वर्तमानको बिम्ब

Share:
  

तस्वीर सौजन्य : नविनबाबु गुरुङ
हिन्दीमा लेखिएका उम्दा नाटकको सूचीमा सन् १९५४ मा लेखिएको अन्धा युग शीर्ष स्थानमा पर्दछ। द्वितीय विश्वयुद्धलगत्तै भारत–पाक विभाजनको त्रासदी भोगेका लेखक धरमवीर भारतीले आफ्नो युगचेतनालाई नाटकको रुप दिए। भारतमा अझै पनि यो नाटक वर्षेनि मञ्चन भइरहन्छ र प्रत्येक कलाकारलाई एक पटक अन्धा युग खेल्ने रहर हुन्छ।

यतिबेला धरमवीरकै अन्धो युग काठमाडौको मण्डला थिएटरमा मञ्चन भइरहेको छ। राजेन्द्र शलभले अनुवाद गरेको यो नाटकलाई भारतबाट ड्रामाटिक आर्टस्मा स्नातक दिपल बराल (नरेन्द्र) ले निर्देशन गरेका छन्।

दक्षिण एशिया उपमहाद्वीपमा जनमनमा भिजेको मिथक हो, महाभारत। महाभारतको लडाइँ १८ दिनसम्म चलेको थियो। र अन्धो युग नाटक महाभारतको १८औं दिनको कथामा आधारित छ। युद्धमा पाण्डव पक्ष विजयी भए तापनि उनीहरुमा विजयको कुनै चमक र कान्ति देखिंदैन। कौरव पक्षमा त द्रोह, पराजय, बदला, हतोत्साह, निराशा व्याप्त हुनु स्वाभाविक थियो। सय भाइ कौरवमध्ये एक भाइ युयुत्सुले 'सत्यको पक्षमा' भन्दै पाण्डव पक्षलाई सघाएका थिए तर अफसोच तिनै युयुत्सुलाई आत्महत्या गर्न विवश पारिन्छ। युयुत्सुको आत्महत्याले सत्यप्रति सन्देश खडा गर्छ र सत्यलाई निरपेक्ष भएर हेर्न नमिल्ने गम्भीर प्रश्नचिह्न खडा गरिदिन्छ। स्वार्थ, विवेकहीनता र कर्तव्यहीनताले सिंगो युग अन्धो बन्छ।

नेपालमा दशवर्षे माओवादी सशस्त्र विद्रोह, जनआन्दोलन, शान्ति सम्झौता, मधेशको बेचैनी, संविधान जारी भए पनि नसकिएको संक्रमणकाल, नेताहरुको कर्तव्यविमूढताले हामी महाभारतको त्यही १८औं दिनमा आइपुगेको प्रतीत हुन्छ। शासकहरु धृतराष्ट्र जस्तै अन्धा त होइनन् तर परिवारवाद, पार्टी, गुटको मोहमा फसेका छन्। संविधान कार्यान्वयन प्रक्रिया अलमलमा परेको छ। नाटकको मूल पात्र अश्वत्थामा (आयान खड्का) द्वारा अभिव्यक्त अधीरता नेपालीको दिल र दिमागको बिम्ब हो। परिवर्तनको सँघार तरेर पनि किन हाम्रो भविष्य विषादग्रस्त हुन पुगेको छ? वर्तमानको यही सेरोफेरोलाई अन्धो युग ले इंगित गरेको छ। त्यसैले यो नाटक हामीले बाँचेको समयको प्रतीक बन्न पुगेको छ।

राजनीतिमा नैतिकता पतन भएर 'राज' गर्ने प्रवृत्ति मात्र बाँकी रहेको आक्षेप लागिरहेको सन्दर्भमा 'सेमी रियालिटी' जस्तो लाग्ने यो नाटक मञ्चन सार्थक अभ्यास बन्न पुगेको छ। गान्धारीका रुपमा अभिनय गरेकी सुप्रिना श्रेष्ठको संवाद संप्रेषणको शैली गजबको लाग्छ। धृतराष्ट्रको निरीहतालाई किरण शर्माले कुशलतापूर्वक उतारेका छन्। बाँकी कलाकारले पनि आफ्नो भूमिकालाई न्याय गरेका छन्।

अन्धो युग को मञ्चन आफैंमा एक ठूलो सन्देश हो। यस मानेमा निर्देशक बरालको सत्कर्मलाई केही सीमितताका बाबजूद साधुवाद दिनै पर्छ। महाभारतको कथामा रुचि राख्ने जोकोहीलाई यो नाटकले सम्मोहित तुल्याउनेछ र विशेषगरी नयाँ पुस्तालाई यसबारे जान्न र बुझ्न अभिप्रेरित गर्नेछ। अन्धो युग मण्डला थिएटरमा २ माघसम्म चल्नेछ।

शंकर तिवारी

comments powered by Disqus

रमझम