२-८ माघ २०७३ | 15-21 January 2016

निरन्तरको निष्ठा

Share:
  

आफ्नो पाँच दशक लामो पत्रकारितामा मणिराज उपाध्यायले राष्ट्रियता, स्वाभिमान र सदाचारमा कहिल्यै सम्झौता गरेनन्। ९४ वर्षको उमेरमा २७ पुस निधन पूर्वसम्म पनि उनको यो जीवनदर्शन कायमै थियो।

८ फागुन २००७ मा प्रकाशन शुरु भएको आवाज दैनिक १०७औं अंक निस्केर बन्द भएपछि जनस्तरबाट प्रकाशित दैनिक पत्रिकाको अभाव खट्कियो। न्यूरोड टीमबाट फूटबल खेलिरहेका थिए, उपाध्याय। तर, पत्रकारिताप्रतिको उनको आकर्षण भने अनौठो थियो। त्यही आकर्षणले उनलाई दैनिक पत्रिका प्रकाशनतर्फ डोर्‍यायो। र, साथीहरुसँग मिलेर भदौ २०११ देखि समाज दैनिक शुरु गरे। अनुदार पञ्चायती व्यवस्थाको अवधिभर पत्रकारिता गरेका उपाध्यायले राष्ट्रियता, भ्रष्टाचारको विरोध र जनजीविकाका समस्यालाई निरन्तर उठाइरहे।

पत्रकार राजेन्द्र दाहालको भनाइमा, राजाप्रति निष्ठा राखे पनि उपाध्यायले पञ्चायतको वकालत कहिल्यै गरेनन्। बरु, २०३६ सालको जनमतसंग्रहका बेला उनी बहुदलका पक्षमा उभिए। “पञ्चायतसँग 'कन्फ्रन्टेशन' मा पनि जानु भएन, फाइदा पनि लिनु भएन”, दाहाल भन्छन्, “जबकि उहाँका थुप्रै समकालीनले पञ्चायतबाट प्रशस्त फाइदा उठाए।”

उपाध्याय सक्रिय रहँदासम्म प्रत्येक वर्ष सुस्ता पुग्ने र सीमा मिचिएको बारे समाचार लेख्ने गरेको २०४२–४५ सालमा समाज मा काम गरेका दाहाल स्मरण गर्छन्। “उहाँको पत्रकारिता सदाचार र निष्ठाको प्रतीक थियो” उनी भन्छन्,” “सम्पादकीय नीतिमा उहाँ स्पष्ट हुनुहुन्थ्यो, रिपोर्टरलाई पूर्ण स्वतन्त्रता दिनुहुन्थ्यो।”

समाजबाटै पत्रकारिता शुरु गरेका पत्रकार मोहन मैनाली पनि उपाध्यायलाई सम्पादकीय नीतिमा प्रष्ट र अडिग सम्पादक ठान्छन्। “राजाको बारेमा नलेख्नु तर, प्रमाण पुग्छ भने बाँकीलाई नछाड्नु भन्नुहुन्थ्यो”, मैनाली भन्छन्। मुलुकमा विदेशी हस्तक्षेपको आजको अवस्थाको चित्र उपाध्यायले २०४६ सालमै देखाएको पनि मैनाली बताउँछन्।

त्यसबेलाको पत्रकारिताको स्कूल नै थियो, समाज । र, त्यसका गुरु थिए, उपाध्याय। अधिकांश पत्रिका कि त पञ्चायतका मुखपत्र हुन्थे कि कुनै पार्टी वा निश्चित सिद्धान्तका पक्षधर। तर समाज ले भने यी दुवै धारबाट पृथक् पहिचान बनाएको मैनालीको धारणा छ।

त्यसबेलाका मन्त्री र उच्चपदस्थ पदाधिकारीहरुले गरेका भ्रष्टाचारबारे निडर भएर लेख्ने उपाध्यायलाई थुप्रै प्रलोभन दिइए पनि उनले कहिल्यै सम्झ्ाौता नगरेको दाहालको अनुभव छ। जस्तो कि, २०४३ सालमा कृषि मन्त्रालयले पम्पसेटलगायतका यन्त्रमा कृषकलाई दिएको अनुदानमा व्यापक भ्रष्टाचार भएकोबारे शृंखलाबद्ध समाचार छापिंदा उपाध्यायलाई मन्त्रीस्तरबाटै थुप्रै 'अफर' आएको उनी बताउँछन्। दाहाल आफ्ना पूर्व सम्पादकलाई पत्रकारिताका माध्यमबाट राज्य र समाजलाई निरन्तर घच्घच्याइरहने सदाचारी पत्रकारका रुपमा स्मरण गर्छन्।

२०११ सालदेखि २०५२ सम्म समाज का सम्पादक रहेका उपाध्यायले २०४३–४६ सालसम्म नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ) लाई नेतृत्वसमेत प्रदान गरेका थिए।

सञ्जीव शर्मा


मजदूर रंगकर्मी

नाटक खेल्दैछु! उनले भने। सोधें, आफ्नै? हैन, सत्यमोहन सरको 'याज्ञवल्क्य!' २२ गतेको जुलूसमा हिंड्नचाहिं अलि सक्दिनँ कि!

मैले भनें– हिंड्नु पर्दैन, चिन्ता नलिनुस्। त्यस दिन धेरै मानिस आउनेवाला छन्।
हैन, हैन उपस्थिति जनाउन त आइहाल्छु नि! हिंड्नचाहिं अलि सक्दिनँ भनेको पो त!

१७ पुसमा यति मजाले कुरा गरेका विष्णुभक्त फुँयाल (७९) त्यसको दुई दिन पछि रहेनन्। १९ पुसमा राष्ट्रिय नाचघरमा भइरहेको नाटकमा अभिनय गर्दागर्दै बेहोस भएका फुँयालको सोही दिन निधन भयो।

दर्शकमाझ्ा लोकप्रिय कलाकार र रंगकर्मीको परिचय बनाएका फुँयाललाई हामी जिफन्टवालाहरू भने वरिष्ठ ट्रेड युनियनकर्मीको रूपमा चिन्दथ्यौं। २०३५/३६ सालको मजदूर आन्दोलनबाट स्थापित नेपाल स्वतन्त्र मजदूर युनियनको स्थानीय इकाई हुँदै २०५० को दशकबाट नेपाल स्वतन्त्र कार्पेट मजदूर युनियनको केन्द्रीय नेता र २०५४ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका–६ का वडा सदस्यमा निर्वाचित उनी पछिल्लो समय जिफन्टको वरिष्ठ युनियनकर्मी सञ्जालका सदस्य थिए।

हामीले जिफन्टको नियमित ट्रेड युनियन स्कूलमा एकदिन उनलाई बोलायौं। क्यामेरा 'अन' गर्‍यौं र दिल खोलेर आफ्ना कुरा भन्न आग्रह गर्‍यौं। उनले प्रश्न गरे– यो सब केका लागि कमरेड?

हामीले भन्यौं– यी सब हाम्रा लागि! भावी पुस्ताको जानकारीका लागि। किनकि तपाईंको जीवन, “जीवन–सङ्घर्ष–युनियनकर्म” को रंगमञ्च हो र तपाईं स्वयंचाहिं जीवन्त पे्रक्षालय हो। शायद उनले रमाइलो माने। उनी भन्दै गए, हामी सुन्दै गयौं।

“मैले तपाईंहरूलाई आफ्नो परिवारको बारेमा बताइनँ क्यारे। मेरी श्रीमती २०४५ सालमै बितिन्, तीन छोराहरू छन्। म भन्दा अब्बल! पढे लेखेका। खुशी लाग्छ– म पढ्न नपाएको मानिसका नाति/नातिना पनि विदेशमा पढ्छन्।”

उनी शुरु भए, ८–९ वर्षको उमेरबाट। अडिए– बाइरोडको बाटोमा! एक दिन पढ्न जाँदा धनीको छोरोको सिको गर्दै किन पढ्न गएको भन्दै घरमा गाली खाएको पनि सम्झ्िाए। १५ वर्षको उमेरमै बाइरोडको बाटो (कान्ति राजपथ) बनाउन मकवानपुरको चुने बगर पुगे। १५ वर्षकै उमेरमा काम गर्न कलकत्ता हान्निए। “कलकत्तामा मैले के के गरें नसोध्नुस्। एउटै राम्रो कुरा, कुकको काम जानें। दुनियाँको भिन्न पाटो देखें”, उनले भनेका थिए।

त्यसैको आडमा काठमाडौं फर्किएर रोयल होटलको मसाल्चीको काम पाए। २०१६ सालमै होटल मजदूरहरूले शुरु गरेको 'सेवा शुल्कको आन्दोलन' सम्झ्िाए। त्यही वर्ष 'होटल पारिश्रमिक संघ' सँग जोडिए।

२०२० सालमा शंकर होटलमा किचनमा काम शुरु गरेका उनीसँग कामसँगै आन्दोलनका अनेक अनुभव छन्। 'भ्वय् फ्वगिं (भोज मागेर खाने मान्छे)' भनेर हेपेकालाई पिटेको सम्झना पनि छ। शंकरपछि इन्दिरा रेस्टुराँ, तत्कालीन शाही नेपाल वायुसेवा निगम, लोत्से होटल, तारागाउँ रिजेन्सी, अन्नपूर्ण होटलका तितामीठाका प्रसंग थुप्रै छन्।

“२०४० मा अहिलेका सांसद् विनोद श्रेष्ठमार्फत नेस्वमयूको सांस्कृतिक परिवारमा जोडिएँ। २०४२ पछि नाटक लेख्ने, नाटक खेल्ने गर्न थालें। सँगसँगै युनियनमा साथीहरू संगठित गर्ने जिम्मा पनि पाएँ”, उनले आफ्नो कथा सुनाउँदै गए, “नेस्वमयूमा 'टि्रक–ट्याक्टिस' हुन थालेपछि म विस्तारै नाटक खेल्ने बहानामा पाखा लागें।”

२०४६ सालमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बन्यो। त्यसको केही वर्षपछि उनी कार्पेट क्षेत्रमा गए। कार्पेटतर्फको युनियनमा सीधै केन्द्रीय उपाध्यक्ष बने। “कार्पेटमा चाहिं युनियनको लागि पैसा पनि कमाइयो, खूबै नाटक खेलियो”, उनले सुनाएका थिए।

के तपाईं अहिलेको परिवर्तनप्रति सन्तुष्ट हुनुहुन्छ? फुँयाल कतै पनि असन्तुष्ट देखिएनन्। “किन नहुने? परिवर्तन साना साना कुरामा हेरौं न। मलाई होटलमा सेफ नेपाली भए कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो। अहिले अधिकांश ठूला होटलमा नेपाली नै सेफ छन्। मजदूर युनियनको आफ्नै घर होस् भन्ने लाग्थ्यो। जिफन्टको विशाल घर बन्यो।” जिफन्टको मनमोहन मजदूर भवनको एउटा कोठा नाटक घर होस् भन्ने पनि उनको इच्छा रहेछ। त्यो इच्छा पूरा गराउन नपाएकोमा मलाई दुःख लागिरहेको छ।

कन्फ्युसियस भन्थे– जिन्दगी वास्तवमै सरल छ, तर हामी यसलाई जबर्जस्ती जटिल बनाउँछौं। फुँयाल पनि जिन्दगीका घुमाउरो कुइनेटाहरूलाई सीधा रेखामा अर्थ्याउनुहुन्थ्यो।

२०७२ सालको राष्ट्रिय प्रतिभा पुरस्कार विजेता यी अग्ला कलाकारबारे नेपाली आमसञ्चारले जीवित रहुञ्जेल गतिलो स्थान दिन सकेन। किन? जवाफ खोजिरहेको छु।

विष्णु रिमाल

comments powered by Disqus

रमझम