नेपालीले बनाएको र पाएको

Share:
  
- कनक दीक्षित

वैशाखमा हुनलागेको संयुक्त राष्ट्रसंघका महासचिव बान कि–मुनको भ्रमण स्थगित भएकोमा ठूलै आरोपको सुनामी खेप्नु प/यो— कुलचन्द्र गौतम, सुबोधराज प्याकुरेल र यो स्तम्भकारले । बानको नेपाल भ्रमणको औचित्यबारे अन्यत्र छलफल भइसकेकाले यहाँ खाली लुम्बिनीको स्वामित्वबाट नेपालले कति राष्ट्रवादी गर्व गर्ने भन्नेबारे चर्चा गर्छु ।

लुम्बिनीमा नेपालको पूर्ण स्वामित्व छ । सम्राट अशोकले २३०० वर्षअघि ‘लुम्बिनी ग्रामे’मा आएर पाली भाषा, ब्राह्मीलिपिमा यो कुरा प्रष्ट लेखिदिएका छन् । इतिहासका पानामा दक्षिण एशियामै पहिलो नामकरण गरिएको त्यो गाउँ समयक्रममा खण्डहर र जङ्गलमा परिणत भयो र बडाहाकिम खड्गशमशेरको उत्खनन्पछि फेरि संसारसामु पेश भयो । सौभाग्यवश यो क्षेत्र सेन राज्य हुँदै नेपालको भूभागमा पर्न गयो ।

बान कि–मुन वैशाखमै नेपाल नआउँदा नेपालको राष्ट्र गौरवमै आँच आएको ठानिनु र शान्ति प्रक्रिया नटुंगिएको सन्दर्भमा उनी आउँदा ठीक सन्देश जाँदैन भन्नेहरूलाई ‘अराष्ट्रियतत्व’ सम्मको संज्ञा दिनु पछाडि तीनथरी मानसिकताले काम गरेको छ— लुम्बिनीको इतिहासबारे ज्ञानको कमी र भारतले चाहेर पनि लुम्बिनीलाई ‘आफ्नो’ भन्न सक्दैन भन्ने आत्मविश्वासको अभाव हुनु; लुम्बिनीको अर्थ र गरिमा नबुझनु; र, अध्यात्म र धर्म नभई उग्र–राष्ट्रवादको आँखाले लुम्बिनीलाई हेर्नु । सतही राष्ट्रवादले नेपालको गौरव र लुम्बिनीको अर्थ बुझन सक्दैन, र लुम्बिनी नेपालमा हुनुलाई नै आफ्नो कीर्तिको उपज ठान्दछ । मानौं, लुम्बिनी हामीले नै बनाएको हो; न कि इतिहासले हामीलाई सुम्पेको, जसको हामीले फाइदा लिन, गर्व गर्न र विश्वको नासोको रूपमा संरक्षण गर्न सकौं ।

आफूले धेरै कुरा बनाउन नसकेकोमा हामी नेपालीलाई हीनताबोध भएको हुनुपर्दछ, त्यसैले इतिहास, भूगोल र भूगर्भले सुम्पेका स्थल अथवा वस्तुलाई लिएर हामी धेरै गर्व गर्दछौं । लुम्बिनी मानव इतिहासले हामीलाई सुम्पेको हो, सगरमाथाको उचाइ अर्बा वर्षअघि उपमहाद्वीपीय चट्टानी ‘प्लेट’ले एशियाली प्लेटलाई ठक्कर दिँदा माथि उठेको हो । सगरमाथाको दक्षिणी मोहडा नेपाली भूभागमा पर्दछ भने हामीले यसबाट सन्तुष्टि लिनुपर्दछ; यसको सांस्कृतिक, आर्थिक, पर्यटकीय फाइदा उठाउनुपर्दछ । हाम्रो आफ्नो सीप, शिल्प, दिमागको प्रयोग विना संयोगले हात परेको वस्तु वा क्षेत्रलाई हो न हो आफैंले आविष्कार गरे जस्तो गरेर उग्रराष्ट्रवादी अहंकार प्रदर्शन गर्नु शरमको कुरा हो ।

हामीले गर्व गर्ने त्यो कुरामा हो, जसमा हामीमध्ये कसैको अथवा नेपाल राज्य बनेदेखिका हाम्रा पूर्वजको संलग्नता छ । दिमागको खेल, हातको सीप र समुदायको उत्पत्तिका क्रममा अगाडि आएका मौलिक रीतिरिवाज वा चालचलनलाई वास्तविक रूपमा ‘नेपालमा बनेको’ भन्न मिल्छ । यस अर्थमा लुम्बिनी र सगरमाथा/चोमोलोङ्मा ‘नेपालले पाएको’ हो । त्यसैले यिनबारे हाम्रो धारणा अहङ्कारी राष्ट्रवाद भन्दा पनि उत्तरदायित्वबोध र सन्तुष्टिको हुनुपर्दछ । दायित्वको कुरा गर्दा भगवान बुद्धको जन्मथलोलाई विकृत हुन नदिनु र हाम्रोपट्टिको सगरमाथाको मोहडालाई वातावरणीय प्रदूषणबाट बचाउनु हाम्रो अठोट हुनुपर्दछ ।

नेपालीले बनाएको सबैभन्दा सुन्दर ‘वस्तु’ नेपाल हो । अरूहरूले समथरमा उपनिवेश बनाए, मूलतः बन्दूकको भरमा । पृथ्वीनारायणले संसारकै सबैभन्दा विकट भूगोलमा त्यो पनि पूर्व–पश्चिम फैलिएको राष्ट्र–राज्य निर्माण गरे, जबकि युरोपमै पनि पहिलो पटक त्यही बेला ‘नेशन–स्टेट’ को खाका बन्दैथियो । पृथ्वीनारायणले बन्दूकको प्रयोग त गरे तर त्यसका साथै कूटनीति, पारिवारिक सम्बन्ध, रणनीतिक चातुर्य आदिको पनि उपयोग गरे । दक्षिण एशियाको सबैभन्दा पुरानो राष्ट्र–राज्य हुन पुग्यो हाम्रो नेपाल । इतिहासकालमा नेपाली हुनुको फाइदा मुलुकवासीले भोग गर्न पाएनन्, तर आधुनिक युगमा लोकतन्त्रले समावेशी समृद्धिको ढोका खोलिदिएको छ, दक्षिण एशियाको कुनै पनि कुनाभन्दा बढी सम्भावना नेपालको छ । नेपाल राज्यले यसरी ढिलै भए पनि भविष्य निर्माणको सम्भावना दिलाएको न ऐतिहासिक संयोगले हो, न त कुनै प्राकृतिक प्रक्रियाले । यो त थियो, एउटा नेपाली नागरिक पृथ्वीनारायणको कर्मको उपज ।

मिश्रित बसोबास भएको नेपाली गाउँघरमा ऐतिहासिक कालदेखि प्राकृतिक स्रोतसाधनको संरक्षण–उपयोगमा संसारमै उत्कृष्ट सामुदायिक सहकार्य हुँदैआएको छ । सिंचाइ, गाउँघर व्यवस्थापन वा सामुदायिक वनमा नेपाली नागरिकहरूको सहकार्य उत्कृष्ट छ । यसै क्षेत्रको अनुसन्धानको आडमा समाजशास्त्री एलिनर अस्ट्रम्लाई सन् २०१० को अर्थशास्त्रको नोबल पुरस्कार प्राप्त भयो । नेपाली समुदायको यो विशेष सहभागितामूलक क्षमता एउटा व्यक्तिको नभई पुस्तौंपुस्ताको योगदानको मानव आविष्कार हो । यस्तो आविष्कारको राष्ट्रिय उपलब्धि भनेर सगर्व प्रचार गर्न सकिन्छ । नेपाल बनेपछिको कसैको हातको करामत, दिमागको वैचारिक योगदान र पुस्तौंपुस्ताको उत्पादन, सबैप्रति नेपालीको नाताले गर्व गर्न कसले रोक्ने ? नेपाल बन्नुअघिको केही आर्जन छ भने दक्षिण एशियाली, एशियाली या विश्ववासीको रूपमा गर्व गरे वा सन्तुष्टि लिए भयो ।

मन्दिरहरूको शिखर शैली गंगा मैदानबाट नेपाल आयो, तर काठमाडौं उपत्यकाको प्यागोडा शैलीको मन्दिर अनि झिगटीका छाना, ढुंगेधारा हाम्रा पुर्खाको आविष्कार हुन् । यस्तै लिच्छवि र मल्लकालीन काठ, ढुंगा र ढलोटका मूर्ति हाम्रो मौलिकता र पहिचान भएको सम्पदा हुन् । खुकुरीको विशेष आकारमा विज्ञान झ्ल्कन्छ । यो पनि नेपाली सीप र हातको आविष्कार हो ।

इतिहासका धेरै कुरालाई हामी आफ्नो भनेर गर्व गर्न सक्छौं भने तीन शताब्दी भयो, नेपालबाट आफ्नै लागि या संसारको लागि हामीले धेरै कुरा दिनसकेका छैनौं । बन्द समाज, अधिनायकवाद र अस्थिरताले आजैसम्म पनि हाम्रो अध्ययन, समाजशास्त्रीय चिन्तन सबै कुरालाई हिर्काएको छ । कहिले राणाकाल, कहिले पञ्चायतकाल, कहिले ‘जनयुद्ध’ काल सबैले नेपाली ‘जिनियस’ लाई छेकिदिए, र हामी विना चमत्कार, विना आविष्कार गिनिज बूक, परापूर्व इतिहास तथा भूगोलको भरमा आफ्नो राष्ट्रिय पहिचान बनाउन लागि प/यौं ।

जब ढिलै भए पनि शान्ति छाउँछ र लोकतन्त्रले जरा गाड्छ, त्यतिबेला समृद्धिले खुट्टा टेक्ने ठाउँ पाउँछ, पठनपाठन अघि बढ्छ र सिर्जना र आविष्कारको आनन्ददायी सुनामी आउनेछ । त्यतिबेला हामी आफूले पाएकोमा होइन बनाएकोमा गर्व गर्न थाल्नेछौं ।

comments powered by Disqus

रमझम