बनाउन सकिन्छ।

हिमाल आर्काइभ
निर्माणाधीन कान्ति लोकपथ।
सन् २००८ देखि अहिलेसम्म चीन र भारतका थुप्रै निर्माण कम्पनीले निजगढ–काठमाडौं फास्ट ट्रयाक परियोजनामा रुचि देखाए अनि पछि हटे। तीमध्ये भारतीय कम्पनी आईएल एण्ड सीएफएसले आफ्नो लगानी नहुने र फाइदा मात्र हुने गरी अनेक शर्तसहित गरेको सम्झौताको व्यापक विरोध भयो। विवाद सर्वोच्च अदालतसम्म पुगेपछि २२ असोज २०७२ मा आयोजनाको काम यथास्थितिमा राख्न अन्तरिम आदेश जारी भयो। यसैबीच, केपी ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेटमार्फत यो फास्ट ट्रयाक नेपाल आफैंले बनाउने घोषणा गरेपछि अदालतले २० असारमा रिटको औचित्य सकिएको भन्दै खारेज गरिदियो।

जे होस्, अहिले राष्ट्रिय गौरवको आयोजनाको रूपमा नेपाल आफैंले बनाउने उपक्रम थालेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा आयोजनाबारे सुझाव दिन सरकारद्वारा गठित समितिका संयोजक डा. मीनबहादुर श्रेष्ठले आयोजना सहज रूपमा अघि बढ्ने गरी सुझाव दिने बताएका छन्। डा. श्रेष्ठले प्रतिवेदन लेख्दा हरेक पक्षमाथि गहन विचार गर्ने अपेक्षा गरिएको छ।

पहिले र अहिलेको सन्दर्भ

पथलैयाबाट हेटौंडा, मुङलिङहुँदै काठमाडौं पुग्ने प्रचलित राजमार्ग २५४ किलोमिटर लामो र यो दूरी पार गर्न १२ घण्टासम्म लाग्ने गरेको छ। यो अवस्थामा आएको जम्मा १०० किमी लामो हुने निजगढ–काठमाडौं फास्ट ट्रयाक (पथलैया निजगढ खोकना द्रुतमार्ग) को प्रस्तावलाई सर्वाधिक उपयोगी देखाइयो। हुन पनि, यो दु्रतमार्ग छिचोल्न डेढघण्टा लाग्छ।

यद्यपि, अहिले सन्दर्भ बदलिसकेको छ। यसै वर्षबाट दोहोरो सवारी चल्न थालेको १२० किमी लामो कान्ति लोकपथ (पथलैया–हेटौंडा–टीकाभैरव–सातदोबाटो) अधिकतम चारघण्टामा वारपार हुन्छ। यसमा सवारी शुल्क पनि लाग्ने छैन। मुङलिङ–कलंकीको ट्राफिक जामलाई तत्काल हटाउने कान्ति लोकपथ सुचारु हुनासाथ ढुवानी तथा यात्रु भाडा कमसेकम आधा घट्नेछ। यसकारण, अब कान्ति लोकपथले दिनसक्ने लाभ र अहिलेको रेखांकनमा फास्ट ट्रयाक बनाउँदाको तुलनात्मक अध्ययन अत्यावश्यक भएको छ। अन्यथा, राष्ट्रिय धनको व्यर्थ व्यय हुनेछ।

बाराको पथलैया भारत र तेस्रो मुलुकबाट हुने आयात–निर्यातको मुख्य नाका हो। निजगढमा दोस्रो अन्तर्राष्ट्रिय हवाई अड्डा बनेपछिको लाभ पनि यसले उठाउने सम्भावना हुन्छ नै, तर फास्ट ट्रयाकको लागि गरिएको अहिलेकै रेखांकन ठीक छ भन्न सकिन्न। अहिलेको रेखांकन कैयौं गुणा लागत बढाउने भौगोलिक विकटताबाट गुज्रेको छ। जबकि, शिवम् सिमेन्ट कारखानाका लागि बनाइएको सडकको पनि अधिकतम उपयोग हुने कान्ति लोकपथ तुलनात्मक रूपमा निर्माण लागत एकदमै कम हुने भौगोलिक अवस्थामा छ।

अर्को कुरा, सम्पूर्ण रूपमा नबनुन्जेल फास्ट ट्रयाक उपयोग हुँदैन। कान्ति लोकपथ भने आवागमन चालू राखेरै एकै पटक वा अलग चरणमा बनाउन सकिन्छ। कुल ९० किमिको यो वैकल्पिक दु्रतमार्ग मानमथ–चुनडाँडा (२५ किमी), चुनडाँडा―सुकौरा―गंगटेे (२० किमी), गंगटे―बगुवा (१० किमी), बगुवा―माल्टामोड (१० किमी) र माल्टामोड―तिनपाने भञ्ज्याङ्ग―टीकाभैरव (२० किमी) गरी पाँच खण्डमा निर्माण गर्न सकिन्छ।

मानमथ–चुनडाँडा खण्ड

हाल पथलैया पूर्व र हेटौंडा पश्चिम मात्र पूर्व–पश्चिम राजमार्ग छ। पथलैया–हेटौंडा खण्डमा त्रिभुवन राजपथ रहेकोले पूर्व–पश्चिम राजमार्ग अटुट बन्न सकेको छैन। मानमथ–चुनडाँडा खण्डले पूर्व–पश्चिम राजमार्गको पनि काम गर्नेछ र यसलाई पछि आठ लेनमा विस्तार गर्न सकिन्छ। पूर्व–पश्चिम रेल्वेको केन्द्र हेटौंडा हुने भएकोले पनि यो पूर्व–पश्चिम राजमार्ग खण्ड बनाउन अत्यावश्यक हुनेछ।

यो मार्ग बन्दा मानमथ पूर्वबाट काठमाडौं जाने गाडीहरू २५ किमी गुडेपछि चुनडाँडा पुग्नेछन्। यसरी पथलैयाबाट मानमथ हुँदै चुनडाँडा पुग्न १० किमी घट्नेछ र हेटौंडा वाईपासको समस्या समेत हल हुनेछ। यसबाट निजगढ हवाई अड्डाबाट बकैया–वागमती रेखांकनमा बन्ने फास्ट ट्रयाककै दूरीमा मानमथ―हेटौंडा भएर काठमाडौं पुग्न सकिन्छ।

यति सुधार हुँदा पथलैया―अमलेखगञ्ज―हेटौंडा―काठमाडौंको दूरी १२० किमी हुनेछ भने पथलैया―मानमथ―हेटौंडा―काठमाडौंको ११० किमी। त्यस्तै, मानमथ―हेटौंडा―काठमाडौं १०० किमी हुन आउनेछ। निजगढ विमानस्थल बन्न १५ वर्ष लाग्ने भएकोले त्यस बेलासम्म कान्ति लोकपथ सुधार गरेर निजगढ–काठमाडौंको दूरी घटाउन सकिनेछ।

चुनडाँडा―सुकौरा―गंगटे खण्ड

कान्ति लोकपथमा चुनडाँडा―सुकौरा―गंगटे खण्ड सबभन्दा बढी मोड र घुम्ती भएको खण्ड हो। लाम्बाङको पहिरो पनि यही खण्डमा पर्छ। शिखरकटेरीबाट सुकौराहुँदै शिवम् सिमेन्टको खानी जाने सडक प्रयोग गरेर खोर भञ्ज्याङ्ग र कालो पहरोमा पाँच–पाँचसय मीटरको सुरुङ्ग तथा ढेड्रे खोलामा २०० मीटर लम्बाइको पुल बनाए चुनडाँडा–गंगटे हालको ४० किमीमा ४ प्रतिशतभन्दा कम ग्रेडमा राख्दा पनि २५ किमी घट्नेछ।

त्यो अवस्थामा पथलैया―अमलेखगञ्ज―हेटौंडा―काठमाडौं १०५ किमी, पथलैया―मानमथ―हेटौंडा―काठमाडौं ९५ किमी र मानमथ―हेटौंडा―काठमाडौं ८५ किमी हुन आउनेछ।

गंगटे―बगुवा खण्ड

हालको गंगटे–बगुवा घुमाउरो र वागमती पश्चिमको ठाडो उकालो सडकको साटो गंगटे पूर्वको वागमती र खानीखोलामा एक–एक वटा अग्लो पुल बनाउँदा ४ प्रतिशतभन्दा तलको ग्रेडिङमा कम्तीमा पाँच किमी दूरी घट्छ। यसबाट प्यूटार दक्षिण र पूर्वका बासिन्दा पनि लाभान्वित हुनेछन्।

गंगटे पूर्वको वागमती र खानीखोलामा पुल बनाएर अगाडि बढे पथलैया―अमलेखगञ्ज―हेटौंडा―काठमाडौं १०० किमीमा छोट्टिन्छ भने पथलैया―मानमथ―हेटौंडा―काठमाडौं ९० किमी हुन्छ। त्यस्तै, मानमथ―हेटौंडा―काठमाडौं ८० किमी मात्र हुन आउँछ। त्यस्तै, बगुवा―माल्टामोड खण्डमा हालकै रेखांकन सुधार गरेर चार लेन बनाउन सकिन्छ। त्यसो गर्दा दूरीमा अन्तर नआए पनि ग्रेड र मोडमा सुधार आउँछ।

माल्टामोड―टीकाभैरव खण्ड

ग्रेडको हिसाबले यस सडक खण्डको रेखांकन सन्तोषजनक नै मान्नुपर्छ। केही कमजोर भएको झाँक्रीडाँडा पश्चिम भालुखोलानेरको डाँडामा भने ग्रेड र मोड पनि बढी छ। तिनपाने भञ्ज्याङ्ग मुनि ५०० मीटरको सुरुङ्ग बनाइए टीकाभैरवको उत्तरतिरबाट ३ प्रतिशत ग्रेडमा नयाँ सडक निकाल्न सकिन्छ। त्यसो गर्दा सडकको लम्बाइ पनि पाँच किमी घट्छ।

त्यो अवस्थामा पथलैया―अमलेखगञ्ज―हेटौंडा―काठमाडौं ९५ किमी, पथलैया―मानमथ―हेटौंडा―काठमाडौं ८५ किमी र मानमथ―हेटौंडा―काठमाडौं ७५ किमीमा छोट्टिन आउँछ। यो विश्लेषणबाट कान्ति लोकपथलाई नै सुधार गरेर वैकल्पिक द्रूतमार्ग बनाउन सकिने स्पष्ट देखिन्छ। कार्य सुविधाको दृष्टिले मानमथ―चुनडाँडा २५ किमी, गंगटे–बगुवा १० किमी, माल्टामोड–तिनपाने भञ्ज्याङ्ग–टीकाभैरव २० किमी फास्ट ट्रयाक र शेष काम कान्ति लोकपथ सडक परियोजना अन्तर्गत सम्पन्न गराउन बेस होला।

लक्ष्य निःशुल्क

कान्ति लोकपथलाई नै सुधार गरेर द्रुतमार्ग बनाउन नेपाली निर्माण व्यवसायी र कन्सल्टेन्टले गर्न सक्ने काम उनीहरूबाटै गराउनुपर्छ। सुरुङ्ग र अग्लो पुल बनाउन बाहिरी परामर्शदाता वा निर्माण कम्पनी लगाउनु परे त्यसमा पनि नेपालीलाई सम्मिलित गराउने प्रावधान राखेमा नेपालीले पनि निपुणता हासिल गर्नेछन्।

निर्माण लागत उठाउन केही वर्ष हेभी ट्रकको पनि एकतर्फी रु.१ हजारभन्दा बढी नहुने गरी शुल्क उठाउनुपर्छ। लागत उठेपछि सामान्य सम्भार खर्च लिई यस दु्रतमार्गलाई निःशुल्क बनाउने लक्ष्य राखिनुपर्छ। यस्तो भए नारायणी पश्चिमका सवारी साधनले पनि कान्ति लोकपथ सुधारेर बनाइएको वैकल्पिक द्रुतमार्गप्रति आकर्षित हुनेछन्।

(श्रेष्ठ स्वतन्त्र अध्येता हुन्।)

comments powered by Disqus

रमझम