भाडामा बस्दा

Share:
  

बिक्रम राई
शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका सुविधा केन्द्रित भएकाले शहरमा बसाइँ सर्नेहरूको संख्या दिनहुँ बढिरहेको छ। बसाइँ सर्नेको ताँतीसँगै शहरका घरमा भाडावाल बढ्नु पनि स्वाभाविक नै हो।

नेपालमा घरभाडामा दिने/लिने चलन काठमाडौंबाटै शुरु भएको मानिन्छ। २०३६ सालपछि यो चलनले व्यापकता पाएको देखिन्छ। शहरी विकास मन्त्रालयले तयार पारेको राष्ट्रिय आवास नीतिका अनुसार शहरी क्षेत्रमा ४० प्रतिशत मानिस घरभाडामा बस्छन्। अहिले काठमाडौंमा मात्र करीब ५८ प्रतिशत मानिस भाडामा बस्ने गरेका छन्।

व्यक्तिको जीवनयापन, शैली र रुचिमा घरले विशेष प्रभाव पार्दछ। खाने, बस्ने, आराम गर्ने मात्र नभएर पाहुनालाई सत्कार गर्ने उपयुक्त थलो पनि घर नै हो। आफ्नो रोजाइ अनुसारका कोठा, फ्ल्याट तथा घर पाउनु सजिलो नभएको इन्टरनेटमार्फत घर–जग्गाको भाडा सम्बन्धी कारोबार गरिरहेको रेन्टल नेपालका कार्यकारी निर्देशक ईश्वर खरेल बताउँछन्।

राम्रो सम्बन्ध

घरभाडामा दिनु–लिनुअघि विचार नपुर्‍याउँदा र एक–अर्काबारे आधारभूत जानकारी समेत नराख्दा घरधनी र बहालवालाबीच तनाव उत्पन्न हुने गरेको उपभोक्ता हित संरक्षण मञ्चका सचिव विष्णु तिमिल्सिना बताउँछन्। यस्तो समस्या नआओस् भनेर घरधनी तथा बहालवाला दुवैको सहमतिमा सम्झौता पनि गर्न थालिएको छ।

तिमिल्सिना बहालमा दिने घर कस्तो हुनुपर्छ भन्ने मापदण्ड अनुसारको कानून आवश्यक रहेको बताउँछन्। “भाडामा बस्नेले सरसफाइ, रेखदेख र समयमा भाडा बुझाउने तथा घरधनीले पनि आवश्यक सेवा, सुविधा तथा सुरक्षा उपलब्ध गराए दुईबीचको सम्बन्ध मजबूत हुन्छ”, उनी भन्छन्। अधिकांशका लागि घरभाडा नै ठूलो लगानी हुने भएकाले आवश्यकता र बजेटको व्यवस्था अनुसार घरभाडामा लिनुपर्छ।

सबै कोठामा घाम छिर्ने र क्रस भेन्टिलेसन हुने गरी बनाइएका घरमा जाडोमा न्यानो र गर्मीमा शीतल हुन्छ। खानेपानी, ढल, बिजुली, टेलिफोनको सुविधासँगै पानी ट्यांकीको क्षमता, फोहोर व्यवस्थापनबारे जानकारी लिनुपर्छ। बगैंचा, करेसाबारी, पार्किङ, घरपालुवा जनावर पाल्ने ठाउँ चाहिने भए बेलैमा सोच्नुपर्छ। धेरै कुरा आफूले हेरेरै थाहा पाइने भए पनि भवनको प्राविधिक पक्षबारे भने विज्ञसँग नै सल्लाह लिनु उत्तम हुन्छ।

भूकम्पअघि र पछि घरलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ। पहिले शहरभित्रै कोचिएर बस्दा पनि गुनासो नगर्नेहरू अहिले भीडभाड कम हुने, सुरक्षित तथा भूकम्प प्रतिरोधी घर खोज्ने गरेको रेन्टल नेपालका कार्यकारी निर्देशक खरेल बताउँछन्। उपत्यकामा पनि चक्रपथबाहिर शान्त क्षेत्र रुचाउने धेरै छन्। भाडाका घर मात्र होइन भाडावाल खोज्न एजेन्टको सहयोग लिने पनि धेरै छन्।

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम