१–१५ वैशाख २०६९ | 13-27 April 2012

आर्थिक समृद्धिको आधार जडीबुटी

Share:
  

नेपालमा पाइने १६०० मध्ये १६२ प्रकारका जडीबुटी अर्ध–प्रशोधित कच्चा पदार्थ र तयारी उत्पादनका रूपमा विभिन्न देशमा निकासी हुन्छन् । उच्च मूल्यमा निर्यात भइरहेका त्यस्ता जडीबुटीमा यार्सागुम्बा, अल्लो, चमेली, चिराइतो, दालचिनी, धसिङ्गरे, जटामसी, झयाउ, कुरिलो, कुट्की, मेन्था, पिप्ला, रिट्ठा, सर्पगन्धा, सतुवा, टिमुर, सुगन्धवाल, हर्रो, बर्रो, सिबकथून आदि छन् ।

नेपाली जडीबुटीको मुख्य बजार भने भारत नै हो । आव २०६७÷६८ मा रु.९६ करोडको जडीबुटी निकासी भएको भारतमा अघिल्लो आवमा रु.१ अर्ब ३ करोड पुगेको थियो । २०६८÷६९ को पहिलो ६ महीनामा चाहिँ रु.४२ करोडको भएको छ ।

नेपाल हर्वस् एण्ड हर्वल प्रोडक्ट्स एशोसिएसनका अध्यक्ष गोविन्दप्रसाद घिमिरे जडीबुटीजन्य जूस, घ्यूकुमारी, बेल, साबुन, मसाज तेल, प्राङ्गारिक अदुवा, अलैंची, च्यवनप्रास, हिमाली मह, च्याउ, खोटो र सुगन्धित तेलहरू यूरोप र अमेरिका जाने गरेको बताउँछन् । नेपालका चमेली, जटामसी, सुगन्ध कोकिल, अर्टेमिसिया, सिट्रोनेला, जेडारी, विन्टरग्रिन, पामारोजा, फ्रेन्च बेसील, इक्लेप्टस, जुनीपरवेरी, लेमनग्रास, मेन्था अर्भानसिस्, ज्यान्थोजिलम, भलेरियन लगायतका तेलहरूको माग यूरोप र अमेरिकामा उच्च छ । सञ्जीवनी, सन्चो, निको जस्ता औषधीजन्य उत्पादन पनि विदेशमा लोकप्रिय छन् ।

डेढ दशकअघि स्थापित फ्ल्योर हिमालयका प्रबन्ध निर्देशक अजयबहादुर प्रधानाङ्ग आफ्नो कम्पनीको क्रिम लावन्य अमेरिकामा धेरै रूचाइएको बताउँछन् । कुन कति लोकप्रिय छ भन्दा पनि आयुर्वेद क्षेत्रमा नेपालको अथाह संभावनालाई उपयोग गर्नुपर्ने प्रधानाङ्ग बताउँछन् । सरकारी स्वामित्वको सिंहदरबार वैद्यखाना विकास समितिले २०५१ सालदेखि विभिन्न किसिमका १५० भन्दा बढी औषधी उत्पादन गर्दै आएको छ । शिलाजित, च्यवनप्रासदेखि दन्तमञ्जनसम्मका वैद्यखानाका औषधीहरू देशका विभिन्न २० स्थानमा उपलब्ध छन् ।

तयारी जडीबुटी निकासीका लागि भौतिक पूर्वाधार निर्माणमा सरकारी लगानी र दातृ निकायहरूको चासोको अभाव छ । नेपालमा ल्याब सुविधा नहुँदा गुणस्तर परीक्षणका लागि पनि नेपाली उत्पादन विदेश पठाउनुपर्छ । यसले गर्दा विदेशीले खोजेको जडीबुटी मात्र बिक्री हुने अवस्था छ । वनजङ्गलमा रासायनिक पदार्थको प्रयोग नभए पनि नेपालका जडीबुटीले प्राङ्गारिक भएको प्रमाण पाउन कठिन भएको छ । नेपाल हर्वस् एण्ड हर्वल प्रोडक्ट्स एशोसिएसनका महासचिव प्रेमराज तिवारी विदेशमा हरेक सामान प्रमाण हेरेर किन्ने चलन भएकाले प्राङ्गारिकताको प्रमाणपत्रको व्यवस्था तत्काल हुनुपर्ने बताउँछन् ।

अहिले नेपालको गैरकाष्ठ वन पैदावरमा ३२ कम्पनीले काम गरिरहेका छन् । वाणिज्य मन्त्रालयको सहयोगमा मध्य र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा पाइने जडीबुटी सङ्कलन, प्रशोधन र बजारीकरणका लागि सुर्खेतमा कारखाना खोलिएको छ । निजी क्षेत्रको केएल दुगड समूहले पनि ज्ञान हर्वल जडीबुटी प्रशोधन केन्द्र खोलेको छ । नेपालीसँग भएको ज्ञान र स्रोतको संयोजन गर्न सके जडीबुटी आर्थिक समृद्धिको बलियो आधार बन्ने फ्ल्योर हिमालयका प्रबन्ध निर्देशक प्रधानाङ्ग बताउँछन् ।

सन्त गाहा मगर

comments powered by Disqus

रमझम