नेपालमा थाई प्रविधिबाट बन्ने चाउचाउका सात वटा उद्योग छन् । रु.५ अर्ब लगानी भएको यो उद्योगले ४००० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ । मासिक साढे पाँच करोड प्याकेट चाउचाउ नेपालमै खपत हुन्छ, जसमा खैरो चाउचाउको खपत कुल बिक्रीको ९० प्रतिशत छ । साढे ३ अर्ब रुपैयाँको नेपाली चाउचाउको बजार वर्षेनि २० प्रतिशतले बढिरहेको छ ।
चौधरी ग्रुपको सीजी फूडले चिकन सेजवान र शाकाहारी मञ्चुरियम स्वादका वाइवाइ मा करी, पिज्जा आदिको फ्लेवरसँगै मामा, गोलमोल, मिमी, सोल्टी लगायतका चाउचाउ उत्पादन गरिरहेको छ । हिमचुली फुड्सको स्वामित्वमा आएको रारा अहिले आहा–५०, फेवा, ए–वान आदि ब्राण्डका चाउचाउसँगै उत्पादन भइरहेको छ । त्यस्तै हिमालयन स्न्याक्सका मायोज लगायत एक दर्जन ब्राण्डका चाउचाउ चल्तीमा छन् । मायोज चाउचाउ भूटान, कतार, भारत समेत निर्यात हुँदै आएको कम्पनीले जनाएको छ । एशियन थाई फुड्सका रमपम, प्रीति, टुपीएम, कोशेली आदि चाउचाउ प्रतिस्पर्धामा छन् । यसका रु.५ मै पाइने फुच्चे, जोकर, फटाफट लगायतका चाउचाउ गाउँघरमा लोकप्रिय छन् । एशियन थाई फुड्सले नै पहिलो पटक तातोपानी हालेर खान मिल्ने कप चाउचाउ बजारमा ल्याएको थियो । अहिले सीजी र हिमालयन स्न्याक्स एण्ड नुडल्सले पनि कप चाउचाउ ल्याएका छन् । यमयम चाउचाउको उत्पादक स्मार्ट फूडका पनि हिट्स, एबीसी लगायतका चाउचाउ प्रतिस्पर्धामा छन् ।
रु.५ देखि रु.१५ मा स्थानीय बजारमा पाइने चाउचाउ नेपालीहरूको छिटो–मीठो खाजाका रूपमा लोकप्रिय छ । रु.२२ देखि रु.२८ सम्म पर्ने कप नुडल्सको व्यापार ठूला मल र डिपार्टमेण्टल स्टोरमा बढी छ । वाइवाइ, रारा, रमपम, मायोज, यमयम, मिहो लगायतका चाउचाउ शहरी क्षेत्रमा धेरै बिक्छन् भने गाउँघरमा दुइटा किन्दा एउटा सित्तैंमा र रु.५ मै पाइने चाउचाउहरूको बोलवाला छ ।
साना शहर, गाउँघर र सिजनमा उत्पादन हुने बेल, जुनार र सुन्तलाको जूसको परिमाण पनि बढेको छ । तीमध्ये अल्टरनेटिभ हर्बल प्रोडक्ट्सको बेल शर्बत मार्मेलस्, अरेञ्ज जूस लगायत कति त राजधानीका नामी डिपार्टमेन्टल स्टोरका तख्ता र रेष्टुरेण्टका मेनुमा समेत चढिसकेका छन् ।
आन्तरिक बजारमा रु.६ अर्बको कारोबार गरिरहेका नेपाली जूसहरूले चिनियाँ बजार पनि लिएका छन् । डाबर का ८० प्रतिशत जूसको बजार भारत हो । आर्थिक वर्ष २०६७/६८ मा नेपालबाट रु.१ अर्ब ७ करोडको जूस निर्यात भएको थियो ।
डम्बरकृष्ण श्रेष्ठ