२-८ माघ २०७३ | 15-21 January 2016

चित्रकलाको उज्यालो

Share:
  

कला भ्वाइस/इशान परियार
ललितपुर, भैंसेपाटीकी विद्या उप्रेतीले सात वर्षअघि घर सजावटको लागि इन्टेरियर डिजाइनरसँग सम्पर्क गरिन्। डिजाइनरकै सल्लाहमा घर सुन्दर बनाउन पेन्टिङलाई पनि महत्व दिइन्। उनले दुई वटा ठूला पेन्टिङलाई फेमिली रुम र डाइनिङ रुममा राखेकी छिन् भने साना साइजका पेन्टिङ बेडरुममा। “पेन्टिङ विना त घर नै राम्रो देखिन्न जस्तो लाग्छ”, उनी भन्छिन्।

पोष्टर तथा फोटो फ्रेमहरुले घर सजाउने प्रचलनलाई पेन्टिङले विस्थापित गरिरहेको चित्रकार दुर्गा बराल (वात्स्यायन) को अनुभव छ। तर, एक दशकअघिसम्म यस्तो अवस्था थिएन। नेपाली कलाकारका अधिकांश चित्रकलाका खरीदकर्ता विदेशी नै हुन्थे। चित्रकला “मायाको चिनो' मा सीमित थियो।

पहिले सौखिन र कलामा झुकाव भएकाले मात्र पेन्टिङ रोज्ने गरेको तर अहिले सर्वसाधारणले पनि चाख दिन थालेको बराल बताउँछन्। “पेन्टिङ महङ्गो रचना हो, सबैले किन्ने आँट गर्दैनथे तर अहिले सबैमा रुचि बढ्दो छ”, उनी भन्छन्। उनको भनाइमा, अमूर्त चित्र तथा क्यानभासहरु सजिलै नबुझिने हुँदा दृश्यचित्र विशेषगरी गाउँघर, ठाउँ, मानिसको जीवनशैली र संस्कृति पस्किएका चित्र रोजाइमा पर्ने गरेका छन्। रुचि र रंग संयोजन अनुसारका चित्र छान्नेहरु पनि छन्।

कहाँ र कसरी राख्ने?

भित्तामा आकर्षक रङ लगाएर खाली छाड्नुभन्दा पेन्टिङ राख्ने प्रचलन बढेको इन्टेरियर डिजाइनर कल्पना भट्टचन बताउँछिन्। पेन्टिङ इन्टेरियर डिजाइनिङको महत्वपूर्ण अंग भएको बताउँदै उनी भन्छिन्, “अहिले त पेन्टिङ नभएका नयाँ घर भेट्न मुश्किल पर्छ, पेन्टिङ विना इन्टेरियर डिजाइन नै पूर्ण हुँदैन।”

गोपेन राई

पेन्टिङ राख्दा सुरक्षित होस् र भित्तामा पनि क्षति नपुगोस् भन्नेमा विशेष ध्यान दिनुपर्छ। पेन्टिङ राख्ने ठाउँको छनोट गरी झुण्ड्याउनको लागि आवश्यक सामग्री छान्नुपर्छ। तार, हुक तथा किला केमा अड्याएर राख्ने हो सोही अनुसार भित्तामा प्वाल पार्नुपर्छ।

पेन्टिङ राख्नुअघि आकार अनुसार ठाउँ छनोट गर्नुपर्ने भट्टचनको सुझ्ााव छ। उनी प्रायः भित्ताको बीच आँखाको सीधा अर्थात् 'आई लेभल' मा पर्ने गरी राखिएका पेन्टिङ सुन्दर देखिने बताउँछिन्। भित्ता फराकिलो भए आर्ट ग्यालरी नै बनाउन पनि सकिन्छ। ग्यालरी तथा समूहमा राख्नको लागि भने उस्तै आकारका पेन्टिङहरु समान खाली ठाउँ (स्पेस) छाडेर राख्नुपर्छ। एउटै थिम र उस्तै प्रकारका रङहरुको संयोजन पनि गर्न सकिन्छ।

भित्ता तथा फ्लोरिङसँगै कोठामा प्रयोग भएका फर्निचरहरुसँग समेत मिल्दोजुल्दो आकारप्रकारको पेन्टिङ छनोट गर्नु राम्रो मानिन्छ। घरमा राखिने पेन्टिङले बस्नेको मनोभाव पनि अभिव्यक्त हुन दिनुपर्ने भट्टचनको भनाइ छ।

पेन्टिङको सजावटलाई थप आकर्षक बनाउन प्रकाश संयोजनमा विशेष ध्यान दिनुपर्छ। फोकस तथा स्पट लाइटले हाईलाइट गर्नुपर्ने पेन्टिङलाई भने सोही अनुसारको लाइटको व्यवस्था गर्नुपर्छ। सिसाको फ्रेममा राखिएका पेन्टिङमा रिफ्लेक्सन हुने हुँदा बत्तीलाई छड्के पारेर राख्नुपर्ने चित्रकार बराल बताउँछन्।

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम