८-१४ फागुन २०७३ | 19-25 February 2017

टावर प्रदूषण

Share:
  
धमाधम घरका छत छोप्न थालेका मोबाइल फोनका टावरहरूले शहर कुरुप बनाइरहेका छन्।

राजधानी काठमाडौं अहिले 'लाइफ सेभिङ सर्जरी' (जीवनदायिनी शल्यक्रिया) मा सुताइएको बिरामीको हालतमा छ। शिरदेखि पाउसम्म चिरिएका, खोपिएका र घोचिएका छन्। काठमाडौंको यति ठूलो शल्यक्रिया यसअघि कुनै पनि नगरवासीले शायदै देखेका/भोगेका होलान्। हिउँदमा कुहिरोले शहर छोपिएको भए मौसमी चक्र मान्न सकिन्थ्यो, तर धूलो र धुवाँ भित्रै शहर हराउनु चाहिं शहर बिरामी रहेको जनाउ हो।

नगर, महानगर अनि त्यसमाथि पनि राजधानी शहरसँग तीन 'स' जोडिन्छन्। सुन्दर, सुरक्षित र सुविधासम्पन्न। काठमाडौंलाई यी तीन 'स' का मापदण्डमा हेर्‍यौं भने, नतीजा चुनावमा जमानत जफ्त उम्मेदवारको जस्तो हुन सक्छ। मेलम्ची नाममा सडक खनाइको औचित्य सुविधासँग जोडिएकाले यसका सरोकारवालाहरूले तमाम सकसका बाबजूद पनि शंकाको सुविधा लिएका छन्। तर, यहाँ चर्चा गर्न खोजिएको विषय चाहिं बाँकी दुई 'स' सँग सम्बन्धित छन्।

हिजो–आज म एकखाले फोनबाट आक्रान्त छु। सडक विस्तारमा परेको पुरानो घर भत्काएर नयाँ घरको निर्माण लगभग सकिंदाको अवस्थामा घरको धुरीतिर धेरैको कर्के नजर पर्न थालेछ। उनीहरू घरको धुरीमा एनसेल र एनटीसी का मोबाइल टावर ठड्याएर महीनावारी बुझाउन चाहिरहेका छन्। तर, मेरानिम्ति कंक्रिटको जङ्गलमा परिणत खुम्चिंदो शहरमा सबैभन्दा रमाइलो र घमाइलो स्थान नै घरको छानो हो। यो आफैंमा सानो र सुन्दर संसार पनि हो। कौसीमा उक्लिंदा मात्र पनि जाडोमा घामको राप र गर्मीको शुष्क हावाको निश्वास लिन सकिन्छ। छतबाट उत्तरतिर देख्न सकिने हिमश्रृंखला वर्णनातीत हुन्छ।

शहरमा मोबाइल र इन्टरनेटका टावर यतिसम्म छ्यापछ्याप्ती ठडिएका छन् कि उत्तरका हिमाल हेर्न समेत टावरबाट छलिनुपर्छ। टावर राख्न दिएर सानो रकम हात पार्नेहरूले सोच्नुपर्ने हो, भूकम्पीय जोखिममा रहेको काठमाडौंमा टावरको समेत ५–१० टनको थप भार बोकाएर उनीहरूले आफ्नै आवास जोखिमयुक्त बनाएका छन्। गत वर्षको महाभूकम्पमा त्रि.वि. शिक्षण अस्पताल नजीक मूल सडकछेउको टावरवाला घर गर्लम्मै ढलेको थियो। तर, विपत्बाट पाठ नसिक्ने र चाँडै विस्मृतिमा पुग्ने हाम्रो बानीका कारण टावर ठड्याउने प्रचलन फेरि बढ्दैछ। टावरबाट हुनसक्ने इलेक्ट्रो–म्याग्नेटिक रेडियसनको जोखिमबारे भने मानिस झ्नै वेखबर देखिन्छन्। बालबालिकालाई मोबाइल बोक्न नदिनु भन्नुको कारण नै यही हो तर विशाल टावरको फेदमुनि घाम तपाइँदा वा तेल लगाइँदा चाहिं विकिरणबारे कुनै हेक्का राखिन्न।

विकसित मुलुकहरूमा निजी भवन वा आवास ताकेर टावर ठड्याएर शहर विरुप र असुरक्षित बनाइन्न। त्यहाँ निश्चित स्थानमा ठूला क्षमताका टावर ठड्याइएका हुन्छन्, जसलाई सुरक्षित फेन्सिङ (घेराबन्द) गरिएको हुन्छ। उच्च क्षमताका टावरका कारण त्यहाँ यहाँ जस्तो नेटवर्कको समस्या पनि हुँदैन।

टावर हटाउने संकल्प

निजी एनसेल र सरकारी स्वामित्वको नेपाल टेलिकम मुलुककै शीर्ष दुई करदाता कम्पनी पनि हुन्। गत आर्थिक वर्षमा यी दुई संस्थाले तिरेको कर रु.४० अर्बभन्दा बढी छ। यी संस्थाहरूले कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी (सीएसआर) अन्तर्गत विभिन्न सामाजिक र जनहितका क्रियाकलापमा आफूलाई सहभागी पनि गराइरहेका छन्। जुन प्रशंसनीय हुँदाहँुदै पनि आयको अनुपातमा न्यून देखिन्छ।

आम्दानी उब्रिएर (सरप्लस) हो वा तीव्र प्रतिस्पर्धाका कारण, केही वर्षअघिसम्म एनसेल ले दशौं लाखको नगद, चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीदेखि विलासी र विद्युतीय सामग्रीहरूको 'धनपति उपहार' कार्यक्रम चलाउँथ्यो, जसलाई सरकारले नै रोक्नु पर्‍यो। मार्केटिङका नाममा एजेन्टमार्फत उरालधुराल खर्च गर्ने यी संस्थासँग टावर बनाउनै पुग्ने नभएको त पक्कै होइन। तर, विचौलिया/एजेन्टको कमिशन र सजिलो रकम (इजी मनी) को प्रलोभनमा टावरको भार आफ्नो घरलाई बोकाउन तम्सने घरधनीका कारण नै यस्ता कम्पनीले सजिलो बाटो रोजेको हुनुपर्छ। यसो हुनुमा दूरसंचार नियामक संस्था नेपाल दूरसंचार प्राधिकरण (एनटीए) उत्तिकै जिम्मेवार छ।

टावरको हल टावर नै हो। एनसेल, एनटीसी ले एनटीएले निर्दिष्ट गरेको स्थानमा ठूलो क्षमताको एकीकृत टावर स्थापना गरी मोबाइल फोन, इन्टरनेट, स्याटेलाइट टिभी आदिका लागि प्रयोगमा ल्याउन सक्छन्। यसो गरिंदा छुट्टाछुट्टै टावरमाथिको खर्च जोगिने मात्र होइन उच्च क्षमतायुक्त टावर पनि बन्छ। यसको निर्माण र संचालन खर्च सेवाग्राही कम्पनीहरूबाटै असुल गर्न सकिन्छ। आज जसरी केवल टिभी, इन्टरनेटका लाइन प्रयोग गर्न दिएबापत विद्युत् प्राधिकरण वा एनटीसीले भाडा असुल गरिरहेछ, भोलि ठूला टावरलाई यही प्रयोजनमा प्रयोग गर्न सकिन्छ। यसो गरिए मात्र शहर सुन्दर र सुरक्षित बनाउन ती कम्पनीहरूले वास्तविक सामाजिक उत्तरदायित्व वहन गरेको ठहरिनेछ।

comments powered by Disqus

रमझम