अग्रणी तर जहाँको तहीं

Share:
  
- बद्री पौड्याल
सोलार वाटर हीटर अपनाउनेमा विश्वमै अगाडि देखिएको नेपाल प्रविधिमा सुधार गरेर अघि बढ्न सकेको छैन ।

नेपालमा ४० वर्षअघि सोलार वाटर हीटर बन्न थालेको बेला विश्वका विकसित मुलुकहरू पनि भर्खरै यतातिर लाग्दैथिए । सूर्यको तापीय ऊर्जाको प्रयोग करीब २०० वर्षअघि स्विट्जरल्याण्डबाट शुरू भए पनि सन् १९७३–७४ को विश्वव्यापी तेल सङ्कटअघिसम्म यसतर्फ कसैले ध्यान दिएको थिएन । प्रायः नयाँ प्रविधिको उपयोगमा पछाडि रहने गरेको नेपालले भने सोलार वाटर हीटरको प्रविधिलाई अरूभन्दा अघि बढेर अङ्गीकार गरेको थियो ।

वातावरणमैत्री वैकल्पिक ऊर्जा प्रबद्र्धन गर्न खडा भएको सरकारी निकाय वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्र (एइपीसी)का कार्यकारी निर्देशक डा. गोविन्दराज पोखरेलले सोलार हीटरले सौर्य ऊर्जाका अन्य उपकरणमा जस्तो अनुदान नपाए पनि बजार र उपभोक्तामा स्थान जमाएको देखेर अचम्म मानेका छन् । उनी भन्छन्, “नेपालकै जस्तो मौसम भएका पाकिस्तान, बङ्गलादेश, भूटानमा सोलार वाटर हीटर त्यति चलेको देखिँदैन । तर, काठमाडौं लगायत नेपालका प्रमुख शहरी एवं पर्यटकीय क्षेत्रले यसलाई अनौठोसँग अपनाएका छन् ।”

त्रिवि, इन्जिनियरिङ अध्ययन संस्थानको ऊर्जा अध्ययन केन्द्रका निर्देशक प्रा.डा. त्रिरत्न बज्राचार्यका अनुसार, नेपालमा पहिलो पटक सन् १९६८ तिरै खानी तथा भूगर्भ विभागमा काठमाडौंमै बनेको सोलार हीटर जडान भएको थियो । पछि स्वीस सहयोगमा उत्पादन शुरू गरेको बालाजु यन्त्रशालाले १९७५ मा बूढानीलकण्ठ स्कूलको छात्रावासमा राख्यो । स्विट्जरल्याण्डकै सहयोगमा स्थापित मेकानिकल ट्रेनिङ सेन्टर (हाल बालाजु प्राविधिक प्रशिक्षण केन्द्र)ले पाठ्यक्रममा पारेपछि प्रविधि र डिजाइनमा सुधारसँगै विस्तार भएको सोलार हीटर अहिले काठमाडौं, पोखरा लगायतका शहरका गल्ली–गल्लीमा बन्छन् ।

हाल नेपालमा संस्थागत सोलार हीटर निर्माता र आपूर्तिकर्ता ८० वटा जति छन् भने सिजनमा मात्रै बनाउनेहरू २०० बढी पुग्छन् । सन् २००७ मा एइपीसीको नवीकरणीय ऊर्जा परियोजनाका लागि डा. बज्राचार्यले गरेको एक अध्ययनले काठमाडौं उपत्यकाका पाँच नगरपालिकामा करीब ५० हजार र पोखरा, भरतपुर, नेपालगंज, धुलिखेल, महेन्द्रनगर, धरान, बुटवल, विराटनगर र वीरगंजमा करीब १५ हजार घरमा सोलार हीटर जडान भएको देखाएको छ । यसबाहेक अन्य शहरबजार र गाउँघरका पर्यटकीय गन्तव्यमा पनि देखिने सोलार हीटरको संख्या देशभर डेढ लाख हाराहारी पुगेको र प्रत्येक वर्ष १२–१३ हजार थपिने गरेको डा. बज्राचार्यको अनुमान छ ।

हाल देखिएका सोलार हीटरमध्ये ८० प्रतिशत काठमाडौं उपत्यकामा र ९० प्रतिशत होटल–लज, विद्यालय र आवासीय घरहरूमा जडान भएको तथ्याङ्कले औद्योगिक–व्यावसायिक प्रयोजन तथा उच्च हिमाली क्षेत्रका साथै देशका अन्य भागमा यसको विस्तारको ठूलो सम्भावना देखाउँछ । वाटर हीटरसँगै ड्रायर र कूकरमा पनि उपयोग भइसकेको यो प्रविधिलाई पास्चराइजर, वाष्पीकरण, हिटिङ–कूलिङ सिस्टम, स्टीम इनर्जी, तातो पानीको स्विमिङ पूल आदिमा पनि प्रयोग गर्न सकिने प्रा. बज्राचार्य बताउँछन् । तर यी सम्भावनाको अधिकतम उपयोग गर्न नेपालमा अहिलेसम्म चलिरहेको १९७० को दशकको प्रविधिमा सुधार, उत्पादन क्षमता विकास, उपभोक्ताको चेतना वृद्धि र सरकारको उचित प्रबद्र्धन हुनुपर्ने धारणा नेपाल सोलार थर्मल ऊर्जा विकास संघ (आस्टेड नेपाल)का अध्यक्ष राजु रिमालको छ ।

हाल नेपालमा बन्ने सोलार प्यानलको हिटिङ कलेक्टरमा सामान्य सिसा, ब्ल्याक बोर्ड पेन्ट गरिएको अल्मुनियमका पाता र जीआई पाइप तथा रबर वासरले सिल गरिएको साधारण केसिङ प्रयोग हुन्छ । रिमाल भन्छन्, “तर, पानी धेरै तताउन र प्यानलको तातो खेर जान नदिन ग्लेज्ड ग्लास, कोटिङ पेन्ट र सिल्ड एल्मुनियम केस भएको ‘कपर फिन’ तथा उच्चस्तरीय इन्सुलेसन भएको छरितो ‘भ्याकुम ट्यूब’ प्रविधि आएका छन् । नेपाल भने अहिलेसम्म विश्वमा कहीं बाँकी नरहेको परम्परागत प्रविधिमै अड्किइरहेको छ ।” नेपालले कि त आफैं नयाँ प्रविधि निर्माण गर्नुपर्छ, नसके बाहिरबाट भए पनि स्तरीय र सस्तो प्रविधि ल्याएर उपभोक्तालाई अधिकतम लाभ दिलाउनुपर्छ भन्ने रिमालको विचार छ ।

२०३६ सालदेखि सोलार वाटर हीटर उत्पादन गर्दै आएको सन वर्कस् नेपालका नारायण श्रेष्ठ कपर फिन धेरै महङ्गो पर्ने र भ्याकुम ट्युबको गुणस्तरमा एकरूपता नभएकोले नेपालमै बन्दै आएको प्रविधिलाई सुधार गर्दै जानुपर्ने कुरामा जोड दिन्छन् । फष्टाउँदो बजारसँगै जताततै कारखाना खुलेका, अस्वस्थ प्रतिस्पद्र्धा बढेको र सस्तो दिने नाममा कमसल उत्पादन तथा आयात हुनथालेकोमा चिन्ता व्यक्त गर्दै श्रेष्ठले भने, “सरकारले सोलारका अन्य प्रविधिको प्रबद्र्धनमा जस्तो अनुदान सहयोग, स्तर निर्धारण र गुणस्तर नियन्त्रणमा चासो नदेखाएकोले धेरै सम्भावना भएर पनि टुहुरो बनेको छ, नेपालको सोलार वाटर हीटर ।”

ग्रामीण क्षेत्रमा सोलार विद्युत्, चुलो, ड्रायर आदिमा अनुदान उपलब्ध गराउँदै आएको तथा शहरमा पनि सोलार विद्युत्मा अनुदान दिने तयारी गरिरहेको एइपीसीले अहिलेसम्म वाटर हीटरलाई त्यस्तो सहयोग गरेको छैन । जल तथा शक्ति आयोग (वेक्स)ले १५ वर्षअघि गरेको एक अध्ययनले सोलार वाटर हीटरको प्रयोगले नेपालमा पानी तताउन मात्रै खर्च हुने घरायसी क्षेत्रको २०, व्यावसायिक क्षेत्रको ४२ र सार्वजनिक क्षेत्रको ४० प्रतिशत विद्युत् खपत घटाउन सक्ने देखाएको थियो । यतिबेला देशभर जडान भएका करीब डेढ लाख सोलार वाटर हीटरले तताएको पानी बिजुलीले तताउनु परेको भए लोडशेडिङ कति घण्टा बढ्थ्यो होला !


कसरी चल्छ सोलार वाटर हीटर

सोलार वाटर हीटर तातो पानी चिसो पानी भन्दा हल्का हुन्छ भन्ने ‘थर्मो साइफन’ सिद्धान्तमा आधारित प्रविधि हो । सोलार प्यानलको कालो रङ लगाइएको पाइप र पाताको कलेक्टरले घामको ताप सोसेर पाइपभित्रको पानी तताउँछ र तातेको हल्का पानी माथि सर्दै ट्याङ्कीमा जम्मा हुन्छ ।

ट्याङ्कीबाट धारामा जाने तातो पानी त्यसको माथिल्लो भागमा र रिजर्भ ट्याङ्कीबाट आउने चिसो पानी तल्लो भागमा बसेको हुन्छ र तलको पानी घाम लागेको बेला कलेक्टरमा तात्दै माथि जम्मा हुने क्रम चलिरहन्छ । सूर्यको तापबाट चल्ने यो प्रविधिमा पानी तताउन विद्युत्, तेल, ग्यास वा आगो जस्ता कुनै ऊर्जा आवश्यक पर्दैन । एकपल्ट जडान गरेपछि बेलाबखत सामान्य मर्मतसम्भार बाहेक नियमित संचालन खर्च नलाग्ने यो प्रविधिले सामान्यतया २०–२५ वर्ष निर्वाध काम गर्छ ।

comments powered by Disqus

रमझम