२-८ माघ २०७३ | 15-21 January 2016

अव्यय

Share:
  
- कदी
लेखन र प्रकाशनमा धेरै भाषाभन्दा पछि परे पनि भाषाकै हिसाबले चाहिं कतिपय कुरामा अरू धेरै भाषाहरूभन्दा शब्द र शब्दार्थमा हाम्रो भाषा बढी समृद्ध छ।

'शिक्षक' मा मैले दुई वर्ष जति स्तम्भ लेखें विभिन्न नामका। पछिल्लो 'बोलीको–लोली' पनि १७ ओटा लेखेपछि त्यो समेत टुङ्गियो (साउन २०७१ देखि मंसीर २०७२ सम्म)। अनि सम्पादकजीले अर्को कुनै नयाँ 'टपिक' मा लेख्ने र लेख्न नछाड्ने आग्रह गर्नुभयो मलाई। के विषयमा लेख्ने त भनेर हामीले धेरै नै छलफल गर्‍यौं किनभने त्यो नेपाली स्कूल, कलेजका शिक्षकहरूलाई काम लाग्ने किसिमको हुनुपर्ने भएकाले तत्काल केही निधो गर्न सकिएन। अनि सम्पादकज्यूले विषय छान्ने काम पनि मेरै हिल्ला लगाइदिनुभयो। इति भूमिका।

मैले जे त होला भनेर नेपाली 'शब्दहरू' बारे लेख्ने निधो गरें, डराई डराई। डराएर किनभने त्यस विषयको ज्ञाता त म होइन। न भाषाविद् न भाषाशास्त्री― केही पनि नभएकाले यो मेरो एउटा अनधिकार चेष्टा जस्तो देखिन सक्छ भन्ने मलाई ज्ञात थियो। कवि कालिदासलाई 'रघुवंश' लेख्न थाल्दा यस्तै धुकचुक लागेको थियो रे मनमा र उनले 'रघुवंश' को प्रारम्भमै लेखेः मंदः कवियशः प्रार्थी गमिष्याम्युपहास्यताम्। प्रांशुलभ्ये फले लोभादुद्वाहुरिव वामनः (अर्थात् अग्ला मान्छेहरूको मात्र हात पुग्ने फल टिप्न बामपुड्केले हात उचालेको देखेर मान्छे हाँसेजस्तै हुनेछ मलाई)। तर यहाँनिर मलाई फेरि अर्का महाकविको उक्तिले आँट दियो, ढाढस नै दियो भनूँ। हाम्रा कवि बालकृष्ण सम (सेर) ले 'मुटुको व्यथा' मा शुरूमै सूत्रधारका मुखबाट आफ्ना बारेमा यस्तो भनाएका छन्ः 'आँटेर तैपनि लेख्यो; आठै रस गुमे पनि घृणा सबैको पाएमा बीभत्स रस बन्दछ।' भन्न खोजेको के भने 'आँट गरेपछि नराम्रो भए पनि यौटा काम त गरेको देखिन्छ, के भो त? तँ लेख' भन्यो मेरो मनले, अनि मैले लेख्ने कम्मर कसें।

त्यो जे भए पनि, स्तम्भको नाम त तोकियो 'हाम्रा शब्दहरू' भन्ने। तर अब लेख्ने के? म साँच्चै अलमलमा परें। नेपाली भाषाभाषी भएको र फाट्टफुट्ट अरू भाषा पनि अलिअलि बोल्न जानेको आधारमा मैले के बुझ्ेको थिएँ भने लेखन र प्रकाशनमा धेरै भाषाभन्दा पछि परे पनि भाषाकै हिसाबले चाहिं कतिपय कुरामा अरू धेरै भाषाहरूभन्दा शब्द र शब्दार्थमा हाम्रो भाषा बढी समृद्ध छ। यो कुरा भाषाशास्त्रीय परिभाषाअनुसार म सिद्ध गर्न सक्दिनँ, मेरो ज्ञानको सीमा त्यति माथि पुग्दैन। तर मेरो आफ्नो अनुभवले भन्छ नेपाली भाषाका एकाक्षरी या द्वयक्षरी शब्दले भनेका कुरा बताउन अरू भाषामा दुई तीन या अझ् धेरै शब्द खर्च गर्नुपर्छ। धेरै टाढा किन जानु? एउटा मात्र शब्द लिई हेरुँ न एकाक्षरी 'रे' भन्ने। यो 'रे' नै कति व्यापक छ जाँची हेरूँ। 'भोलि बिदा रे' लाई मैले हिन्दी या अंग्रेजीमा अनुवाद गर्नु पर्‍यो भने भन्नुपर्छ 'वह कहते हैं कि कल छुट्टी है' अथवा 'कहा जा रहा है कि कल छुट्टी है'। अंग्रेजीमा भन्दा त अझ् यति भन्नुपर्छ 'He says that tomorrow is a holiday' of 'It is said that tomorrow is a holiday'

यो 'रे' कति तगडा छ भने आफू एक्लै मात्र होइन, यल्ले अर्को अक्षरसँग जोडिंदा समेत त्यस्तै व्यापक रूप लिन्छ। उदाहरणार्थ 'क्यारे' र 'ब्यारे' लाई हेरूँ। 'त्यसो त होइन क्यारे' अथवा 'त्यति चाहिं होइन ब्यारे' लाई हिन्दी या अंग्रेजीमा उल्था गरिहेर्नुस् त। कति शब्द लाग्छन्। हामीले नमूना मात्र हेर्‍यौं त्यो 'रे' को त। खोजिपस्यो भने त्यस्ता एकाक्षरी या दुई अक्षरवाला नेपाली अव्ययहरू अरू पनि फेला पर्छन्। जस्तो 'पो', 'नि', 'ल' या 'लौ'। हामी ऐले ती अव्ययहरू प्रयोग गरेर वाक्य बनाइहेर्नतिर नलागेर अर्को एउटा एकाक्षरी 'है' लाई जाँची हेरौं। तर विचार गरूँ (यो 'है' नेपालीको हो, हिन्दीको होइन। अर्थात् 'हय्' होइन, 'हइ' हो। ती दुई 'है' का त भाषा फरक भएझैं अर्थमा पनि आनका तान भिन्नता छ। नेपालीमा आउँदा साधारण हिसाबले त्यसले अंग्रेजीको 'ओके' या हिन्दीको 'अच्छा?' जस्तो अर्थ बोकेको हुन्छ, तर 'मैले भन्द्या छ है' जस्ता वाक्यमा जोडिंदा त्यसलाई त्यति सजिलो गरी अनुवाद गर्न सकिन्न, अलि विस्तारित व्याख्या गर्नुपर्ने हुन्छ। यसरीः 'I have warned you' of 'You have been warned' जस्तो गरेर!

यस्ता शब्दलाई हामीले अव्यय भन्ने गरेका छौं। पैलेपैले 'निपात' पनि भन्दथे संस्कृतका पाराले। ती शब्दको हुबहु अंग्रेजी पर्यायवाचक पाइँदैन र 'इन्डिक्लिनेबल' भनेर पन्छिन्छन्। हामी यहाँ 'अव्यय' या 'निपात' को विश्लेषण होइन, नेपाली निपातहरू कति अर्थ बोकेर आउँछन् भन्ने कुरो खोतल्न मात्र लागेका हौं। त्यही पनि सतहमा मात्र अलिकता खोस्री हेरियो, हाम्रा शिक्षकहरूमा बढी जिज्ञासु कसैले यस बारेमा थप खोजखाज गरी विद्यावारिधिको शोधपत्र नै लेख्ने जमर्को गर्लान् भन्ने आशा गरेर। निपात बाहेकै क्रियापदमा समेत सजिलै अरू भाषामा उल्था नगरिने ('अज्ञातभूत') 'परेछ', 'गरेछ', 'गरिटोपलेछ' जस्ता शब्द पनि छन् हाम्रा। तिनको पनि चर्चा गर्न कोही विद्वान् प्रवृत्त हुन्, हुट्हुटी जागोस् भन्ने प्रार्थना गर्दै यो प्रकरण टुङ्ग्याऊँ।

(लेखकले जीवनकालको अन्तिम अवस्थामा तयार पारेको लेखमध्येको एक जुन माघ २०७३ को शिक्षक मासिकमा पनि प्रकाशित छ।)

comments powered by Disqus

रमझम