विश्वकपमा नेपाली ह्याट

Share:
  
नेपाली क्रेजी ह्याटको बजार पश्चिमी संसारका क्रिसमस र कार्निभलहरूदेखि ओलम्पिक र विश्वकप फूटबल प्रतियोगितासम्म फैलिएको छ ।

मीनरत्न बज्राचार्य
“अर्डर यति हुन्छ कि डेलिभरी दिन जहिल्यै हतार हुन्छ”, शारदा रिमालको यो भनाइबाट नेपालमा बनेका क्रेजी ह्याट (फ्यान्सी ह्याट) विदेशमा कति लोकप्रिय छन् भन्ने स्पष्ट हुन्छ । सन् १९९८ मा फ्रान्समा सम्पन्न १६औं विश्वकपदेखि शारदाको व्यापार लगातार उकालोमा छ । ललितपुरको सानेपामा मिलन गार्मेन्ट्स सञ्चालन गर्दै आएकी उनका क्रेजी ह्याट क्रिसमस, विश्वकप र ओलम्पिकदेखि वर्थ डे पार्टीहरूमा पनि लगाउने चलन बढेको छ ।

नेपालबाट क्रेजी ह्याट निर्यात गर्नेमा शारदाको मिलन गार्मेन्ट्ससँगै युनिकर्न ट्रेडर्स, नेपाल क्राफ्ट ग्यालरी, नेपाल एक्सपोर्ट इम्पोर्ट हाउस, क्रिएटिभ ह्याण्ड नेपाल, फेल्ट एण्ड यार्न, ह्याण्डीक्राफ्ट शप, हिमालय हाउस, स्पिडी गुड्स आदि छन् । आधिकारिक तथ्याङ्क नभए पनि करीब पाँच दर्जन कम्पनीले क्रेजी ह्याट उत्पादन गरिरहेका छन् । धेरैजसो ह्याट अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान र दक्षिण कोरिया निर्यात हुन्छ । ललितपुर चाकुपाटमा नेपाल क्राफ्ट ग्यालरी खोलेका अमोग धाख्वा यो ह्याट नेपालमा पनि फाटफुट बिक्री हुन थालेको बताउँछन् ।

क्रेजी ह्याट बनाउन शुरूमा भारतबाट कालिगड झ्किाउने गरिएको थियो भने अहिले नेपाली हातहरू नै सिपालु भइसकेका छन् । नेपाल ह्याण्डी क्राफ्ट महासंघको केन्द्रीय सदस्य समेत रहेकी शारदा रिमाल खासगरी महिला कालिगडहरू यसमा निकै सिपालु भएको बताउँछिन् । “तर, दक्ष भएकाहरू को कता को कता लागिदिँदा डेलिभरी दिन नसकेर अर्डर कम लिनुपरेको छ”, शारदा भन्छिन् । उनका अनुसार नेपालबाट फन्नी, एनिमल, निटेड उलन, क्रिसमस ट्री, विजार्ड, मसरुम, स्करपीओ, अम्ब्रेला र नाइट नामक क्रेजी ह्याटहरू बढी निर्यात हुने गरेका छन् ।

क्रेजी ह्याट बनाउन चाहिने च्याङ्ग्राको ऊन तिब्बत र स्विट्जरल्याण्डबाट ल्याइन्छ । ऊनलाई हातले माडेर तयार पारिने क्रेजी ह्याट थोकमा प्रति गोटा रु.२०० देखि रु.१२०० पर्छ । ठमेलस्थित युनिकर्न ट्रेडर्सका निर्देशक दिपीन घले चीनमा मेशिनबाट बन्ने ह्याटसँग प्रतिस्पर्धा गर्न कठिन हुँदै गएको बताउँछन् । घले भन्छन्, “तैपनि अहिलेसम्म हातले बनाएको भनेर बुझउन सकेकोले नै नेपाली ह्याटहरू बजारमा टिकेका छन् ।”

सन्त गाहा मगर

comments powered by Disqus

रमझम