सिड्नीमा थकाली स्वाद

Share:
  

दुई दशकअघि अष्ट्रेलिया आएका पोखराका राजमान थकाली (४१) ले नेपालीपनलाई समृद्धि सूत्र बनाएका छन्। अष्ट्रेलियाको केन्द्र सिड्नी र त्यसको पनि 'सिटी हब' मानिने टाउन हल, लिभरपुल स्ट्रिटमा रहेको 'द मुग्लान' रेस्टुरेन्टका सञ्चालक उनै राजमान हुन्। नेपाली परिवेश सहितको स्वाद पस्कने रेस्टुरेन्ट सञ्चालन गरिरहेका उनी नेपालको आतिथ्य संस्कार चिनाउने काम गरिरहेका छन्। भन्छन्, “नेपाली परिवेशसँगै नेपाली स्वाद पस्कने मेरो प्रयास हो।”

रामेश्वर बोहरा

त्यसो त सिड्नीमा दर्जनौं नेपाली रेस्टुरेन्ट छन्। नामलाई मात्र हेर्ने हो भने 'द मुग्लान' पनि तिनैमध्ये एक हो। तर, यो रेस्टुरेन्ट धेरै हिसाबले पृथक् छ। यहाँ पस्दा काठमाडौंको कुनै खास थकाली रेस्टुरेन्टमा भए झै अनुभूति हुन्छ। रेस्टुरेन्टको साजसज्जादेखि परिवेश सबैमा नेपालीपन झल्कन्छ। थकाली थाली, फापरको ढिंडो, मःम, चाउमिन, गुन्द्रुक आदि यहाँका मुख्य परिकारमा पर्छन्। टिमुरलगायतका सामग्री नेपालबाटै ल्याउँछन्। एकपटकमा १२ जना भन्दा बढीको सामूहिक अर्डर लिंदैनन्।

पाँच वर्षअघि 'द मुग्लान' शुरु गरेपछिका दुई वर्षमा राजमानले सिड्नीका अन्य दुई स्थानमा समेत रेस्टुरेन्ट विस्तार गरे। तर, रेस्टुरेन्ट राम्रै चले पनि व्यवस्थापन गर्न कठिन भएपछि गुणस्तर कायम गर्न नसकिने डरले दुवै बेचिदिएको बताउँछन्।

सन् १९९६ मा बिजनेश एडमिनिस्ट्रेसन पढ्न अष्ट्रेलिया आएपछिका केही वर्ष सबै झै उनले पनि संघर्ष गरे। त्यसबेला आप्रवासीलाई स्थायी बसोबास अनुमति प्राप्त गर्न निकै कठिन थियो। त्यही भएर भिसा थप्दै, अरु विषय पनि पढ्दै गए। भाँडा माझ्नेसम्मको काम गरे। अलि अलि पैसा कमाएपछि नेपाली विद्यार्थीलाई अष्ट्रेलिया आउन सघाउने एजुकेसन र माइग्रेसन परामर्शदाताको काम पनि शुरु गरे। “कमाइ राम्रै थियो, तर थकालीको छोरो भएकाले होला, पुर्ख्यौली पेशाप्रति आसक्ति बढ्यो र रेस्टुरेन्ट खोलें”, उनी भन्छन्।

तीन लाख अष्टे्रलियन डलरमा 'द मुग्लान' शुरु गरेपछि उनले पछाडि फर्कनुपरेको छैन। बरु, ३५ जना नेपालीलाई रोजगारी दिएका छन्। दैनिक करीब ४०० ग्राहक नियमित आउँछन्, तीमध्ये आधाजसो नेपाली हुन्छन्। राजमान भन्छन्, “नेपाली परिवेश र स्वाद जोगाउँदै अघि बढ्नु अबको मेरो चुनौती हो।”

रामेश्वर बोहरा, सिड्नी, अष्ट्रेलिया


ह्याटि्रक गर्ल

सिम्पानी ७, लमजुङमा गाउँले दाइहरूसँग फूटबल खेलिरहेकी सावित्रा भण्डारी (२०) लाई गृहजिल्ला पुगेका रेफ्री शुक्र लामाले नदेखेको भए के हुन्थ्यो? उनको जवाफ प्रष्ट छ, “यतिबेला म गाउँमै पढ्दै, घरको काम सघाइरहेकी हुन्थें।”

चार वर्षअघि केटाहरूसँगै एक्लै फूटबल खेलिरहेकी सावित्रालाई देखेपछि तिनै 'लामा दाइ' ले सशस्त्र प्रहरी बल (एपीएफ) को महिला क्लब हुँदै राष्ट्रिय टीमको ठेगाना बताइदिएका थिए। त्यसलाई पछ्याउँदै उनले राष्ट्रिय टोलीमा नयाँ कीर्तिमान राखेकी छन्, एउटै खेलमा डबल ह्याटि्रक गरेर।

त्यसो त २० पुसमा सम्पन्न चौथो साफ महिला च्याम्पियनसिपमा अघिल्ला तीन संस्करणको उपविजेता नेपालले खराब नतीजा आत्मसात् गर्नुपर्‍यो। भारतसँग पराजित हुँदै नेपाल सेमिफाइनलबाटै बाहिरियो। मुलुकका लागि आशातीत नभए पनि सावित्राका लागि भने प्रतियोगिता स्मरणीय रह्यो। भूटानसँगको खेलमा नेपालको ८ गोलमध्ये ६ गोल उनी एक्लैले गरिन्। प्रतियोगिताकै सर्वाधिक १२ गोल गर्ने पनि सावित्रा नै भइन्। त्यसो त सन् २०१४ को तेस्रो साफबाट राष्ट्रिय टोलीमा 'डेब्यू' गरेकी उनले अहिलेसम्म राष्ट्रिय टोलीबाट १६ गोल गरिसकेकी छन्। प्रशिक्षक कुमार थापाको भनाइमा सावित्राको गोलमा बल, गति र उँचाइ (५.५ इन्च) ले अहम् भूमिका खेलेका छन्।

सदरमुकाम बेसीशहरस्थित जिल्ला जनस्वास्थ्य कार्यालयका साधारण कर्मचारी बुबा र गृहिणी आमाका चार छोरी र दुई छोरामध्ये माइली सावित्रालाई परिवारले कहिल्यै फूटबल नखेल भनेन। तर, छिमेकी र गाउँलेले कुरा लगाउन छाडेनन्। “छोरीलाई फूटबल खेल्न दिएर नराम्रो होला है भन्थे, साह्रै नमज्जा लाग्थ्यो”, उनी सम्झन्छिन्। तर, अहिले उही छोरीले गाउँको मात्र होइन, देशकै नाम राखेकी छन्।

गत फागुनदेखि एपीएफमा जागिरे भएपछि सावित्राको अबको लक्ष्य भारत हराउनेमा केन्द्रित छ। “हाम्रो मुख्य चुनौती भनेकै भारत हो”, उनी भन्छिन्, “भारतलाई हराउन सके गोलको स्वाद बेग्लै हुन्छ।”

comments powered by Disqus

रमझम