चिनियाँसँगको विवाह

Share:
  
- प्यान ल्यान
सञ्चारमाध्यममा दुर्व्यवहारका खबरले चिनियाँ पुरुषसँग विवाह गर्ने नेपाली महिलाको संख्यामा उल्लेख्य कमी आएको छ।

तस्वीर सौजन्यः वु सी
ठमेलस्थित एक होटलका म्यानेजर वु सी पत्नी समिता (नेपाली) सँग काठमाडौं दरबारस्क्वायरमा तस्वीर खिचाउँदै।
सञ्चारमाध्यममा दुर्व्यवहारका खबर छाएपछि नेपाली महिलाले चिनियाँ र कोरियालीसँग विवाह गर्ने लहरमा ह्वात्तै कमी आएको छ। जिल्ला प्रशासन कार्यालय, ललितपुरमा मात्र सन् २०१३ देखि २०१५ सम्म २१ जोडी चिनियाँ–नेपालीको विवाह दर्ता भएकोमा गत वर्षको भूकम्पपछि एउटै पनि विवाह दर्ता भएको छैन। काठमाडौंको तथ्यांक पनि उस्तै छ।

गत वर्ष धेरै चिनियाँ अनलाइन साइटहरूले चीनका पुरुषले नक्कली विवाह गरेर नेपाली महिलाहरूको तस्करी गरिरहेको भन्ने खालका रिपोर्ट प्रकाशित गरेका थिए। त्यसैले पनि नेपालमा यस्तो विवाहको प्रमाणपत्र दिन कडाइ गरिएको हो।

विवाहको प्रमाणपत्र दिनुअघि जिल्ला प्रशासन कार्यालयले नियमित प्रक्रियाबाहेक बेहुला र बेहुली दुवैको आर्थिक–सामाजिक हैसियतबारे सोधखोज गर्छ। निवेदनका साथमा पुलिस रिपोर्ट, गृहमन्त्रालय र चिनियाँ दूतावासको पत्र चाहिन्छ भने साक्षीहरूसँग समेत बयान लिइन्छ।

“फर्जी विवाह र मानव तस्करीका खबर आएपछि दर्ता प्रक्रिया कडा पारिएको हो”, ललितपुरका प्रमुख जिल्ला अधिकारी कृष्ण आचार्य भन्छन्, “यदि निवेदकहरू वास्तविक जोडी हुन् भने उनीहरूलाई कुनै अवरोध हुँदैन।” चिनियाँसँग विवाह गर्ने नेपाली महिलामाथि दुर्व्यवहार हुने गरेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले त्यस्तो विवाहमा रोक लगाएको भन्ने सुनेको आफूलाई 'चेन' बताउने चिनियाँ महिलाले वी–च्याटमा लेखेकी छिन्।

नेपाली सञ्चारमाध्यमहरूमा पनि चिनियाँ र कोरियाली पुरुषले नेपाली महिलासँग फर्जी विवाह गरेर दुर्व्यवहार गरेको समाचार प्रकाशित भएपछि यी दुई देशका पुरुषबारे नकारात्मक प्रभाव परेको छ। कोरियाली र चिनियाँ पुरुषहरू आफ्नो देशमा केटी नपाएका वा मानव तस्करहरू हुने गरेको धारणा नेपालमा बनेको छ।

ठमेलमा गहना व्यवसाय गर्ने ३० वर्षीय चिनियाँ मियाओ माक्सिम केही महीनादेखि नेपाली महिलाको आफूप्रतिको दृष्टिकोणमा समेत परिवर्तन आएको बताउँछन्। नेपाली महिला मीठो बोल्ने, पारिवारिक र परम्परा पछ्याउने खालका भएको बताउने उनी नेपालीलाई नै जीवनसाथी बनाउन चाहन्छन्। “चीनका अधिकांश पुरुष भलाद्मी र दयालु हुन्छन् भनेर बुझाउन खोज्छु तर, उनीहरूले नपत्याए झै लाग्छ”, मियाओ भन्छन्, “महिलाहरूले मिडियाकै कारण सबै चिनियाँ पुरुषलाई एकै नजरले हेरेका हुनसक्छन्।”

प्यान ल्यान
काठमाडौंको गार्डेन अफ ड्रिम्स्मा भेटिएका पोखरामा चिनियाँ भाषा पढाउने सु काइ आफूले नेपाली केटी बिहे गर्नुअघि यहाँको रीतिरिवाजबारे प्रशस्तै 'खोजबीन' गरेको बताउँछन्।
त्यसो त अचेल चीनका विश्वविद्यालयमा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या प्रशस्तै भएकोले नेपाली पुरुषसँग विवाह गर्ने चिनियाँ महिलाको संख्या पनि बढ्दो छ। तर, यस्तो जोडीको समस्या भने बेग्लै छ– चीनको आवासीय भिसा।

“हाम्रो विवाहपछि भिसाको यत्रो समस्या होला जस्तो लागेको थिएन”, २४ वर्षीय सञ्जु विकसँग विवाह गरेकी २९ वर्षीया मिया लिउले भनिन्। यो जोडी विवाहपछि चीनको सेञ्झोन बसाइँ सरेको छ तर सञ्जुले चिनियाँ 'ग्रीन कार्ड' प्राप्त गर्न अझै पाँच वर्ष कुर्नुपर्छ। त्यसबेलासम्म निश्चित अवधिका लागि मात्रै भिसा मिल्ने हुँदा सञ्जुले काठमाडौं–सेञ्झोन आउजाउ गरिरहनुपर्छ। “प्रत्येक पटक सञ्जु नेपाल जाँदा अब फेरि उसलाई भेट्न पाउदिनँ कि भन्ने चिन्ताले सताइरहन्छ,” लिउ भन्छिन्, “कहिलेकाहीं त हाम्रो वैवाहिक जीवन नै अनिश्चित भएजस्तो लाग्छ। सबै कुरा भिसामा निर्भर छ।”

पितृसत्तात्मक सोच राख्ने नेपाली पुरुष र 'बढी' स्वतन्त्र चिनियाँ महिलाबीचको सांस्कृतिक भिन्नताले पनि वैवाहिक जीवनमा अड्चन ल्याउने गर्छ। ठमेलमा भेटिएका नेपाली युवकसँग प्रेम सम्बन्धमा रहेकी २३ वर्षीया चिनियाँ युवती यान यान जुन कमाइ र घरको सबै काम महिलाले नै गर्नुपर्ने पुरुषको अपेक्षा रिसउठ्दो भएको बताउँछिन्। तर, यान भन्छिन्, “म भाग्यमानी छु, मेरो प्रेमी अरु नेपाली केटा जस्तो छैन।”

वी–च्याट र एपमा पनि

चिनियाँ ग्राहक खोज्न सामाजिक सञ्जाल वी–च्याट प्रयोग गर्ने नेपाली व्यापारीहरू अचेल चिनियाँ साथी खोज्न प्रयोग हुने यसकै 'डेटिङ फङ्सन' तर्फ आकर्षित भएका छन्।

वी–च्याटमा रहेको 'पिपल नियरबाई' फङ्सनले नजीकै रहेका प्रयोगकर्ता भेट्टाउन सकिन्छ। एउटा प्रयोेगकर्ताले पठाएको अनुरोध अर्काले स्वीकार गरी च्याट गर्न सकिन्छ। गत साता हामीले पाटनढोकास्थित हिमाल कार्यालयबाट 'पिपल नियरबाई' सर्च गर्दा ३०० मीटरदेखि तीन किलोमीटरको दूरीमा ९६ जना नेपाली भेट्यौं। तीमध्ये एक जना मात्र महिला थिइन्।

अहिले चिनियाँ युवामाझ प्रचलित 'लोकेशन बेस्ड' डेटिङ एप 'मोमो' नेपालीले पनि प्रयोग गर्न थालेका छन्। हामीले नेपाली नम्बर राखेर उक्त एपमा खाता खोलेपछि त्यहाँ चार किमीको दूरीमा रहेका १० जना नेपाली पुरुष भेटिए। तीमध्ये आफूलाई ३० वर्षीय बताउने एक युवाले एक महीनादेखि 'आकर्षक र खुला सोच' की चिनियाँ युवती खोजिरहेको तर अहिलेसम्म कोही नभेटिएको बताए।

comments powered by Disqus

रमझम