मेड इन नेपाल

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
सगरमाथा, गौतम बुद्ध जस्ता नामहरु नेपाललाई विश्वव्यापी रूपमा चिनाउने सुविख्यात ‘आईकन’हरु हुन् । परम्परागत यी चिनारीहरुसंगै अहिले आएर धमाधम नेपाली उत्पादनका ‘ब्राण्ड’हरू पनि स्थापित हुदैछन् ।

मेड इन नेपाल

सगरमाथा, गौतम बुद्ध जस्ता नामहरु नेपाललाई विश्वव्यापी रूपमा चिनाउने सुविख्यात ‘आईकन’हरु हुन् । परम्परागत यी चिनारीहरुसंगै अहिले आएर धमाधम नेपाली उत्पादनका ‘ब्राण्ड’हरू पनि स्थापित हुदैछन् ।

तस्बीरः अनुप प्रकाश, मोडलः रिमा विश्वकर्मा मोडल, श्रोतः द र्या‍‍म्प, पुतलीसडक, मेकअपः निमा लामा, पहिरनः शेर्पा एडभेञ्चर गियर
‘मेड इन नेपाल’ अर्थात् नेपालमा बनेको भन्ने ट्याग बोकेका उत्पादनहरूको सूची लम्बिरहेको छ । तीमध्ये धेरैले नेपाली जनमनमा जमेर अन्तर्राष्ट्रिय बजारमा समेत खुट्टा टेकेका छन् भने केही अन्तर्राष्ट्रिय ब्राण्डकै रूपमा स्थापित भएका छन् । उच्च गुणस्तर र विश्वसनीयताकै कारण अन्तर्राष्ट्रिय बजारमा ‘मेड इन नेपाल’ जम्न थालेको हो । हाम्रा उत्पादनहरू एशियादेखि यूरोप, अमेरिका र अष्ट्रेलियासम्म लोकप्रिय छन् ।

विश्व मानचित्रमा सर्वोच्च शिखर सगरमाथा भएको हिमाली देश, विश्वभर शान्तिको सन्देश फैलाउने गौतम बुद्धको जन्मभूमि हुनु पनि आफैंमा नेपालको ठूलै ‘ब्राण्ड’ हो । यी लगायत नेपाली जनजीवन, समाज, संस्कृति, भूगोलका अन्य कैयौं विशेषताका कारण पर्यटन क्षेत्रमा नेपालको अथाह संभावना छ । नेपाल भ्रमण वर्ष २०११, लुम्बिनी भ्रमण वर्ष २०१२ जस्ता कार्यक्रमले १० वर्ष लामो हिंसामा फसेको मुलुकलाई ‘रिब्राण्डिङ’ गर्न धेरथोर मद्दत पुगेको पनि छ । यसबाहेक, गोर्खा सैनिकको छवि तिनले प्रयोग गर्ने खुकुरी र नेपालीहरूको निश्छल मुस्कान संसारभर बनिसकेको ‘ब्राण्ड’ हो । यो ब्राण्डले सैन्य सेवा, होटल, नर्सिङ लगायतका क्षेत्रको विश्व श्रमबजारमा जाने नेपालीहरूलाई सजिलो बनाएको छ । नेपालले सेवा र उत्पादन दुवै क्षेत्रको विश्व बजारमा मौलिक ब्राण्ड स्थापना गर्ने प्रशस्तै सम्भावना छ । प्रधानमन्त्री बाबुराम भट्टराईका आर्थिक सल्लाहकार तथा पूर्व अर्थ सचिव रामेश्वर खनाल आन्तरिक खपत जति बढ्यो उति विकास हुने र गुणस्तरीय उत्पादन बढेपछि निर्यात पनि स्वतः बढ्ने बताउँछन् ।

नेपाली गलैंचा, पस्मिना, मूर्ति, चाँदीका भाँडाकुडा लगायतका हस्तकलाका सामान विश्वव्यापी रूपमा लोकप्रिय छन् । नेपालबाट विश्वका ८० भन्दा बढी देशमा वार्षिक रु.७ अर्बभन्दा बढीको ४२ प्रकारका हस्तकलाका सामान निर्यात हुन्छन् । रु.३ अर्ब ५० करोडको आन्तरिक बजार रहेको नेपाली चाउचाउ अन्तर्राष्ट्रिय ब्राण्ड बनिसकेको छ । चौधरी ग्रुपको वाइवाइ चाउचाउ भारत हुँदै युरोप र अष्ट्रेलियासम्म पुगेको छ । रु.६ अर्बको आन्तरिक बजार रहेको जूसको उत्पादक डाबर नेपालले करीब रु.२ अर्बको निर्यात गरिरहेको छ । औषधीमा पनि स्वदेशी उत्पादनको हिस्सा ४२ प्रतिशत छ । नेपालबाट अर्ध–प्रशोधित कच्चा पदार्थ र तयारी वस्तुको रूपमा १६२ प्रकारका जडीबुटी विभिन्न देशमा निकासी भइरहेका छन् । यसमा राम्रोसँग ‘ब्राण्डिङ’ हुन भने बाँकी नै छ ।

सूर्य नेपाल र शेर्पा एडभेञ्चर गियर जस्ता तयारी पोशाक उत्पादकहरूले अन्तर्राष्ट्रिय ब्राण्ड बनाइसकेका छन् । पश्चिमा संसारमा नेपाली ‘क्रेजी ह्याट’ लोकप्रिय भएको डेढ दशक भइसकेको छ । भूटानमा खपत भइरहेको नेपालमा बनेको नीक ट्रान्सफर्मर यही सालबाट अरब र अफ्रिकासम्म पुग्दैछ । नेपाली चिया, कफी, अदुवा, अलैंची आदिलाई विश्व बजारले रुचाएको धेरै भइसक्यो । राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा ‘मेड इन नेपाल’ को विस्तारका कथा कम रोचक छैनन् (हे. रिपोर्ट र बक्सहरू) ।

नेपाली नै राम्रो

चाउचाउ, जूस, हस्तकला र तयारी पोशाकदेखि पदयात्रा र पर्वतारोहणमा चाहिने लत्ताकपडाका नेपाली उत्पादनले नेपाली र विदेशी उपभोक्ताको विश्वास जितिसकेका छन् । स्टीलका भाँडाकुडा, कर्कटपाता, बिजुलीका पोल, फलामे छड, सिमेन्ट, रङ लगायतका निर्माण सामग्रीदेखि प्लाष्टिकका सरसामानमा नेपाली उत्पादनकै दबदबा छ । आठ महिनाअघि ग्लोबल टेण्डर जितेका हुलास स्टिल्स र मैनावती स्टिल्स ले रु.१ अर्बभन्दा बढीको स्टीलको पोल भूटान निर्यात गरे । भूटानमा नेपाली ट्रान्सफर्मर र पोलसँगै तयारी चाउचाउ, जूस, धूप, साबुन, झेला आदिको माग पनि बढ्दो छ ।

५० वर्षअघि नेपाली बजारमा आएको हुलासका सामान सन् १९७० को दशकमा भारतीय बजारमा समेत लोकप्रिय थियो । गोल्छा अर्गनाइजेशनका निर्देशक शेखर गोल्छा आफ्ना बाबुबाजेले हुलास स्टील, हुलास वायर र हुलास का भाँडाकुडाबाटै यो ब्राण्ड स्थापित गरेको बताउँछन् । आज जूट, चिनी, खाद्यान्नदेखि गाडीसम्म आइपुग्दा ‘हुलास भए अरू किन खोज्ने’ भन्ने नारा सार्थक हुँदै गएको उनको भनाइ छ । गोल्छा समूहको नेपालमै ‘एसेम्बल’ गरेको गाडी मुस्ताङ म्याक्स् प्रधानमन्त्री बाबुराम भट्टराईले निजी सवारी बनाएपछि लोकप्रिय नेपाली ब्राण्ड बनेको छ ।

हिमाल, हेटौंडा, उदयपुर जस्ता सिमेन्टका पुराना ब्राण्डका ठाउँमा नयाँ ब्राण्ड आउने क्रम जारी छ । नेपाली सिमेन्ट उद्योगमा रु.१३ अर्बभन्दा बढीको लगानी छ । हाइड्रोपावर, रियल स्टेट र हाउजिङको आगमन तथा बढ्दो शहरीकरणसँगै विभिन्न सिमेन्ट कम्पनीका एक दर्जनभन्दा बढी ब्राण्ड नेपाली रोजाइको बनेका छन् । नेपालमा खपत हुने वार्षिक करीब ३० लाख टन सिमेन्टमध्ये ३० प्रतिशत भारतबाट आयात भइरहे पनि विस्तारै यो घटेको अनुमान छ । सिमेन्टका लागि चाहिने कच्चा पदार्थ चुनढुङ्गा, रातोमाटो र कोइला प्रशस्तै रहेकाले नेपालमा सिमेन्ट उद्योगको भविष्य राम्रो छ । नेपालमा एक अर्ब टनभन्दा बढीको चुनढुङ्गा भण्डार रहेको अनुसन्धानहरूले देखाएका छन् ।

जीआई (ग्याल्भनाइज्ड आइरन), पीपीआर (प्रोली प्रोपेलिन र्‍याण्डम), सीपीभीसी (क्लोरिनेटेड पोलिभिनाइल क्लोराइड), युपीभीसी (अन्प्लाष्टिसाइज्ड पोलिभिनाइल क्लोराइड), एचडीईपी (हाई डेन्सीटी पोलिथाइलिन) लगायतका पाइप र फिटिङ उत्पादनको बजार वार्षिक रु.१ अर्ब ५० करोड पुगेको छ । चीन र भारतबाट आयात हुने पीभीसी पाइप सस्तो भए पनि गुणस्तरको हिसाबले नेपाली उत्पादनकै माग बढिरहेको पञ्चकन्या ग्रुपका प्रमुख प्रदीप श्रेष्ठ बताउँछन् । टेलिकम्युनिकेशन, ढल, खानेपानी लगायतका विकास निर्माणका काममा खपत हुने यस्ता पाइपहरू पञ्चकन्या, नेपाटप, हिलटेक, हिलटप लगायतका एक दर्जन भन्दा बढी कम्पनीले उत्पादन गरिरहेका छन् ।

खाद्य पदार्थमा पनि धेरै नेपाली ब्राण्ड स्थापित भएका छन् । नेपालमा रु.२१ अर्ब बराबरको खानेतेलको बजार छ भने तोरी, सूर्यमुखी, भटमासका तेलका करीब दुई दर्जन नेपाली ब्राण्ड उपलब्ध छन् । धारा तोरीको तेल र आशीर्वाद आटा खाडी मुलुक कतारको बजारमा समेत पुगेका छन् । सेञ्चुरी मसलाको बजार अष्टे«लिया, क्यानडा, जापान र मध्यपूर्वसम्म फैलिएको उत्पादक मोती दुगड बताउँछन् । नेपाली बिस्कुटले पनि विदेशी ब्राण्डसँग खरो प्रतिस्पर्धा गरिरहेका छन् । रु.३ अर्ब जति लगानी भएको बिस्कुट उद्योगमा नेबिको, हुलास, पशुपति, क्वालिटी, बाबा धेरै रुचाइएका नाम हुन् । पोखराको जयमा लक्ष्मी कन्फेक्सनरीका ब्राण्डेड मिठाई देशभर लोकप्रिय छन् ।

नेपाली टूथपेष्ट बजारमा बहुराष्ट्रिय कम्पनी युनिलिभर र डाबर नेपाल भित्रिएपछि क्लोजअप, पेप्सोडेण्ट, बबुल, डाबर लाल जस्ता विदेशी ब्राण्ड नेपालमै उत्पादन हुन थालेका छन् । ब्राइटर नेपाल र आरबी ब्रश इण्डष्ट्रिजका उत्पादन ब्राइटर, पर्ल जेल, फ्रेसअप पनि विदेशी ब्राण्डसँगै रुचाईंदै आएका छन् । ठूलो प्रतिस्पर्धा भने युनिलिभर र डाबरबीच नै छ । सात समुन्द्रपारि फैलनेमा नेपालमा बनेका डटपेनहरू पनि छन् । २२ वर्षदेखि स्टार लाइन डटपेन उत्पादन गर्दै आएको पेपरमेट पेन इण्डष्ट्रिजका अशोक अग्रवाल आफ्नो उत्पादनको ५० प्रतिशत अष्ट्रेलिया, न्यूजिल्याण्ड, जापान, कोरिया र खाडी देशमा खपत भइरहेको बताउँछन् । वार्षिक तीन करोड जोडी जुत्ता खपत हुने नेपाली बजारको ४० प्रतिशत माग नेपाली उद्योगहरूबाटै पूरा हुने गरेको छ । शिखर शु, बीएफ डिएर हिल, लेदर विङ्स, फिटराइट, टाकुरा, जनता लगायतका जुत्ता उद्योगले बजारमा आफ्नै ब्राण्ड स्थापित गरेका छन् ।

दैनिक रु.२० करोडभन्दा बढीको कारोबार गर्ने सुन बजार र रु.६० लाख बराबरको कारोबार गर्ने हीरा बजारमा समेत ब्राण्डिङको प्रतिस्पर्धा छ । व्यापारीहरू गहनाको आफ्नै ब्राण्डिङमा ध्यान दिन थालेका छन् । रिद्धिसिद्धि ज्वेलर्सले दुई वर्षअघि हीराको गहनाको ऐश्वर्य र सात महिनाअघि सुनका गहनाको अकबरी ब्राण्ड शुरू गरेको छ । ग्राहकलाई गुणस्तर र मूल्यमा समेत ढुक्क बनाउन गहनामा नेपाली ब्राण्ड शुरू गरेको रिद्धिसिद्धिका सञ्चालक नरेन्द्र गुप्ता बताउँछन् ।

नेपालमा बहुमूल्य पत्थर जडेर बनाइएका सुन र चाँदीका गहना यूरोप, अमेरिका र जापान निर्यात हुने गरेका छन् । काठमाडौं, पोखरा र पाल्पामा सात वटा आउटलेट सञ्चालन गरिरहेको युनाइटेड गोल्ड मार्टका सञ्चालक प्रितम बुद्धाचार्य आफ्नै कालिगडले बनाएका ९७ प्रतिशत सुन–चाँदीका गहनामा युजी ब्राण्ड छाप हुने गरेको र बेलायत, हङकङका ग्राहकले समेत रूचाएको बताउँछन् । धरानबाट शुरू भएको बराह ज्वेलरीले काठमाडौं, पोखरा, बेलायत र हङकङमा समेत आफ्नो बजार विस्तार गरेको सञ्चालक शिव लामिछानेले बताए ।

आफ्नै हिसाबले चूपचाप काम गरिरहेका कतिपय व्यवसायीले धेरै नयाँ र नौला उत्पादन विदेश निर्यात गर्दै आएका छन् । वर्षेनि करोडौं मूल्यका नक्कली कपाल (विग) नेपालमा उत्पादन भएर विदेशी बजार जाने गरेको छ । नेशनल कलेज अफ बायोटेक्नोलोजीको सक्रियतामा कुखुराको रगतबाट बन्ने एक किसिमको प्लाज्मा औषधीका रूपमा विदेश निर्यात हुँदै आएको छ । ललितपुरमा बन्ने माइक्रो ट्रान्सफर्मर जर्मनसम्म पुगिरहेको छ । डिज्नील्याण्डका फिल्मका लागि कम्प्युटर ग्राफिक्सको केही काम नेपालमै हुने गरेको छ । नेपालमै बसेर यूरोप र अमेरिकाका संस्थाहरूको अनलाइन काम गर्ने जनशक्ति समेत नेपालमै उपलब्ध भइरहेको छ ।

शिक्षाको क्षेत्रमा पनि नेपाली ब्राण्ड बनेको धेरै भइसकेको छ । नेपालको बूढानीलकण्ठ स्कूलमा पढेको भन्नासाथ यूरोप, अमेरिका, अष्ट्रेलिया, क्यानडाका कलेजहरूमा सजिलै भर्ना पाइने र अहिले त्यसको ठाउँ रातो बङ्गला, सेण्ट जेभियर्स जस्ता अन्तर्राष्ट्रिय ब्राण्ड बनाउँदै गएका नेपाली निजी विद्यालयले लिन थालेको अर्थविद् केशव आचार्य बताउँछन् । उनी भन्छन्, “अमृत साइन्स क्याम्पस (अस्कल), पुल्चोक इञ्जिनियरिङ कलेज, शिक्षण अस्पताल, महाराजगञ्जको ब्राण्ड अझै पनि भारत, पाकिस्तान, बङ्गलादेशदेखि अष्ट्रेलियासम्म लोकप्रिय छ ।”

अथाह सम्भावना

मेड इन नेपालको ट्यागमा देशभित्रै जमेका र विदेशमा पुगेका उत्पादनहरूको माग र खपतले आर्थिक क्षेत्रलाई धेरै उत्साहित गरिरहेको छ । नेपालमा विश्व बजारलाई बिकाउ ब्राण्ड दिनसक्ने अथाह सम्भावनाका स्रोतहरू छन् । उद्योगपति राजेन्द्र खेतान ढुवानी, उद्योग र निर्माण क्षेत्रले ६–६ प्रतिशत ओगटेको नेपाली अर्थतन्त्रमा १८ प्रतिशत ओगटेको सेवा क्षेत्रमा अझ् बढी सम्भावना देख्छन् । खेतान भन्छन्, “नेपालको हिमालय र पर्यटन जतिको विकाउ ब्राण्ड अरू हुनै सक्दैन ।”

हस्तकलामा पर्ने गलैंचा र पस्मिनालाई सामूहिक ब्राण्डका रूपमा निर्यात गर्ने कामको सुरुआत भएको छ । तर, गुणस्तर निर्धारणसँगै यस्ता उत्पादनलाई विश्वव्यापी बनाउन सरकारी पहल पनि जरुरी छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी देशभर करीब दुई लाख साना–ठूला व्यवसायीले आ–आफ्नो ठाउँबाट केही न केही गरिरहेकै भए पनि सबैको प्रयासलाई एकीकृत गरेर बजार र ब्राण्ड प्रवद्र्धन गर्ने काम हुन नसकेको बताउँछन् । मुल्मी भन्छन्, “खास गरेर, व्यावसायिक कृषि उत्पादनमा निजी क्षेत्रले सरकारको साथ पाउनुपर्छ ।”

नेपालसँग ठूलो प्राकृतिक स्रोत छ । जडीबुटीको अथाह स्रोतमा खासै ध्यान पुगेको छैन । यार्सागुम्बा जतिकै विदेशमा बिकाउ बन्न सक्ने शिलाजित, पाँचऔंले लगायतका अन्य जडीबुटी र अर्किडहरूको ठूलो स्रोत नेपाल बन्न सक्छ । नदीनालामा ठूला विद्युत् परियोजना संचालन गरे देशमै धेरै कलकारखाना खुल्नेदेखि विद्युत् बेच्नेसम्मको काम हुन सक्छ । बजारविद् सुजीव शाक्य भारतका जनता वितेको १५ वर्षमा कसरी आफ्नै उत्पादनमाथि गर्व गर्न सक्ने भए भन्ने कुरा नेपालीले बुझनुपर्ने बताउँछन् ।

नेपालका हिमनदीका पानी बोतलमा प्याक गरेर संसारभर पुर्‍याउन सकिन्छ । रसुवामा स्थापित हिमालयज् स्प्रिङ वाटर उद्योगले जापानमा मिनरल वाटर निर्यात गर्न थालेको पनि छ । दोलखा, रामेछाप, संखुवासभा, ताप्लेजुङ र पश्चिम पहाडका जिल्लाहरू बहुमूल्य पत्थरका भण्डार मानिन्छन् । त्यहाँ उत्खनन् गरेर अनेकौं प्रकारका रत्न र आभूषणहरूको नेपाली ब्राण्ड बनाउन सकिन्छ । अहिले नेपालबाट ढुङ्गा पठाएर भारतबाट आभूषण ल्याइरहेको अवस्था छ ।

गुन्द्रुक, लप्सीको अचार, सिस्नोको धूलो, बेलको सर्वत जस्ता वस्तु र अल्लो, खाँडीका घरबुना कपडाको पनि ब्राण्डिङ गर्न नसकिने हैन । सल्यानको रेसा नहुने अदुवा र प्युठानको लामो मोटो नरम मूलाको बीउ हाइब्रिड गरेर देशव्यापी उत्पादन गर्ने हो भने यसको ठूलै सम्भावना छ । नेपाल मौरीपालन केन्द्रीय सहकारी संघले प्रवद्र्धन गरिरहेको महलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सकिन्छ । नेपाली लोक्ताबाट बनेको हातेकागज जापानको नोटमा समेत प्रयोग हुने गरेको बताइन्छ । यो कागज पेन्टिङका लागि सजिलो भएकाले यसलाई विश्व बजारमा अलग्गै ब्राण्डिङ गरेर लैजान सकिन्छ ।

अर्थविद् केशव आचार्य धेरै विदेशी मित्रहरूले नेपालीहरूलाई ‘माल पाएर चाल नपाएको’ भनेर जिस्क्याउने गरेको सुनाउँछन् । उनको भनाइमा, लाली गुराँसको टिस्यु कल्चर, डाँफे, हाब्रे (रेडपाण्डा), सर्प र मृगहरूको फार्मिङ, अल्लो र हातेकागजका कारखाना खोलेर त्यसका उत्पादनहरूलाई ब्राण्डिङ गरेर विदेश निर्यात गर्न सकिन्छ । पर्वतारोहण तालीम केन्द्रदेखि स्वच्छ हिमाली हावा भएका ठाउँहरूमा ठूला अस्पताल स्थापना गरेर हेलिकप्टर एम्बुलेन्स राख्दा विश्वभरबाट बिरामी आउन सक्छन् । खप्तड, जोमसोम, नाम्चे, पोखरा जस्ता स्थानमा पूर्वाधार निर्माण गरेर फिल्म शूटिङस्थलको रूपमा विश्वव्यापी प्रचार गर्न सकिन्छ । कोल्बोड कम्पनीले सगरमाथाको ढुङ्गा राखेर घडी बनाएको खबर आउँदासम्म सरकारले सगरमाथाको ढुङ्गा र लुम्बिनीको माटोलाई ब्राण्डिङ गरेर बेच्ने सोच बनाएको छैन । उवासंघका पूर्व अध्यक्ष मुल्मी भन्छन्, “सगरमाथाको ढुङ्गा या लुम्बिनीको माटो बेच्नमा कसैलाई आपत्ति नहोला, तर सरकारले जागेर नीति ल्याउनुपर्छ ।”

शेर्पा एडभेञ्चर गियरका सञ्चालक टासी शेर्पा राजनीतिक स्थिरता र निजी क्षेत्रलाई सरकारी प्रोत्साहन भए नेपालको आर्थिक सफलता टाढा नभएको बताउँछन् । खुरुखुरु काममा लाग्नुको साटो समय बर्बाद गर्नतिर लागेकाले ढिलाइ भइरहेको बताउँदै उनी भन्छन्, “नजिकैको बङ्गलादेशलाई हेरौं र गार्मेण्ट्स–टेक्सटायलमा हामीले किन प्रगति गर्न सकेनौं भनेर सोचौं ।”

ब्राण्डः बन्दै, हराउँदै

कुनै समय निकै ठूलो ख्याति आर्जन गरेका कतिपय नेपाली ब्राण्डको अहिले नामोनिशान छैन । नेपालको पहिलो विराटनगर जूट मिल (विसं १९९३) र दोस्रो जुद्ध म्याच फ्याक्ट्री (विसं १९९४) ले जूटका बोरा र सलाईको प्रयोग व्यापक बनाएका थिए । तर, ती ब्राण्ड अहिले बजारमा छैनन् । जूटका सामान र सलाईको खपत बढे पनि उद्योगहरूलाई दीर्घकालीन सोचका साथ लैजान सकिएन । २०३० सालसम्म भारतका दिल्ली, मुम्बईसम्म कपडा पठाउने अशोक टेक्सटायल पनि अहिले छैन ।

नेपाली उत्पादनको ब्राण्ड स्थापित गरेर टिक्ने काम जनकपुर चुरोट कारखाना (जचुकालि) ले गरेको थियो । २०२१ सालमा स्थापित यो उद्योगले आशा, गैंडा, ज्वाला, कोशेली, लाली गुराँस, याक देखि एकदमै लक्जरी मानिने सयपत्री चुरोट उत्पादनसँगै बजार विस्तार र प्रचारलाई समेत तीव्रता दियो । जचुकालिले नेपालको पहिलो ‘भिज्युअल’ विज्ञापन बनाएर उत्पादनलाई ब्राण्डेड गर्ने काम गरेको थियो ।

कोक–पेप्सी नभएको बेला हेटौंडामा उत्पादन भएका स्टार एप्पल र पाइनएप्पल ब्राण्डका सर्वत २०४० सालसम्म लोकप्रिय थिए । तिनले भारतबाट आउने किसान पेयलाई समेत विस्थापित गरेका थिए । २०३० सालतिर भैरहवाको महेन्द्र सुगर मिलले उत्पादन गरेको इ ग्राण्ड अर्ल ह्विस्की दिल्लीका तारे होटलका सौखिनहरूसम्म पुगेको अर्थविद् केशव आचार्य सम्झ्न्छन् । मोरङ सुगर मिल्स, वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, हिमाल सिमेन्ट, बाँसबारी छाला जुत्ता कारखाना, हरिसिद्धि ईंटा टायल जस्ता उद्योगहरूले बनाएको पहिचान पनि अहिले धुमिल भइसकेका छन् ।

२०२६ सालमै स्थापना भएको नेपाल दुग्ध विकास संस्थान मात्र यस्तो संस्था हो जसको उत्पादन र ब्राण्ड आजसम्म पनि निजी क्षेत्रका उद्योगहरूसँग प्रतिस्पर्धामा अब्बल छ । डेनमार्कको सहयोगमा स्थापित यो उद्योगका डीडीसी दूधसँगै घिउ, दही, चीज, रसवरी, लालमोहन, पेडा लगायतमा आफ्नै ब्राण्ड स्थापित छ । तर पछिल्लो समयमा नेपाली उत्पादनको छवि बनाएको गोरखकाली टायरको अस्तित्व कच्चा पदार्थको अभावमै समाप्त हुँदै गएको छ ।


बड्दैछ निर्यात

नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको देशको आर्थिक अवस्था सम्बन्धी अर्धवार्षिक २०६८/६९ साउन–पुसको ६ महिनामा रु.३५ अर्ब ९१ करोड ६६ लाखको कुल वस्तु निर्यात भएको छ भने गत आव २०६७/६८ मा रु.६४ अर्ब ५६ करोड ४ लाखको कुल वस्तु निर्यात भएको थियो । तर, निर्यात भन्दा आयात बढी मात्रामा हुने भएकाले नेपालको कुल व्यापार घाटा २०६६/६७ को तुलनामा ५.८ प्रतिशतले वृद्धि भई रु.३ खर्ब ३० अर्ब ३४ करोड ८ लाख पुगेको थियो । नेपालले विश्वबजारमा खपत हुने जडीबुटी, मिनरल वाटर, हस्तकला, गार्मेण्ट जस्ता मौलिक ब्राण्डहरू उत्पादन गर्ने र उचित प्रवद्र्धनमा ध्यान दिने हो भने यो व्यापार घाटा कम हुने अर्थविद् बताउँछन् ।


१३ लाखको नेपाली घडी !

नयाँ वर्ष २०६९ शुरू हुनु दुई साताअघि नेपालीमाझ् आनन्द लाग्ने एउटा समाचार आयो– सर्वोच्च सगरमाथाको ढुङ्गा राखेर नेपालमै रु.१३ लाख पर्ने घडी उत्पादन । तर, त्यो समाचार आएको केही दिनमै विश्व प्रसिद्ध घडी निर्माता कोल्बोड को सहयोगमा ‘मेड इन नेपाल’ को ट्यागसहित घडी उत्पादनमा लागेका नेपाली आरोहीद्वय आम नाम्ग्याल र लिक्पा थुण्डु शेर्पाको मन खिन्न हुनपुग्यो । समाचारहरूमा कोल्बोड हिमालय नामको यो घडीमा सगरमाथाको ढुङ्गा राखिने कुरा आएपछि उनीहरूमाथि ‘सगरमाथाको ढुङ्गा राख्ने अनुमति कसले दियो ?’, ‘सगरमाथाको ढुङ्गा बेचेर पैसा कमाउने !’, ‘सगरमाथाको ढुङ्गा राखेबापत देशले के पाउँछ ?’ जस्ता प्रश्नको ओइरो लाग्यो ।

काठमाडौं, बबरमहलमा घडी उत्पादन केन्द्र स्थापना गरेर काम शुरू गरेका सात पटक सगरमाथा आरोहण गरिसकेका नाम्ग्याल र नौ पटकका आरोही लिक्पा थुण्डुको भनाइमा, उनीहरूले घडी उत्पादन गरेर नेपाली पहिचान र ब्राण्डलाई विश्वव्यापी बनाउने सोचेका थिए । तर, सगरमाथाको ढुङ्गाको कुरालाई धेरैले ‘नकारात्मक’ रूपमा लिए । अब उत्पादनलाई कसरी अघि बढाउने भन्ने अन्योल उत्पन्न भएको छ । कोल्बोड का मालिक माइकल कोल्बोडले चार वर्षअघि सगरमाथा चढ्न आउँदा गाइडका रूपमा भेटेका यी दुई आरोहीलाई एक वर्ष तालिम दिएपछि नेपालमा ब्राण्डको घडी उत्पादन गर्ने कारखाना खोलिएको थियो ।

नेपालीहरूका लागि घडीको मोल सगरमाथाको उचाइ बराबर अर्थात् ८८४८ अमेरिकी डलर र विदेशीका लागी १६ हजार ५०० अमेरिकी डलर (करीब रु.१३ लाख) राखिएको थियो । दुई आरोही कोल्बोडको पार्टपुर्जा राखेर नेपाली ब्राण्ड बनाउने तयारीमा थिए । “अब सरकारले सगरमाथाको ढुङ्गाबारे कस्तो नीति लिन्छ, कुर्नुपर्ने भएको छ”, लिक्पा थुण्डु भन्छन् ।

comments powered by Disqus

रमझम