२-८ माघ २०७३ | 15-21 January 2016

अप्रतिम भाषासेवी

Share:
  
- शरच्चन्द्र वस्ती
कमलमणि दीक्षितको व्यक्तित्व र क्रियाशीलताका थुप्रै पाटा भए पनि मूलतः उनी भाषासेवी हुन् र आफूलाई अरूले यही रूपमा चिनुन् भन्ने चाहन्थे।

तस्वीरः मपुपु
बायाँबाट क्रमशः बूँद राना, कदी, इन्द्रबहादुर राई र बैरागी काइँला।
नेपाली भाषा निकै अपमानित भइरहेको थियो― २०१०–१२ सालतिर। प्रधानमन्त्री भइसकेका मातृकाप्रसाद कोइराला 'नेपालको राष्ट्रभाषा हिन्दी हुन्छ' भन्ने हुँकार गरिरहेका थिए। भारतबाट आएका भिक्षु भदन्तले 'नेपाली भाषाको कुनै इतिहास र भविष्य पनि छैन' भनेर थर्र्काएका थिए। 'प्रगति' पत्रिकाको ग्राहक बनाउन ठूली एकादशीका दिन पशुपतिको पश्चिम ढोका अगाडि पुगेको लक्ष्मीप्रसाद देवकोटा सहितको टोलीलाई भारदार विश्वमणि आ.दी.ले दपेटेका थिए, 'नेपाली भाषाको पत्रिकाको के प्रचार गर्छौ? अब यहाँ हिन्दीले राज गर्छिन्!'

संस्कृतमा भनाइ छ– क्रिया केवलमुत्तरम्। अर्थात् कार्य नै जवाफ हो। युवा कमलमणिले त्यही बाटो रोजे। पहिले आफ्नै कमाइबाट स्कूलस्तरीय नेपाली निबन्ध प्रतियोगिता आयोजना गरी त्यसको चर्चाबाट रानी जगदम्बालाई हौस्याएर २०१२ मा 'मदन पुरस्कार' स्थापना गराए। स्कूलमा खाजा खाने पैसा बचाएर नेपाली किताब किन्दै खडा गरेको 'कमलको नेपाली संग्रह' कै आधारमा उनले 'मदन पुरस्कार पुस्तकालय' स्थापित गरे।

आफ्नो रगतमै 'नेपाली भाषाको कोशिका' रहेको अनुभूति गर्ने कमलमणिको नितान्त निजी भिजन र व्यक्तिगत प्रयास थियो त्यो। त्यसको तरंगले भने नेपाली भाषीको समष्टिलाई नै तरंगित गर्‍यो। त्यही सेरोफेरोमा देवकोटाको अग्रसरतामा नेपाली भाषा राष्ट्रभाषाको आसनमा प्रतिष्ठित भयो, अनि बालकृष्ण पोखरेलको अग्रसरतामा र्झ्रावादी आन्दोलन शुरू भयो– भाषिक शुद्धता र मौलिकतालाई प्रतिष्ठित गर्न।

मदन पुरस्कार पुस्तकालय छ, त्यसैले आज हामी नेपाली भाषा र वाङ्मयको इतिहास एवं वर्तमानको इयत्ता आँक्न र महत्ता स्थापित गर्न सक्ने भएका छौं। नेपाली भाषालाई 'माइनस' गर्न चाहने समग्र शक्तिलाई सशक्त जवाफ हो यो। नेपालीमा लेखिएका–छापिएका, चर्चित–विस्मृत, दुर्लभ–दुष्प्राप्य, नयाँ–पुराना ४० हजार हाराहारीमा पुस्तकमात्रको यो बृहत् अभिलेखागारलाई 'माइनस' गरेर सोच्नुहोस् त― कति अन्धकारमा हुन्थ्यौं हामी!

मदन पुरस्कार पुस्तकालय कमलमणिले नेपाली भाषालाई दिएको सर्वाेत्कृष्ट उपहार र उपलब्धि हो। तर, यसबाहेक पनि उनले जे गरे–जे दिए, ती आफ्नो उदाहरण आफैं बनेका छन्। चाहे नेपाली साहित्यमा सर्वाधिक गरिमामय र स्पृहणीय बनेको मदन पुरस्कारको कुरा गरौं, चाहे उनका दर्जनौं कृतिको। ६ दशकसम्म उही उँचाइ र उत्साहका साथ लाइब्रेरियन, पुरस्कार सञ्चालक, सम्पादक, अनुसन्धाता, लेखक, साहित्यकार, उत्प्रेरक र भाषासेवीको भूमिकामा अनवरत गतिमान थिए उनी। अचम्म लाग्छ, कसरी गर्न सके अविश्रान्त रहेर यत्रो काम र कसरी रहन सके यत्रो चापाचापमा पनि सदा तनावमुक्त, ताजा र प्रसन्न रहन?

भाषामा उनको अद्भुत सिद्धि थियो। संस्मरण र आख्यानको त कुरै छाडौं, विवेचना र अनुसन्धानमा पनि त्यति मीठो, सरस, सरल, आकर्षक र स्पन्दनयुक्त भाषा अरूको पाइँदैन। जुन विषय उठाउँथे, भाषाको जादूले त्यसमा मोहनी थपिन्थ्यो। मलाई लाग्छ– अनन्य भाषासेवाबाट प्रसन्न भएर स्वयं वाग्देवीले दिएको अयाचित वरदान हो यो उनलाई।

कमलमणि सबै कुरा सहन तयार थिए– आफ्नै अपमान पनि; तर भाषाको अपमान र अवमूल्यन सहन तयार थिएनन्। त्यत्रो प्रेम, त्यत्रो श्रद्धा र त्यत्रो समर्पणभावले अघि बढाएको नेपाली भाषा दुरभिसन्धिको शिकार हुन लागेको देखेर केही समय यता निकै चिन्तित थिए उनी। त्यसैको परिणाम थियो– 'ललितपुर घोषणापत्र' (२०६८) मा उनको उत्साहपूर्ण सहभागिता। नेपाली भाषा प्रयोगकर्ताहरूको त्यस भेलाका संयोजक वा आयोजक थिएनन् उनी, अरू झैं सहभागी मात्र थिए। तर संयोजकहरूलाई उनले गहन जिम्मेदारी बोकाइदिएः 'तपाईंहरूका कुरा त ठीक होलान्, तर त्यसबाट मलाई के फाइदा? म त प्रकाशक हुँ, मलाई त भाषाको व्यवस्था तयार गरेर दिनोस्' भनेर।

त्यसैको अनुक्रममा, नेपाली भाषाका महागुरुहरू समेत प्रयोगकर्ताको अभियानमा जोडिन आइपुगेपछि तयार भएको थियो'नेकशुले–२०६९' (नेपाली कसरी शुद्ध लेख्ने)। त्यो तयार पार्ने वातावरण मात्र जुटाइदिएनन् उनले, त्यसको निर्माणमा पनि संलग्न भए। त्यसको र समूहको न्वारन पनि उनैले गरिदिएका थिए।

पछिल्लो समय नेपाल बाहिर र फर्केलगत्तै अस्पताल भर्ना भएकाले सम्पर्क हुनसकेको थिएन। एक्कासि असोज ८ गते शनिबार दिउँसो १ बजे उनको फोन आयो, 'हलो' को सट्टा 'मलाई चिन्नुभो?' भन्दै। त्यस दिन कान्तिपुर दैनिकमा प्रकाशित भाषा सम्बन्धी मेरो आलेख पढेर गद्गद् भएको प्रतिक्रिया दिंदै मलाई कृतकृत्य तुल्याए। तर फोनको मुख्य उद्देश्य त्यो थिएन। 'त्यसमा पनि एउटा बुँदा मलाई ज्यादै घत लाग्यो' भन्दै त्यो बुँदा पढेर सुनाए र भने, 'गर्नुपर्ने यही हो। हामी यो काम गरौं। तपाईं मुख्य भूमिका खेल्नोस्। बाँकी सहयोग म गर्छु।'

मलाई पसीना छुट्यो। लाग्यो, त्यत्रो जिम्मेदारी म कसरी पूरा गर्न सकौंला। तर, उत्तिखेरै मेरो ब्रह्मले त्यो ऊर्जा, त्यो उत्साह, अप्रतिम भाषासेवीको त्यो शिव–संकल्प खेर जान दिनुहुँदैन भन्यो र मैले जवाफ दिएँ, 'हुन्छ नि!' उनले त्यत्तिमै किन छोड्थे; भने, 'यसरी हुँदैन, मसँग बाचा गर्नोस्।' मैले एकपल्ट लामो सास फेरें र भनें, 'ल बाचा भयो। म गर्छु। तर, कसरी गर्ने भनेर भोलि फोन गर्छु।' राति सोचेर भोलिपल्ट कामको खाका विस्तारपूर्वक बताउँदा उनले विशेषै प्रसन्नता जनाए। अनि मेरो अनुरोधमा सहमति भयो– काम पूरा नभएसम्म यसबारे बाहिर हल्लाखल्ला नगर्ने। पछिल्लोपल्ट बीएण्डबीमा भर्ना भएपछि दुईपल्ट फोन आयो– डाक्टरले नबोल्नु भनेका छन् भन्दै। ती संक्षिप्त फोनवाणी पनि भाषाकै चासो, चिन्ता र अभियानसँग सम्बन्धित थिए।

नेपाली भाषाले आजसम्म पाएका सबैभन्दा बहुमूल्य रत्न हुन्– कमलमणि। सबै भाषाले यस्ता मणि पाउँदैनन्, पाउनेले पनि एउटा भन्दा बढी पाउँदैनन्। मलाई लाग्दैन, समयले अर्को कमलमणि जन्माउला। तर, उनले तयार पारिदिएको आधारमा उभिएर हामी नेपाली भाषाको श्रीवृद्धि गर्न सक्छौं। त्यसनिम्ति, अभौतिक रूपमै सही, उनी सधैं हाम्रो साथमा रहनेछन्।

comments powered by Disqus

रमझम