२-८ माघ २०७३ | 15-21 January 2016

हाँक र हौसलाको परिणाम

Share:
  

नेपाल विविधताले भरिएको छ। यहाँ विभिन्न परम्परा र संस्कारहरू हुर्किएका छन्। विगतमा एकतन्त्रीय शासन पद्धतिले विविधताको सुवासलाई कुल्चने प्रयत्न गर्‍यो। एउटै भाषा, एउटै संस्कृतिको यतिविघ्न राग अलापियो कि बाँकीका बहुल संस्कृतिहरू ओझेलमा परे। तिनले नेपालको राष्ट्रिय चिनारीमा ठाउँ पाउन सकेनन्। पछिल्लो समयमा सामुदायिक चेतना फैलँदै जाँदा 'स्व' को खोजी बाक्लिंदै गएको छ।

नेपालमा आत्मसात् गरिएका सबै संस्कार र संस्कृति नेपाली हुन् भन्ने फराकिलो बुझाइ बन्दै आएको छ। जसले गर्दा एउटा संस्कृतिले अर्को संस्कृतिबाट परिचित हुने, तिनीहरूमाझ साझापनको पहिचान गर्ने र समग्रमा विविध संस्कृतिलाई सगोलमा नेपालको सांस्कृतिक परिवार मान्ने अभ्यास बाक्लिंदै गएको छ। यसको प्रभाव नेपालको राजनीतिमा पनि परेको छ।

पुस्तक मुन्दुम होसुङ

सम्पादक भोगीराज चाम्लिङ

प्रकाशक किरात राई चाम्लिङ खाम्बातिम

पृष्ठ ३४४+१०,

मूल्य रु.३५०

मुन्दुम होसुङ को प्रकाशन यस्तै प्रयत्नको उपज हो। किरात राई चाम्लिङ खाम्बातिम केन्द्रीय कार्यसमितिबाट प्रकाशित यस पुस्तकका सम्पादक भोगीराज चाम्लिङ हुन् भने संकलक ज्ञावनशेर राई र विश्वराम राई। किरात मुन्दुम (दर्शन) अनुसन्धान तथा अभिलेखीकरण समितिका लागि जयकुमार राईले संयोजन गरेका छन्। उदयपुर जिल्लाको बलम्ता र ताम्लिछा क्षेत्रलाई केन्द्र बनाएर मुन्दुम संकलन गरिएको छ। चाम्लिङ राईहरूको सघन बसोबास रहेको क्षेत्र विशेषबाट लोकजीवनमा व्याप्त संस्कारहरूलाई संकलन गरी मोटै पुस्तक तयार पारिएको छ। मौखिक रुपमा मात्र रहेको किरातीहरूको अमूल्य बौद्धिक सम्पदाको अभिलेखीकरण हुनु भनेको नेपालको एउटा महत्वपूर्ण संस्कृति जोगाउने यत्न हुनु हो। जातीय मौलिक संस्कार–संस्कृति संकलन तथा लेखन आफैंमा चुनौतीपूर्ण कार्य हो। संस्कृति संरक्षणको आवश्यकता महसूस गर्ने चेतना विना यत्रो काम हुन सक्तैन।

मुन्दुम भनेको किरात संस्कृतिहरूको महागाथा हो। यस पुस्तकमा किरात राईहरूले गर्भावस्थादेखि मृत्युसम्म गर्ने ९ वटा संस्कारसँग सम्बन्धित मुन्दुम संकलन गरिएको छ। यसमध्येका कतिपय मुन्दुम, नछुङ (धामी) ले मात्र गाउँछन् भने कतिपय समाजका बुढापाकाहरूले संस्कार गर्दा बयान गर्छन्। पुस्तकभित्र सदियौंदेखि पुस्ता दर पुस्ता मौखिक रुपमा हस्तान्तरण भइराखेको किरात मुन्दुम संस्कार–संस्कृति समेटिएको छ। बोलीचाली परम्पराबाट हराउँदै गएका संस्कृति संरक्षण गर्नु भनेको नेपालको विपुल सांस्कृतिक सम्पदालाई जोगाउनु हो।

लोककण्ठमा ज्यूँदो रहने सामूहिक सांस्कृतिक स्मृतिलाई अर्को पुस्तामा हस्तान्तरण गर्ने प्रवृत्ति अरु समुदायमा पनि पाइन्छ। तर बदलिंदो सामाजिक बनोट, फेरिंदो जीवनशैली र मूल थलोबाट भएको पलायनले गर्दा हस्तान्तरण प्रक्रिया सबै समुदायका लागि दुष्कर हुँदै गएको छ। त्यस अर्थमा पनि यस पुस्तकको महत्व तथा उपयोगिता देखिन्छ। किरात समुदायभित्रका राई, लिम्बू, सुनुवार, कुलुङ, याख्खा आदिले आ–आफ्नो भाषिक विविधता अनुसार मुन्धुम/मुक्दुम/मुग्दुम/मुन्तुम/रिद्दुम/मुन्दुम जे भने पनि यसको मूल मर्म संस्कृति–परम्परालाई एक पछि अर्को पुस्तामा पुर्‍याउनु हो।

यस पुस्तकमा किरात मुन्दुमलाई चामलिङ, नेपाली र अंग्रेजी भाषामा लिपिबद्ध गरिएको छ। पुस्तकको प्रकाशन गर्नेहरूले 'नेपाली' शब्दको प्रयोग एउटा खास भाषाको निमित्त नगरेर साझा पदावलीको रुपमा गरेका छन्– खस नेपाली, चाम्लिङ नेपालीभन्दै। अहिलेसम्म नेपाली शब्दको प्रयोग 'खस' भाषाका निमित्त मात्र हुँदै आएकोमा यो पुस्तकले 'चाम्लिङ नेपाली' भनेर नेपाली दायरालाई बृहत् बनाउन खोजेको देखिन्छ।

पुस्तकले सम्बन्धित समुदायका संस्कृतिको जगेर्ना गरेकै हो, सँगसँगै अन्य भाषाका अनुसन्धानकर्मीहरूलाई समेत स्रोत सामग्रीको जोहो गरिदिएको छ। नेपालमा किरात र आर्यहरूको सांस्कृतिक आदानप्रदान तथा अन्तर्घुलनको पाटोलाई पनि यस पुस्तकभित्र भेट्टाउन सकिन्छ। खस नेपाली भाषाको प्रभाव र त्यसले किरात समाजमा पाएको स्वीकार्यताको पाटाहरू पनि प्रष्टिन्छन्, पुस्तकमा।

पुस्तकका रचनाकारहरूले आफ्ना कमजोरी र अपूर्णतालाई पनि उल्लेख गरिदिएर आलोचनाको ठाउँ मेटिदिएका छन्। प्रशस्त काम भएका भाषा–संस्कृतिमा त लोकजीवनका पक्षहरू केलाएर संकलन गर्नु कठिन नै हुन्छ भने भाषिक विविधता भएका तर, लेख्य साहित्यिक परम्परा नभएका समुदायका पवित्र संस्कारगीतहरू लिपिबद्ध गर्नु आफैंमा दुरुह काम हो।

पछिल्लो पुस्ताका सशक्त किरात अनुसन्धाता भोगीराज चाम्लिङको टीमले यो आँट गरेर नेपालको सांस्कृतिक उन्नयनमा अग्लोपन थपेको मान्नुपर्छ। यस अघि पनि मुन्दुमको एउटा ठेली (सृष्टि भाग–१) लिपिबद्ध गरिसकेको यो टीमले यस क्षेत्रमा अझ प्रशस्त काम गर्नुपर्छ, हाँक र हौसला स्वीकार्दै।

चन्द्रकिशोर

comments powered by Disqus

रमझम