उखुसँगै पशुपालन

Share:
  
पहाडका खेतीयोग्य तर सिंचाइ नपुगेका फाँटहरूमा उखु खेतीसँगै पशुपालन फस्टाउन सक्छ भन्ने उदाहरण ढोडबेसीका किसानले दिएका छन्।

तस्वीरहरुः युवराज श्रेष्ठ
उखु खुर्कंदै स्थानीय जगन्नाथ धमला ।
भारतको इण्डियन एक्सप्रेस दैनिकको नयाँदिल्लीस्थित छापाखानामा २५ वर्ष काम गरेर लेखनाथ नगरपालिका–१५ स्थित ढोडबेसी फर्किएका मोहन धमला (५२) यतिबेला उखु भित्र्याउन व्यस्त छन्। उनी मात्र होइन, ढोडबेसीका सबै ५२ परिवार नै झ्ण्डै ५०० रोपनीमा लगाएको उखु थन्क्याउन खटिएका छन्।

कास्कीमा व्यावसायिक रूपमा उखु खेती गरिने एक मात्र ठाउँ भनेकै ढोडबेसी नै हो। उखुबाट बन्ने खुँदो पनि यहींबाट जिल्लामा पुग्छ। चैत, वैशाखदेखि उखु खेतीको तयारी थाल्ने ढोडबेसीका किसान माघसम्म बाली भित्र्याइसक्छन्। उखुलाई अन्य बालीमा जस्तो पर्याप्त सिंचाइको आवश्यकता पर्दैन। खेतीयोग्य फाँट भए पनि ढोडबेसीमा सिंचाइ सुविधा छैन। “धान हुँदैन, उखुबाटै भए पनि सन्तुष्ट हुनुपरेको छ”, किसान जगन्नाथ धमला भन्छन्।

तराईमा उखुबाट चिनी वा सक्खर बनाइन्छ। पहाडमा भने उखुबाट खुँदो नै बनाइन्छ। उखुका लाक्रा पनि बिक्छन्। पहाडमा चाम्रे बनाउँदा पनि खुँदो हाल्ने चलन छ। कोदाको ढिंडोलाई खुँदोमा डुबाएर खाने पनि गरिन्छ।

गाउँसम्म पक्की सडक पुगेका कारण खुँदो बिक्रीमा कुनै समस्या छैन। अवस्था यस्तो छ कि, तराईमा उखुले भाउ नपाएको सुन्दा यहाँका किसान अचम्म मान्छन्। “यहाँ त उखु भित्र्याउन नपाउँदै एड्भान्स पाइन्छ”, मोहन भन्छन्, “उखु र खुँदो बिक्री गर्न कुनै समस्या नै छैन।”

गत वर्ष मात्र ढोडबेसीका किसानले प्रति लीटर रु.२०० का दरले २५ हजार लीटर खुँदो बिक्री गरेर करीब रु.५० लाख भित्र्याए।

उखु तथा पशुपालक किसान माधव धमला।
गत वर्षसम्म कोलमा गोरी घुमाइ पेलेर निकालिने खुँदो यस वर्षदेखि भने मेसिनमार्फत निकाल्न थालिएको छ। लेखनाथ नगरपालिकाले उखु व्यवसायी समितिलाई प्रतिमेसिन रु.७५ हजार अनुदान सहयोग गरेकोमा किसानले रु.४५ हजार थपेर दुई वटा उखु पेल्ने मेसिन खरीद गरेका छन्। जसबाट उखु पेल्न सजिलो, छिटो र कम खर्चिलो भएको किसानको अनुभव छ।

उखु खेतीमा जिल्ला कृषि विकास कार्यालय, कास्कीले पनि सहयोग गरिरहेको छ। कार्यालयका कृषि प्रसार अधिकृत प्रकाश बस्ताकोटी उन्नत उखु खेतीका लागि यस वर्ष किसानलाई तालीम दिने योजना बनाइएको बताउँछन्।

ढोडबेसीका उखु व्यवसायी समितिका संस्थापक अध्यक्ष माधव धमला (५१) को बारीमा उखुका साथै प्रशस्त घाँस पनि छ। गोठमा उन्नत जातका १३ वटा भैंसी र दुइटा गाई छन्। दैनिक ८० लीटरसम्म दूध बेच्छन्।

१३ वर्ष कतार बसेर ९ वर्षअघि फर्केका माधव विदेशमा भन्दा गाउँमै धेरै आम्दानी गरिरहेको बताउँछन्। “काम गर्दा कमाइ यहीं धेरै हुने रहेछ”, उनी भन्छन्।

उखुको पात र बारीबाट निस्केका घाँस व्यवस्थापनमा पशुपालन राम्रो विकल्प बनेको छ। ढोडबेसी गाईपालक कृषि सहकारीमार्फत स्थानीयले ४० वटा गाई पालेका छन्।

“उखुको पात र बारीमा उमि्रएका घाँस तह लगाउन पनि गाईभैंसी पाल्नुपर्ने रहेछ”, लीलादेवी धमला भन्छिन्। जिल्ला पशु सेवा कार्यालयका प्राविधिक सुरेश श्रेष्ठ उखुको पात पशुका लागि पौष्टिक हुने बताउँछन्। उनी भन्छन्, “उखुबारी भित्रै पनि घाँस खेती गर्न सकिने भएकाले पनि उखु र पशुपालन एकअर्काका सहायक हुन्।”

युवराज श्रेष्ठ, पोखरा

comments powered by Disqus

रमझम