हिंस्रक राष्ट्रवादविरुद्ध

Share:
  

दुई दशकअघि भारत भ्रमणमा रहेकी चर्चित नृत्यांगना एवं कोरियोग्राफर पिना बाउस नयाँदिल्लीको एक कार्यक्रममा गोथे इन्ष्टिच्यूटका प्रमुख डा. जर्ज लेकनेरसँग कुरा गरिरहेकी हुन्छिन्। जर्ज उनको काममा जर्मन शैली झ्ाल्कने बताउँदै पिनालाई आफ्ना पुर्खाबारे बताउन आग्रह गर्छन्। पिना सिगरेट सल्काएर गोलाकार धुवाँ छाड्दै भन्छिन्, “त्यस्तो त हुँदै होइन।

जर्ज फेरि उही प्रश्न सोध्छन्, उनी फेरि टार्छिन्। जर्ज तेस्रो चोटि भन्छन्, “पिना, आखिरमा तिमी जर्मन कलाकार नै हौ, स्वीकार गर।” अनि पिना जर्जको आँखामा आँखा गाडेर भन्छिन्, “म चरा भइदिएको भए, के तिमी मलाई जर्मन चरा भन्थ्यौ, जर्ज?”

सदानन्द मेनन यो संवादका प्रत्यक्षदर्शी थिए। जब राष्ट्रियताको बहस हुन्छ, मेननलाई पिनाको यही जवाफ याद आउँछ। भारतमा आमवृत्त खुम्चँदै जाँदा अभिव्यक्ति स्वतन्त्रता खोसिंदै गएकोमा खेद व्यक्त गर्ने संस्कृतिकर्मी मेननले अन् नेशनालिज्म् पुस्तकमा समाविष्ट फ्रम नेशनल कल्चर टु कल्चरल नेशनालिज्म् शीर्षकको आफ्नो आलेखको शुरुआत पनि यही प्रसंगबाट गरेका छन्।

पुस्तक अन् नेशनालिज्म्

लेखक रोमिला थापर, एजी नूरानी, सदानन्द मेनन

प्रकाशक एलेफ स्पटलाइट, भारत

पृष्ठ १६२+२२,

मूल्य भारु. ३९९

लोकतन्त्रका नाममा शासकले गर्ने आमवृत्त खुम्च्याउने कृत्यलाई नोम चोम्स्कीले 'डेमोक्र्याटिक डेफिसिट' भनेका छन्। रोमिला थापर, एजी नूरानी र मेननका लामा–लामा लेखहरूको सँगालो अन् नेशनालिज्म् 'हिन्दू राष्ट्रवाद' का आयाम र धर्मनिरपेक्ष भारतको महत्तामाथि केन्द्रित छ।

हिन्दुत्व राष्ट्रवाद

'भारत माता की जय!' गीता फोगटले जसै स्वर्ण पदक जित्छिन्, दर्शकदीर्घामा एक बालिका अचानक नारा लगाउँछिन्। र, लगत्तै भारतको राष्ट्रिय धुन बज्छ।
दृश्य बलिउड चलचित्र दंगल को हो। आमिर खान अभिनित र नितेश तिवारी निर्देशित दंगल महिला सशक्तीकरण र उत्कृष्ट मेकिङका कारण प्रशंसा र पैसा बटुलिरहेको छ। तर, 'भारत माता की जय' जस्ता नाराले चलचित्र पितृसत्ताको जकडबाट निस्किएर 'पपुलिज्म्' को घेरोमा परेको देखाउँछ। चलचित्रमा नराखे फरक नपर्ने यो दृश्यले समकालीन भारतीय राजनीतिबाट ग्रसित आम मनोदशा प्रकट गर्न मद्दत गर्छ।

२६ मे २०१४ यता नरेन्द्र मोदी शासित भारत 'हिन्दू मात्रको मुलुक' बन्ने दौडमा छ। 'भारत माता की जय!' भन्दै उत्तेजित नहुनेहरूमाथि 'अराष्ट्रिय' ठप्पा लाग्न थालेको छ। राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) जोइन्ट जेनरल सेक्रेटरी दत्तात्रेय होसाबलेले गत वर्ष भाषण नै गरे, “भारतीय माता की जय नभन्नेहरू हाम्रा लागि अराष्ट्रिय तत्व हुन्।”

'यस्तो देखिंदैछ कि यो नारा नलगाउनेहरू तत्कालै अराष्ट्रिय तत्व ठहरिने, तर बदनियतपूर्वक कर नतिर्ने, कालोबजारियाहरू चाहिं अराष्ट्रवादी नहुने...' इतिहासकार रोमिला थापर भन्छिन्। 'रिफ्लेक्सन अन् नेशनालिज्म् एण्ड हिस्ट्री' शीर्षकको आफ्नो आलेखमा उनी कमजोर आत्मविश्वास भएका दिग्भ्रमित राष्ट्रवादीहरूले 'भारत माता की जय' जस्ता नारालाई राष्ट्रवादको हतियार बनाएको बताउँछिन्।

थापरले लेखको शुरुमै स्वतन्त्रता संग्रामको उत्कर्षताका जन्मेका आफ्नो पुस्ताको राष्ट्रवादको अनुभूति व्यक्त गरेकी छिन्। उनी लेख्छिन्– 'त्यो बेला हामीले सास फेर्ने हावामै राष्ट्रवाद थियो, राष्ट्रवाद समस्याग्रस्त पनि थिएन। राष्ट्र र समाजसँग जोडिएको पहिचान थियो, राष्ट्रवाद। हामी राष्ट्रवाद भनेकै भारतीय राष्ट्रवाद बुझ्दथ्यौं; हिन्दू, मुस्लिम वा कुनै धार्मिक वा अरुखाले राष्ट्रवाद होइन।'

सन् १९२३ मा भीडी सावरकरले प्रचारमा ल्याएको शब्द 'हिन्दुत्व' लाई १९८९ मा भारतीय जनता पार्टी (बीजेपी) ले नारा बनाएपछि हिन्दू धर्म र राजनीतिबीचको लक्ष्मणरेखा धुमिल बनेको थापरको अनुभव छ। हिन्दू धर्ममा नास्तिकलाई पनि स्थान हुने भन्दै उनले बीजेपीले चाहेजस्तो हिन्दू मात्रको भारतको कल्पना मात्र पनि घातक हुने बताएकी छन्। एरिक जे हब्सबनको नेशन्स् एण्ड नेशनालिज्म् सिन्स् १७८० लाई उद्धृत् गर्दै थापरले राष्ट्रवादको व्याख्या र पुनर्व्याख्याले इतिहास पुनर्निर्माणमा कसरी असर गर्छ भन्ने गहनतातर्फ ध्यान दिन आग्रह गरेकी छन्।

पुस्तकमा संग्रहित नेशनालिज्म् एण्ड इट्स कन्टेम्पोररी डिस्कन्टेन्स् इन इण्डिया लेखमा एजी नूरानीको ठहर छ– 'हिन्दू अतिवादीहरू 'भारत माता की जय!' लाई राष्ट्रवादको नारा बनाउन खोजिरहेका छन्, तर बिर्सन नहुने कुरा के हो भने यो भारतीय राष्ट्रवाद नभई हिन्दू राष्ट्रवादको नारा हो।' वकील तथा इतिहासकार नूरानीका अनुसार, भारतमा हिन्दू दक्षिणपन्थप्रतिको आसक्ति नयाँ होइन। भाजपाका प्रमुख भाष्यकार सावरकरदेखि अहिलेका अध्यक्ष अमित शाहसम्मको एउटै बोलीले यो कुराको पुष्टि गरेको भन्दै नूरानीले 'भारत माता की जय' जस्ता नारा जन्मनुको कारणहरू पनि दिएका छन्।

“अहिलेको उदीयमान भारतका लागि सावरकर नयाँ पिता हुन्, गान्धी चाहिं सौतेला”, भारतका प्रसिद्ध राजनीतिक विश्लेषक आशिष नन्दीले त्यसै भनेका होइन रहेछन्। फरक मत, दलित र मुस्लिम समुदायप्रतिको हिन्दू राष्ट्रवादका पछिल्ला हिंसा हेर्दा यस्तै लाग्छ।

दशकअघि मात्र 'हिन्दू राजा, हिन्दू राष्ट्र' को परिचय त्यागेको नेपालमा पनि राष्ट्रवादबारेको चर्चा चुलीमै छ र चर्को रुपमा उठेको 'पहाडे राष्ट्रवाद' उस्तै आलोचनाको तारो पनि बनेको छ। यस्तो बेला अन् नेशनालिज्म् जस्तो राष्ट्रवादको ऐतिहासिक, सैद्धान्तिक र व्यावहारिक संकथनको अध्ययन सबैका निम्ति उपयोगी हुन सक्छ।

रविन गिरी

comments powered by Disqus

रमझम