१–१५ वैशाख २०६९ | 13-27 April 2012

आफ्नै पहिचान

Share:
  
- मीना शर्मा
अन्तर्राष्ट्रिय बजारमा नेपाली हस्तकलाले खुट्टा टेक्दा कलाकारहरू नै विदेशिन थालेका छन् ।

मीनरत्न बज्राचार्य
मौसम अनुसारका पहिरन हुन् या सजावटका सामान, नेपाली हस्तकला अन्तर्राष्ट्रिय बजारमा ब्राण्डको रूपमा लोकप्रिय छन् । नेपालमा बनेका देवदेवीका मूर्ति पनि उत्तिकै लोकप्रिय छन् । नेपालबाट विश्वका ८० भन्दा बढी देशमा वार्षिक रु.७ अर्बको ४२ प्रकारका हस्तकलाका सामान निर्यात भइरहेको राष्ट्रिय हस्तकला महासंघको तथ्याङ्कमा देखिन्छ । ४० वर्षदेखि हस्तकलाका सामान खरीद र निर्यात गर्दै आएका सञ्जय लम्साल यो व्यवसाय विस्तारित हुँदै गएको र यूरोप–अमेरिकाबाट फर्केका नेपालीहरूले पनि किन्न थालेका बताउँछन् ।

वर्षमा रु.८ करोडको चाँदीका वस्तु बिक्री गर्ने मिलेनियम क्राफ्ट्स एउटैले गत वर्ष रु.५ करोडको चाँदीका हस्तकला निर्यात ग¥यो । मिलेनियमका मणिश्री बज्राचार्यका अनुसार, चाँदीका सामानको माग अमेरिका, यूरोपसहित २२ देशबाट आउँछ । नेपालस्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र दूतावासका कर्मचारी पनि बज्राचार्यका ग्राहक हुन् । युरोपेली चाँदी बजारको ३३ प्रतिशत हिस्सा लिएको नेपाली चाँदीका सामानले पछिल्लो समय भने क्याड्मियमको मिसावटका कारण गुणस्तर कम भएको आरोप खेप्दै आएको छ ।

बज्राचार्यले जस्तै पित्तल, तामा, सुन, चाँदी, फलामका मूर्ति लगायतका सामग्रीको डिजाइन र उत्पादन गर्ने रत्नमान महर्जन पहिला अमेरिका र यूरोपमा निर्यात हुने गरेको धातुका हस्तकला ठूलो परिमाणमा चीनतिर पनि जान थालेको बताउँछन् । “तर, समस्या आउँदैछ”, महर्जन भन्छन्, “चीनतिर मूर्तिसँगै कालिगडहरू पनि जान थालेका छन्, यहाँ त सिपालु कामदार नै पाउन छाडिएको छ ।”

विगतको दशक जस्तो नभए पनि पछिल्लो समयमा नेपाली पस्मिनाको अन्तर्राष्ट्रिय बजार पुनः फस्टाउन थालेको छ । पाटनका पस्मिना व्यापारी सुजल श्रेष्ठले अमेरिका, अष्ट्रेलिया र ताइवानमा नेपाली पस्मिनाको माग बढी भएको बताए । अहिले काठमाडौं उपत्यकामा १००० पस्मिना उद्योग चलेका र तीमध्ये २०० नेपाल पस्मिना उद्योग संघमा आबद्ध छन् । संघका अनुसार, वर्षमा रु.२ अर्बको पस्मिना निर्यात हुन्छ । नेपाली पस्मिना सबैभन्दा बढी खपत हुने जापानमा यसको आफ्नै ट्रेडमार्क दर्ता भएको छ ।

नेपालमा बन्ने रेशम कपडाका सामानको माग पनि निकै छ । काठमाडौं नयाँबजारस्थित नेपाल सिल्क प्रोडक्टले वार्षिक चार टन सिल्क सल, मफलर, तन्ना, झेला र कोटदेखि साबुन, फेसप्याक आदि उत्पादन गरेर जापान, स्विट्जरल्याण्ड, जर्मन, अमेरिका निर्यात गर्दै आएको सञ्चालक मोहिनी महर्जन बताउँछिन् । बाँसका रेसा, पस्मिना र रेशमबाट बनेका नेपाली स्कार्फ अमेरिकी सेलीब्रिटीहरूमाझ् समेत लोकप्रिय छ । व्यवसायी चन्द्रप्रकाश आचार्यले वर्षमा ४००० स्कार्फ अमेरिकी बजारमा निर्यात गर्दै आएका छन् । बालश्रमका कारण धक्का खाएको नेपाली गलैंचा उद्योगले पनि गति लिँदैछ । मासिक २०० देखि ३०० स्क्वायर मिटर गलैंचा उत्पादन गरिरहेका ठमेलका प्रज्वल खड्गी आफ्नो व्यवसायको भविष्य निकै राम्रो देख्छन् ।

नेपाली पौभा (थान्का) कला पनि विदेशमा रुचाइने प्रमुख उत्पादन हो । २७ वर्षदेखि थान्का व्यवसायमा संलग्न एएन बोकी १९८०–९० को दशकलाई थान्काको सुनौलो युग मान्छन् । जापान, कोरिया, चीन, अमेरिका लगायत १० मुलुकमा पौभा चित्र पठाइरहेका पाटनका देवकुमार लामाको लामाज् हस्तकला एण्ड ट्रेनिङ सेन्टरमा रु.३०० देखि रु.६० हजारसम्मका थान्का छन् । लामाले पछिल्लो समय चिनियाँ व्यापारीहरूले थान्कासँगै कलाकार पनि लैजान थालेकाले भने समस्या आएको बताए ।

नेपाली हस्तकलामा पछिल्लो समय संखुवासभाको अल्लो, जनकपुरको मिथिला कला, हातेकागजका सामान र भक्तपुर ठिमीको सेरामिक उत्पादन पनि जोडिएका छन् । नेपाल हस्तकला महासंघका अध्यक्ष विकासरत्न धाख्वा भन्छन्, “नेपाली हस्तकलाका सामानलाई जति ‘युनिक’ बनाउन सक्यो त्यति बिक्छन् । संसारमा यसको बजार जत्रो छ, हामी त्यसको एकछेउ पनि पुगेका छैनौं । यसमा नेपाल सरकारको ध्यान जाओस् ।” नेपाली हस्तकलाको प्रबद्र्धनमा सरकारले तत्काल नीतिगत सम्बोधन गर्नु किन पनि आवश्यक छ भने, पछिल्लो समयमा कलासँगै कलाकार पनि विदेशिन थालेका छन् । यसबाट पछिल्लो पिँढीमा कला हस्तान्तरण त रोकिन्छ नै, त्योभन्दा खतरनाक कुरा चीनमा नेपाली कलाकारले बनाएका मूर्ति र पौभा विश्व बजारमा चिनियाँ ब्राण्डमै बिक्री हुन थाल्नेछन् ।

comments powered by Disqus

रमझम