८-१४ फागुन २०७३ | 19-25 February 2017

आफ्नो सत्तामा धक्का लाग्दा दिपेन्द्रजीलाई दुख्यो

Share:
  
- सरला गौतम
भ्रमको कुहिरो फिंजाएर समाजलाई दिग्भ्रमित मात्र गर्ने आवाजलाई कुनै समुदायको प्रतिनिधि आवाज किन मान्ने लोकतन्त्रमा? सबैको सबैथरी विचार मुखरित हुन पाउनुपर्छ कि पर्दैन?

हिमाल साप्ताहिकमा प्रकाशित मेरो रिपोर्ट (पहाड–मधेश दूरी बढाउने कार्ड, १६–२२ माघ) माथि दिपेन्द्र झाले जनाएको असहमतिलाई स्वागत छ। कमसेकम खुला छलफल त गर्न पाइयो। म हातमा एउटा डायरी, कलम, क्यामेरा र रेकर्डर बोकिहिंड्ने एक रिपोर्टर हँ न कि विचारक। त्यसैले, दिपेन्द्रजीका विचारलाई बुँदागत रूपमा काट्ने वा प्रतिक्रिया दिने मेरो ध्येय छैन।

हिमाल, पहाड र तराईका मानिसहरूले देशमा लोकतन्त्र आएपछि के भने, के महसूस गरे र के चाहन्छन्– मैले यिनै विषयमा लेख्दै आएकी छु। म साना मान्छेका सपना र संघर्षका कुरा सुन्छु र त्यसलाई पेश गर्छु। म आफैं महान् विचार दिंदै हिंड्ने मानिस होइन संकलक मात्र हुँ। समावेशिता र लोकतन्त्र जस्ता विषयमा मैले कहिल्यै कतै कुनै प्रस्तुति दिएको छैन, दिने विचार पनि छैन। तर आम मानिसको आवाज देशका मूलधारका संचारमाध्यममा आउनुपर्छ भन्ने मान्यताबाट प्रेरित भएर त्यसकै लागि गत १२ वर्षदेखि काम गरिरहेकी छु– शुरूमा रेडियो र अहिले पत्रपत्रिकाबाट।

यो हैसियतमा देशका कुनै पनि कुनामा पुग्दा मैले कहिल्यै पनि कुनै समुदायबाट अपहेलित र असुरक्षित महसूस गरिनँ। डरलाग्दा भीरमा, तराईका फाँटमा त्यहाँको समाज मसँगै उभियो। हरेक समाजमा रहने केही काला धब्बालाई म ती समाजको परिचय ठान्दिनँ।

रिपोर्ट र यसको विश्वसनीयतामाथि तपाईंको प्रश्नको जवाफ म दिन्न। खोजपत्रकारिता केन्द्र र हिमाल खबरपत्रिकाले रिपोर्ट विश्वसनीय मानेर नै प्रकाशन गरेको मेरो बुझ्ाइ छ। रह्यो कुरा सन्तुलनको– त्यो पनि नेपाली सञ्चार क्षेत्रमा बलियो साख बनाएका यी दुवै संस्थाहरूले देखेर नै प्रकाशनयोग्य मानेको हुनुपर्छ।

यति भूमिका बाँधेर म यो जवाफ किन लेख्दैछु भने तपाईं आफ्नो प्रतिक्रिया राख्ने क्रममा यति डरलाग्दा कुराहरूसहित प्रस्तुत हुनुभयो। त्यसले मलाई नेपाली समाजमा आजपर्यन्त कायम बहुलवादी चरित्रमाथि नै धावा बोलिएको महसूस भयो। सानैमा भोरवामा गाइने फगुवा सुन्दै आएकी म तराई–पहाड डुल्दै हुर्किएँ। पहिलो पटक मलाई तपाईंले भन्नुभयो– 'पहाडी मूलकी महिलाले श्रव्यदृश्य रेकर्डिङ गरिराख्दा...।' तपाईंको विचारमा मैले मधेशमा काम गर्न नपाउने हो? या तपाईं वा मधेशको मुद्दालाई आफ्नो मुठीमा राखेको ठान्ने अरू कसैको अनुमति लिनुपर्ने?

दिपेन्द्रजी, नबिर्सनुस् कि मधेशका बासिन्दाको हक सम्पूर्ण देशमा लाग्छ। र, म 'पहाडी' केटीको हक पनि सम्पूर्ण मधेशमा लाग्छ। रात–बिरात, घामपानी कस्तै समयमा काम गर्दा पनि मलाई मधेशमा एकरत्ति भय र संकोच भएन। म ठान्दिनँ मधेश केही मानिसहरूका लागि मात्र राजनीति गर्ने थलो हो। यो जति तपाईंको हो, त्यति नै मेरो पनि हो। मधेशमा भइरहेका राजनीति र विकासको गतिविधिमाथि चासो राख्ने र लेख्ने मेरो हक हो।

मूलको कुरा गर्ने तपाईं को हो दिपेन्द्रजी? 'मूल खोतल्दै गए हामी नेपालका कोही रहन्नौं। यस्तो विवादित र विभाजोन्मुख कुराको पछि नलाग्नु!' रिपोर्टिङको क्रममा जो–जो मूल भनेर अहं प्रकट गर्थे, मेरो कानमा प्राध्यापक चैतन्य मिश्रका यिनै वाणी गुञ्जन्थे।

दिपेन्द्रजी, लोकतन्त्र र समावेशीपन भनेको पुछारमा परेका मानिसहरूको दुःखदर्द केन्द्रमा आउनु त हो नै देश, समाज र राजनीतिबारेमा उनीहरूको विचारले पनि केन्द्रमा 'स्पेस' पाउनु हो। पछाडि पारिएका समुदायको नाममा वर्षौं एउटै थर, जात र समुदाय (पहाडको होस् या मधेश) को आवाजले मिडिया कब्जा भइरहनुलाई म लोकतन्त्र मान्दिनँ।

'मधेशी नेतृत्वलाई सद्भावको जस किन दिनुहुन्न...' भन्ने तपाईंको सवालमा, मेरो भन्नु यत्ति छ कि मैले खोजेर रिपोर्टमा समावेश गरेका त्यतिका नागरिकलाई त तपाईंले नागरिक नै मान्नुभएन। अनि भन्नुभयो, 'रिपोर्टमा लेखिएको जस्तो स्वर आफू मधेश जाँदा सुन्दिनँ...।' तपाईं आफ्नै स्वर बोकेर मधेश र्झ्नुहुन्छ, त्यही लिएर काठमाडौं फर्कनुहुन्छ। तपाईंहरूले सामान्यजनको स्वर सुनेको भए अहिले हामीबीच यो सवाल–जवाफ हुने नै थिएन।

'मधेशका सर्वसाधारण राजनीतिक विषयमा यसरी खुला बोल्दैनन्...' भन्ने तपाईंको विचारमाथि म केवल 'कठै!' भन्न सक्छु। तपाईं निर्धक्क बोल्न सक्ने र विचार दिन सक्ने आफू र आफू जस्तैलाई मात्र नागरिक ठान्नुहुँदोरहेछ। सामाजिक–आर्थिक हैसियतमा पछिपरेका नागरिकको बोली पनि के बोली तपाईंका लागि, हैन त? तर म परें यिनै बोली खोज्दै हिंड्ने मानिस। मधेशका ती सामान्यजन खुशी हँुदै निर्धक्क बोलेका थिए, मसँग। बरु तपाईंले नै भय देखाइदिनुभयो। मधेशी नागरिकको लागि म अर्को चेली थिएँ, तर दिपेन्द्र झाजी तपाईंले 'पहाडी मूलकी रिपोर्टर' देख्नुभयो। तपाईंले दूरी बढाउन खोज्नुभयो, तर म मधेशसँग दूरी महसूस गर्दिनँ।

वीरगन्जमा बसेर मधेशको आवाज मुखरित गरिरहेका पत्रकार भूषण यादव भन्थे, “काठमाडौंमा बसेर मधेशवादी हुनेलाई लाग्दो हो म 'अल्टर' कुरा गर्दैछु। देख्नुभो सरलाजी, मधेशी समाजको ठूलो हिस्सा के भन्दैछ? किन म यिनै मानिसहरूको बीचमा निर्भयसँग बसिरहेछु थाहा पाएर जानुस्!”

भ्रमको कुहिरो फिंजाएर समाजलाई दिग्भ्रमित मात्र गर्ने आवाजलाई कुनै समुदायको प्रतिनिधि आवाज किन मान्ने लोकतन्त्रमा? सबैको सबैथरी विचार मुखरित हुन पाउनुपर्छ कि पर्दैन?

पहिलो मधेश आन्दोलनको उपलब्धिलाई मधेशका तल्लो वर्गसम्म पुर्‍याउन ढिलो भयो। आम मधेशीजन अब स्थिरता र विकासको पक्षमा छन्। निकासा भएको बजेटको सदुपयोग र कार्यान्वयनको पक्षमा छन्। काठमाडौंमा पहिचानको गोष्ठी चलिरहँदा उनीहरू उखुको मूल्य नतोकिएको चिन्तामा हुन्छन्। चिन्तित हुन्छन् उनीहरू जब खलिहानको धान भकारीमा पुगेको महीनौंसम्म पनि न्यूनतम मूल्य तोकिंदैन। आफ्ना नाममा राजनीति गर्नेले यी कुरा सदनमा उठाउन् भन्ने उनीहरू चाहन्छन्, जसको बलमा आर्थिक उन्नति होस्।

मधेशका सामान्यजनले बेमेलको होइन मेलको राजनीति चाहेका छन्। र; चाहेका छन्, मधेशी समाजमा पनि मिश्रित समुदायको चमक बहाली रहोस्। सयौं मानिसलाई भेटेर उनीहरूको कुरा प्रकाशमा ल्याउनु भूल हो भने मलाई यो भूल गर्न कुनै संकोच छैन।

तर यी र यस्तै आम आवाजहरू कसैगरी ठाउँमा पुगोस् भनेर गरिएको अन्तरक्रियालाई तपाईंले झिनो ठान्दा मन हल्लियो, तर केहीबेर मात्र। मधेशमा मैले जुन माया र हौसला पाएँ, त्यसको बलमा म फेरि पटक–पटक मधेश जान्छु। तपाईंले झ्िनो ठान्नुभएका आवाजहरू फेरि पनि सुन्छु र लेख्छु।

दिपेन्द्रजी, कुनै पनि सत्तामा धक्का लाग्दा दुख्छ। साना मानिसले बोले भने त झ्नै दुख्छ, सत्तासीनहरूलाई। मिडियाको बजारमा जुन एकतर्फी विचारको सत्ता छ, त्यसलाई एक दलित मधेशी महिलाले चुनौती दिंदा दुख्छ, तपाईंलाई पनि दुख्यो। मन त थिएन दुखाउन कसैलाई। के गरौं विवश छु, तपाईंलाई 'अप्रिय' लाग्ने यही काम गर्ने जाँगर जो ममा पलाएको छ र फक्रिंदो छ।

comments powered by Disqus

रमझम