यताका नन्दी, उताका साँढे

Share:
  
- कनक दीक्षित

नेपालको नन्दी र कम्बोडियाको साँढे ।
पशुपतिनाथको सेवामा खडेमान देखिन्छन्, हाम्रा नन्दी; कान ठाडा, कुनै पनि बेला परेमा जुरुक्क उठ्न तम्तयार मुद्रामा । तर कम्बोडिया र भियतनामका नन्दीहरूको अर्कै ‘पोज’ छ ।

शताब्दीयौं अगाडि हिन्दूधर्मसँगै शिव भगवान र उनका वाहन नन्दी पनि दक्षिणपूर्व एशिया पुगे । आज त्यो क्षेत्रमा हिन्दू धर्म त मात्र अंग्कोर जस्ता पुरातात्विक स्थलहरूका मूर्तिहरूमा फेला पर्छ । त्यहाँका नन्दीहरू चारवटै खुट्टा एकातर्फ पसारेर, पुच्छर पनि छेवैमा लतारेर बसेका छन् । यस्ता नन्दीले कसरी शिवजीको रखबार गर्लान् ! परेमा जुरुक्क उठेर सुरक्षा दिन अथवा बुई चढाएर रफूचक्कर कसरी मार्लान् ! साँच्चै कम्बोडिया र भियतनामका नन्दीहरू हेर्दा लाग्दछ– संसार परिक्रमा सकेर भगवानलाई मन्दिरभित्र हुलेर लखतरान भएर पल्टँदै थकाइ मारिरहेका छन् ।

‘राष्ट्रिय सांस्कृतिक’ चरित्र पनि खोज्न सकिन्छ यताका र उताका नन्दीको बसाईमा । यताका एकदमै नूनको सोझे गर्ने खालका नन्दी छन् । अनि अर्को तरीकाले हेर्दा चाँही आफ्नो मष्तिष्क अथवा विवेक प्रयोग नगर्ने, मालिकको निर्देशनमा चल्ने । मानौं, नेपाली नन्दी यस्ता सेवक हुन्; जो आधिकारिक आदेशको पालना मात्र गर्दछन्, प्रश्न कहिल्यै उठाउँदैनन् । यस्तो बौद्धिक र जनता पाए हाकिम र नेताहरूलाई पनि सजिलो, आफूले जता डोर्‍याए त्यतै गइदिने । भारी बोक् भने बोकी दिने । संविधानसभाको सदस्य चाहिँ बन्ने, तर नेताको आदेशमा ल्याप्चे लगाउन तयार हुने– उठ् भने उठ, बस् भने बस् ।

झ्ट्ट हेर्दा उताका नन्दी चाँही अल्छी, छाडा, विलासितामा डुबेको जस्तो देखिएलान् । तर नजर आ–आफ्नो न हो । त्यत्रो भयंकर भगवान शम्भोको अगाडि पनि कत्ति नझुकेको– कस्तो स्वाभिमानी साँढे ! प्रभावशाली व्यक्तित्व अगाडि नतर्सिने स्वभाव । आफ्नो अस्तित्व, पहिचान र अस्मितामा यति विश्वास कि हाकिमले के भन्ला भनेर रत्तिभर पीर नाईं । कुनै पनि कुराको विश्लेषण कति आत्मपरक हुन सक्छ भन्ने उदाहरण पनि हो यो । नेपाली नन्दी र कम्बोडियाली नन्दीलाई मैले जसरी परिभाषित गरें, गर्न रुचाएँ, त्यहीं नै विचार झ्ल्कने गरी प्रस्तुत वकालत गरें । यसमा पाठकलाई झुक्याउन खोजेको, आफ्नो पूर्वाग्रह लाद्न खोजेको भन्ने आरोप पनि आउला ! तर यो त एउटा विचारको प्रस्थानबिन्दु न हो, फेरी विमति राख्ने ठाउँ त छँदैछ ।

मैले काठमाडौंको नन्दीलाई आदर्शका प्रतीकको रूपमा पेश गर्न सक्थें । निष्ठावान्, नूनको महा सोझे, नियम पालना गर्ने, कानुनी राजको पक्षधर आफू भन्दा ठूलाको सम्मान गर्ने, जवाफदेही, कर्तव्यबाट विचलित नहुने । त्यस्तो गोरु !

अनि उता कम्बोडियाको नन्दी भने उच्छृंखल, खुलेआम अराजक, कानून र संस्कार मिचाहा । त्यस्तो साँढे !

तर, विश्लेषणको लागि ‘प्रतिक’को प्रयोग न हो– जसलाई पाठकमाथिको अन्याय भन्न नमिल्ला ! आखिर लेखनको तौल अथवा वजन त ‘प्रतिक’ भन्दा पनि प्रस्तुत तर्क तथा धरातलीय यथार्थमा भर पर्दछ ।

द्वन्द्वकालपश्चात् अलिपरको कम्बोडिया र भियतनाम अनि नजिकको श्रीलंकामा कत्रो विकास र आर्थिक अग्रगमन छाएको छ । नेपालमा भने झ्न्–झ्न् अन्योलको अवस्था सिर्जना भएको जस्तो छ । यस्तो किन भयो त ? किनभने नेपालमा विचार निर्माणकर्ता रहेनछन् । रहेछन् त मात्र आदेश पालक । श्री प्रचण्ड प्रतापी पशुपतिनाथले जे भन्यो त्यही गर्ने, या त डर–त्रास र धम्कीका कारण, वा आफ्नो विवेकको प्रयोग नगर्ने बानीले अथवा चाकरी प्रवृत्तिले । शासकीय स्वरुपमा ‘प्रत्यक्ष कार्यकारी’को आदेश भयो– हवस् !, नयाँ संविधानमा पहिचानमा आधारित संघीयता राख्न आदेश भयो– हवस् ! आफ्नो मस्तिष्क प्रयोग गर्नै नपर्ने– हाई सञ्चो ! गाई–गोरु अथवा भेडाको बथान अथवा पशुपतिनाथको नन्दी जस्तो जे अह्रायो त्यही गर्‍यो, ढोका अगाडि कुर्न भने भोले बाबाले, महिनौं भए पनि त्यहीँ कुर्‍यो ।

यस्तो नन्दी भन्दा त कम्बोडियाको नन्दी नै जाति । दिमागमा तिखो, ठीकलाई ठीक, बेठीकलाई बेठीक, विचार पुर्‍याएर एकचोटि नाईं भनेपछि प्रलोभनमा ‘हाँ जी’ नभन्ने । एउटाले सद्दे देश बिगार्दछ, अर्कोले बिग्रेको देश बनाउँछ । नन्दी होइन साँढेको विचारले जितोस् । कम्बोडियाली साँढेले श्री पशुपतिनाथमाथि रखबारी गरुन् !

comments powered by Disqus

रमझम