२-८ माघ २०७३ | 15-21 January 2016

लेखक जन्माउने, स्रष्टा चिनाउने

Share:
  
- बच्चु विक
आफ्नै शैलीका सिद्धहस्त लेखक कमलमणि दीक्षितले जगदम्बा र साझा प्रकाशनबाट थुप्रै लेखक जन्माउने र स्रष्टा चिनाउने काम पनि गरे।

युवा अवस्थाका कदी । उनकै पहलमा वि. स. २०१४ मा बसाइँ उपन्यास प्रकाशन भएको थियो ।
दोस्रो विश्वयुद्धताका गोरखापत्रका तत्कालीन सम्पादक प्रेमराज शर्मालाई बर्माबाट फर्केका रणशूर लिम्बूले चिठी पठाए– 'जापानीहरूको आक्रमणले गर्दा बर्मामा बसिसक्नुभएन। म सपरिवार धरानमा आएर बसेको छु। मसँग रु.२ हजार साथमा छ। त्यति पूँजीले कुनै काम हुन सक्छ भने काठमाण्डूमा पनि आउन तयार छु। शिक्षा पाऊँ।'

सम्पादक शर्माले उत्तर पठाए– 'काठमाण्डूमा रु.२ हजारले प्रारम्भ गर्न सकिने र तपाईंलाई सुहाउने काम पाउन गाह्रो छ। बरु धरान नै तपाईंको लागि उपयुक्त होला। त्यहाँ कुनै रोजगारका साथसाथै जमीनको संग्रह गर्दै जानमा पनि अनुकूल पर्नेछ। बर्मामा तपाईंले देखे/सुनेका कुराहरूबारे एउटा पुस्तक लेख्नुभए त्यसबाट पनि केही आर्जन होला कि भन्ने मलाई आशा छ।'

त्यसको केही महीनापछि चिठीसँगै पाण्डुलिपि आइपुग्यो। शर्माले त्यसलाई भोलि हेर्छु, पर्सि हेर्छु भन्दाभन्दै व्यस्ततामा लामै समय बिर्सिए। धेरैपछि त्यो पाण्डुलिपि भेटेर झ्ल्याँस्स भएका उनले त्यसलाई पाटनको श्रीदरबार टोलमा लगेर कमलमणि दीक्षित (कदी) लाई दिए अनि २०१८ सालमा 'बर्माको सम्झ्ना' प्रकाशित भयो, जगदम्बा प्रकाशनबाट। प्रकाशक कदीले तत्कालीन बर्माका नेपालीहरूले भोगेको र नेपालीमा लेखिएको घटनाक्रमलाई पाठकसमक्ष पुर्‍याए। त्यसका लेखक रणशूर लिम्बूसँग उनको न भेट भएको थियो न त पत्राचार।

कदीले नचिनीकनै नामी बनाएका अर्को लेखक हुन्– आसामका लीलबहादुर क्षेत्री। एक दिन कोही आएर कदीलाई 'हाम्रो गाउँको एउटा मान्छेले राम्रो कथा लेखेका छन्, छाप्न पाए हुन्थ्यो' भने। पाण्डुलिपि मगाएर पढ्दा कदीलाई तत्काल जँच्यो पनि। त्यसरी छापिएर अधिकांश नेपाली पाठकले अनेक पटक पढेको उपन्यास 'बसाइँ' छापिएको धेरैपछि मात्र त्यसका लेखक र प्रकाशकको भेट भयो।

राजा रणबहादुर शाहको समयमा एकजना बाहुनले संस्कृत भाषाको रामायणलाई नेपालीमा उल्था गरेका रहेछन्। त्यो पुरानो पाण्डुलिपि कतैबाट २०२० सालमा कदीको हातमा पर्‍यो, जसमा अनुवादकले उपनाम मात्र लेखेका थिए– जैन सुन्दरेण। जगदम्बा प्रकाशनबाट त्यही साल छापियो– 'सुन्दरानन्दको रामायण'। ६१६ पृष्ठको 'सुन्दरानन्दको रामायण' लाई आदिकवि भानुभक्त आचार्यको भन्दा पहिला नेपालीमा उल्था भएको रामायण मानिन्छ।

१९६१ साल अगाडि मृत्यु भएका कविहरूका रचना प्रकाशित हुनै नपाएको अवस्थामा कदीले २०१८ मा प्रकाशनमा ल्याए– 'बुइँगल'। ४६६ पृष्ठको त्यस कृति प्रकाशनको लागि संकलन र सम्पादनमा कदीले गरेको मिहिनेतको अनुमान सजिलै गर्न सकिन्छ। “पुराना एक पंक्तिको पनि कति ठूलो महत्व हुन्छ भन्ने बुझेका कमलबाबुले त्यो काम गरे”, राष्ट्रकवि माधवप्रसाद घिमिरे भन्छन्, “त्यस्ता चिज राख्न उनले 'बुइँगल' बनाए।”

मदन पुरस्कार गुठी, मदन पुरस्कार पुस्तकालय र जगदम्बा प्रकाशनका माध्यमबाट नेपाली भाषा–साहित्यका अरूका आँखा नपरेका महत्वपूर्ण कामहरू गर्दै, गुमनाम लेखकहरूलाई समाजमा चिनाउँदै आएका कदीले सरकार जोडिएको साझा प्रकाशनलाई पनि स्रष्टाहरूको साझा थलोका रूपमा उभ्याए। २०२१ सालमा साझा प्रकाशन स्थापना भएसँगै सञ्चालक समिति सदस्य बनेका उनी २०२३ देखि २०३१ सम्म अध्यक्ष रहे। त्यही समयमा देशका ठूला साहित्यकारका कालजयी कृति प्रकाशन गरिए।

कदीको कार्यकालमा साझाबाट २५० भन्दा बढी शीर्षकमा साहित्यिक कृतिहरू आए। त्यहीभित्र पर्छन्, महाकवि लक्ष्मीप्रसाद देवकोटाको लुनी, सुनको बिहान, गाइने गीत, सीताहरण, लक्ष्मी निबन्ध संग्रह, चम्पा, वनकुसुम, दुष्यन्त शकुन्तला भेट, भिखारी, कुञ्जिनी, सावित्री, सत्यवान लगायतका पुस्तक। त्यस्तै, बालकृष्ण समका प्रेमपिण्ड, चिसो चुल्हो, प्रह्लाद, अन्धवेग, मोतीराम, नियमित आकस्मिकता, ऊ मरेकी छैन पनि त्यही अवधिमा लगातार प्रकाशित भए।

भूपि शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे, गोपालप्रसाद रिमालको आमाको सपना र मसान, गोविन्दबहादुर गोठालेको पल्लो घरको झयाल र भुसको आगो, हृदयचन्द्रसिंह प्रधानको एक चिहान, ताना शर्माको बेलायततिर बरालिंदा, इन्द्रबहादुर राईको आज रमिता छ, ईश्वर बल्लभको आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन् पनि कदीकै कार्यकालमा साझाबाट प्रकाशित भए। साझा कविता, साझा निबन्ध लगायतका उम्दा कृतिहरू प्रकाशनको लागि अध्यक्ष कदीसँग काम गरेका प्राध्यापक चूडामणि बन्धु साझाले चर्चित कृतिहरूको दोस्रो संस्करण निकाल्ने चलन त्यही बेला चलाएको बताउँछन्।

साझ्ाबाट साततिर छरिएका कविताहरू खोजखाज गरेर घुम्ने मेचमाथि अन्धो मान्छे प्रकाशन मात्रै भएन, २०२६ सालमा कदीकै पहलमा स्थापना भएको पहिलो साझा पुरस्कार पनि पाए, त्यसका स्रष्टा भूपिले। मदन पुरस्कार गुठीको सदस्य सचिव भए पनि कदीले राम्रा स्रष्टाहरूको हौसला बढाउन साझामा 'साझा पुरस्कार' को स्थापना गरेका थिए।

पारिजातको महत्वहीन, डायमनशमशेर राणाको सेतो बाघ, विजय मल्लको बौलाहा काजीको सपना, दौलतबिक्रम बिष्टको चपाइएका अनुहार, सिद्धिचरण श्रेष्ठको मेरो प्यारो ओखलढुङ्गा र बैरागी काइँलाको बैरागी काइँलाका कविताहरू कदीकै समयमा साझ्ाबाट प्रकाशित भएका बहुचर्चित कृतिहरू हुन्। ती कृतिहरूले सम्बन्धित स्रष्टाहरूलाई चिनायो।

कदीको समयमा साझाबाट तत्कालीन व्यवस्था विरुद्ध आगो ओकलेका कृतिहरू पनि आए। तिनैमध्येको एक हो, वैरागी काइँलाका कविताहरू। त्यसमा संग्रहित कविता 'मातेको मान्छेको भाषणः मध्यरातपछिको सडकसित'। “कमलमणिजीकै कारण त्यस बखत सरकारी प्रकाशनगृहबाट सरकार विरोधी मेरो कविता संग्रह निस्क्यो”, कवि काइँला भन्छन्, “र, त्यसले मलाई स्थापित गर्‍यो, मजस्ता अरू पनि छन्।”

comments powered by Disqus

रमझम