आजका संगीतकार

Share:
  

'पिरतीको छाता ओढाउन', 'निर जैले रिसाउनी', र अहिले आएर 'ठमेल बजार'। लगातारका हिट यी गीतले नेपाली संगीत बजारमा बलियो हस्तक्षेप त गरिरहेको छ नै खस्किंदो फिल्मी संगीतलाई समेत भरथेग गर्न सघाउ पुर्‍याइरहेको छ। इन्टरनेटमा 'मास अप' बनाउनेदेखि 'कभर सङ' गर्नेसम्मको ट्रेन्ड बसालेको छ।

यतिबेला यी गीतका सर्जक कालीप्रसाद बाँस्कोटालाई आफ्नो संगीतमा बेग्लै आकर्षण भएजस्तो लाग्नु अस्वाभाविक पनि होइन। तर, करिअरको पूर्वार्द्धमा उनी संगीतको कुन धार समातेर अघि बढ्ने भन्नेमा निकैबेर अलमलिएका थिए। पप, आधुनिक गीतमा उनी जस्तो धुन खोज्थे, त्यो पुरातन शैलीकै हुन्थ्यो।

गीतमा यस्तो धुन भर्न चाहन्थे, जो जिब्रोमा टपक्कै झुन्डियोस्। हृदयमा झंकार पैदा गरोस्। पिरतीको छाता ओढाउन यही खोजकै परिणाम थियो। “त्यो गीत हिट भइसकेपछि मात्र अब मेरो धार यही रहेछ भन्ने बोध भयो”, बाँस्कोटा भन्छन्।

त्यसअघि संगीत उनको निम्ति एकखाले भुलभुलैया थियो। किन पनि भने, त्यो गीत हिट भएपछि बाँस्कोटाले पूर्णकालीन रुपमा संगीतमै लाग्ने निधो गरे। र, तिलगंगाा आँखा अस्पतालको जागिर छाडिदिए। “जम्माजम्मी दुई वर्ष मात्र भयो, म संगीतकार भएको”, उनी हाँस्दै भन्छन्।

कुनै संगीतको प्रभावमा अर्को संगीत जन्मनु नौलो कुरा होइन, पश्चिमा पप, रक, जाज, ब्लूजदेखि बलिउड संगीतको रंग पोतिएर थुप्रै नेपाली धुन बनेका छन्। कालीप्रसादकै हकमा पनि यस्तो भएको छ। उनले मञ्जरी, भिसा गर्ल चलचित्रमा बलिउड शैली नै पछ्याए। तर, यसले बजारबाट राम्रो प्रतिक्रिया आए पनि उनको मन भने सन्तुष्ट पार्न सकेन। त्यसपछि मात्र हो, बाँस्कोटाले रैथाने धुन खोज्न थालेको।

'निर जैले रिसाउनी' शब्द र लवज उनले पोखरा आसपासका बस्तीबाट सापट लिएका हुन् भने ट्याउसी चढाउँदै काठमाडौं उपत्यकाका काँठ क्षेत्रबाट टिपेका हुन्। फिल्मको परिवेश र कथा अनुसार पनि गीतको लवजमा उनले तालमेल मिलाए। तर, यी गीत सधैं एकैनास चल्छन् भन्नेमा उनी ढुक्क छैनन्।

पछिल्ला गीतहरूको लोकप्रियताले यतिबेला बाँस्कोटाको माग बढेको छ। एकल अल्बमदेखि चलचित्रमा संगीत भराउनेहरूको ताँती नै लागेको छ। त्यसबाहेक देश–विदेशका कन्सर्टहरूमा पनि भ्याईनभ्याई छ। तर, बाँस्कोटालाई आफ्नो सीमितता थाहा छ। उनी माग अनुरुप आपूर्ति गर्न सक्ने 'संगीत कारखाना' होइनन्। सातवर्षे करिअरमा मुश्किलले ६० गीतमा संगीत गरेका उनलाई एउटै गीत तयार गर्न पनि लामो समय लाग्छ।

“फटाफट संगीत सिर्जना गर्ने क्षमता मसँग छैन” बाँस्कोटा भन्छन्, “कहिले क्षणभरमै फुरिहाल्छ, कहिले महीनौं घोरिनुपर्छ।” त्यसैले पनि यस्ता थुप्रै गीत छन्, जो अधुरै छन्। “कति धुन त मैले हुकलाइन मात्र बनाएर राखेको छु”, उनी भन्छन्।

लूट–२ को 'आइटम सङ' ठमेल बजार मा पनि यस्तै भयो। गीत बनाउने उनको पटकपटकको प्रयास सफल भएन। चलचित्रको युनिट सूटिङमा जाने बेलासम्म पनि गीत फुर्दै फुरेन। “सूटिङ शुरु हुनु पाँच दिन अघि मात्र गीतको हुकलाइन क्लिक भयो”, उनी सम्झ्ान्छन्। त्यही लाइन तन्काएर गीत तयार पारे। श्रोतालाई गीतमा अल्झाएर राख्न ठाउँ–ठाउँमा हुकलाइन राख्नुपर्ने बताउने बाँस्कोटा यसले चट्नीको काम गर्ने दाबी गर्छन्।

गीतको शब्द, लय मात्र होइन, गायनमा पनि बाँस्कोटा फरक छन्। तर, यसलाई उनी लोभ भन्दा पनि गीतको मर्म जोगाउने प्रयास मात्र भन्न रुचाउँछन्। “त्यही भएर ठाउँ–ठाउँबाट टिपेको धुन र लवजहरूको गीत चाहिं भरसक म नै गाउँछु”, उनी भन्छन्।

बाँस्कोटाको संगीतको विशेषता, उनको एउटा गीत सिंगो फिल्मको प्रचार सामग्री बन्ने गरेको छ। रेसम फिलिली को पिरतीको छाता ओढाउन होस् या पुरानो डुंगा को निर जैले रिसाउनी या लूट–२ को ठमेल बजार सबैको प्रचारमा गीत नै पहिल्यै चर्चित भइसकेका थिए। धेरैलाई थाहा नहुन सक्छ, शशि रावलले गाएको 'चाहना सकियो, बहाना सकियो', हेमन्त राणाको चर्चित गीत 'लैजा रे' का संगीत संयोजकसमेत बाँस्कोटा नै थिए। गीत चल्यो तर संगीतकार चलेनन्। पिरतीको छाता ओढाउन नै उनको जीवनको टर्निङ पोइन्ट बन्यो।

एसएलसी दिएलगत्तै उनी 'म्युजिक एरेन्ज' अभ्यास गर्थे, लुकीछिपी। तर, कसैसामु व्यक्त गर्दैनथे। “म बोल्न डराउँथें”, बाँस्कोटा भन्छन्, “अहिले पनि कतिपय ठाउँमा खुल्न सक्दिनँ, तर आत्मविश्वास बढ्दै गएको छ।”

शिव मुखिया

comments powered by Disqus

रमझम