८-१४ फागुन २०७३ | 19-25 February 2017

अब जैतुन जिल्ला

Share:
  
प्रायः खाद्यान्न अभावका कारण समाचार बन्ने बाजुरालाई जैतुनले समृद्ध बनाउने सम्भावना देखिएको छ।

कोल्टी गाविसको जनप्रकाश उच्च माविमा लगाइएको जैतुन।
विश्वमा सबभन्दा धेरैले रुचाएको जैतुन बाजुराका लागि नयाँ होइन। यहाँका जंगलमै पर्याप्त जैतुन पाइन्छ, संरक्षण र उपयोग मात्र नभएको हो। सधैं खाद्य अभाव हुने यो जिल्लालाई आर्थिक समृद्धि दिनसक्ने जैतुनको अब भने उपयोग हुने भएको छ। यो वर्ष मात्र जैतुनका लागि विभिन्न शीर्षकमा रु.३ करोड बजेट आएको छ।

नेपाली बजारमा विदेशी जैतुनको तेल अहिले प्रतिलिटर कम्तीमा रु.२५०० मा किनबेच हुने गरेको छ। मानव स्वास्थ्यका लागि उत्तम मानिने जैतुनको तेल शरीरमा घस्न पनि प्रयोग गरिन्छ। सुक्खा ठाउँमा हुने जैतुन नेपालको बाजुरा र डोल्पा जिल्लामा प्राकृतिक रूपमै पाइन्छ। केही वर्ष पहिले गैरसरकारी संस्था एचआरसीले गरेको अध्ययनले बाजुराका जंगलमा तीन प्रजातिका जैतुन फेला पार्‍यो। एचआरसीका लक्ष्मण जोशीका अनुसार, जिल्लाका जगन्नाथ, वाई, कोटिला, कोल्टी, रुगिन, बाह्रबिस र ब्रह्मतोला गाविसका जंगलहरूमा ती जैतुन पाइएका थिए। गाउँलेले जैतुनका बुटा जथाभावी फाँड्ने गरेको पनि पाइएको जोशी बताउँछन्। जगन्नाथ गाविसका वीरबहादुर शाही भन्छन्, “अहिले जैतुनको महत्व थाहा भए पनि त्यसबाट तेल निकाल्ने विधि जानेका छैनौं।”

जैतुन परीक्षण सफल

इटली सरकारको सहयोगमा सन् २००६ बाट कोल्टीको जनप्रकाश उमाविमा गरिएको जैतुनको परीक्षण खेती सफल भएको छ। जैतुन परीक्षण केन्द्रका परियोजना अधिकृत जनेश भण्डारी परिणाम निकै राम्रो आएको बताउँछन्। उनका अनुसार, ३.५ हेक्टरमा लगाइएको उन्नत जातको सहित २८ प्रजातिका ६३६ बिरुवा रोपिएकोमा अहिलेसम्म २४ प्रजातिका जैतुन फलेका छन्। उनी भन्छन्, “त्यसमध्ये पनि १० प्रजातिका जैतुन व्यावसायिक खेतीको लागि सिफारिश भएको छ।”

त्यसकै परिणाम, यो वर्षबाट बाजुराका वाई, जुकोट, बाँधु र जगन्नाथ गाविसमा पहिलो पटक 'प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना' अन्तर्गत 'जैतुन जोन' कार्यक्रम शुरू भएको छ। 'जैतुन जोन' का लागि ५०० हेक्टर जग्गा हुनुपर्ने प्रावधान छ। यो कार्यक्रमसँगै बाजुराको फलफूल विकास निर्देशनालयमा जैतुन विकास केन्द्र स्थापना हुने भएको छ। त्यसका लागि आवश्यक २० हेक्टर जग्गा हेर्ने काम भइसकेको सहायक प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाही बताउँछन्। केन्द्र स्थापना भएपछि नर्सरी खोलेर किसानलाई जैतुनका बिरुवा दिनेदेखि अन्य प्राविधिक सहयोगको काम हुनेछ।

बाजुराका धेरैलाई जैतुनको महत्व थाहा थिएन। थाहा पाएकाहरूले पनि संरक्षण विधि र तेल निकाल्ने विधि जानेका थिएनन्। दुई वर्षअघि कोल्टीमा राखिएको जैतुन पिस्ने मील बाढीले बगाएको थियो। परिणाम, करोडौंको जैतुन पाकेर खेर गइरहेको छ। जैतुनको दाना असोजमा पाक्छ। वाई–६ का आनन्दसिंह कठायत जङ्गलभरि जैतुन पाकेर चराले खाएको देखे पनि त्यसलाई संकलन गरेर तेल निकाल्ने विधि र मेशीन नभएको बताउँछन्।

गरीबीको सूचीमा देशकै पुछारमा रहेको बाजुरामा जैतुनको व्यावसायिक खेती हुनसके यो जिल्लाले समृद्धिमा फड्को मार्ने अध्ययनकर्ता बताउँछन्।

प्रकाश सिंह, बाजुरा

comments powered by Disqus

रमझम