८-१४ फागुन २०७३ | 19-25 February 2017

स्मार्ट जीवन

Share:
  

विश्वराम बलामीले सीतापाइला हाइटस्थित घरमा 'डिजिटल डोर लक सिस्टम' जडान गरेका छन्। यो प्रविधिबाट मोबाइल, कार्ड र आँखाको सेन्सरबाट ढोका खोल्न सकिन्छ। यो प्रविधिले ग्याजेटको प्रयोग घरभित्रको सुरक्षासम्म तानेको छ। यसलाई उनी प्रविधिको नवीन उपयोग मान्छन्।

संसारका नयाँ प्रविधि प्रयोगमा नेपाली उपभोक्ता पनि कम छैनन्। युवा पुस्ता नयाँ ग्याजेटप्रति आकर्षित छन्। त्यसो त अहिलेका बालबालिकालाई 'स्मार्ट पुस्ता' भने हुन्छ। “बालबालिका स्मार्ट फोनको प्रयोगसँगै हुर्किराखेका छन्”, कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघका महासचिवसमेत रहेका बलामी भन्छन्। प्रविधिसँग बालबालिकाको संसर्गले फरक समाज र संस्कारको निर्माण गर्ने बलामीको भनाइ छ।

प्रविधिको प्रयोगले संसार साँघुरो बनाएको छ। समय पनि बचाएको छ। काम सहज बनाएको छ। सूचनाप्रविधि विज्ञ महावीर पुन पहिले ग्याजेट्स नहुँदा पनि जीवन चलेको तर अब ग्याजेट विना जीवनयापन संभव नभएको तर्क गर्छन्।

“ग्याजेट्सले जीवनशैलीमा बहुआयामिक परिवर्तन ल्याएको छ”, उनी भन्छन्। त्यही भएर इन्टरनेट प्रोटोकल अर्थात् इन्टरनेटको उपलब्धतामा आधारित ग्याजेट्सको प्रयोग बढेको उनी बताउँछन्। राष्ट्रिय आविष्कार केन्द्र खोल्ने पुनको योजना सार्थक तुल्याउन पनि ग्याजेट्सले महत्वपूर्ण भूमिका खेलेको छ। “ग्याजेटले सोच्ने, काम गर्ने, व्यापार व्यवसाय, मानिसहरुबीचको अन्तरसंवाद गर्ने तरीका नै बदलेको छ” पुन भन्छन्।

अहिले कतिपय होम अप्लायन्सलाई इन्टरनेट मार्फत चलाउन सकिने प्रविधिको विकास भएको क्यानका महासचिव बलामी बताउँछन्। एउटै स्मार्ट फोनबाट धेरै काम गर्न सकिने भएकोले मानिसको क्रियाशीलता समेत बढेको उनको भनाइ छ।

घरपरिवारबाट टाढा भएर पनि परिवारकै साथमा नजीक तुल्याउने काममा पनि मोबाइल, ल्यापटप, ट्याब जस्ता स्मार्ट उपकरणले सघाएको छ। ब्लड ग्लुकोज मिटर जस्ता ग्याजेट्सले घरमै स्वास्थ्य जाँचको सुविधा पनि दिलाएको छ।

त्यसो त प्रविधिको बढ्दो प्रयोगले विकृति पनि भित्र्याएको तर्क गरिंदै आएको छ। बालबालिकाले पढाइको साटो भिडियो गेम र सामाजिक सञ्जालमा झुम्मिनु, प्रविधिको दुरुपयोग गरी अर्काको चरित्रहत्या गर्नु, हिंसा फैलाउनु जस्ता थुप्रै गतिविधि पनि हुन थालेका छन्। 'साइबर क्राइम'ले सुरक्षामा नयाँ चुनौती ल्याएको छ।

“केही विकृति भए भन्दैमा प्रविधिलाई नै खराब भन्न मिल्दैन, यो त विज्ञानको अनुपम देन हो”, बलामी भन्छन्, “विकृतिलाई नियमन र नियन्त्रण गरिनुपर्छ, यसमा सरकारले ध्यान दिनुपर्छ।” महावीर पुन ग्याजेटको विकास र प्रयोगसँगै यसलाई चलाउने चेतना पनि आवश्यक रहेको बताउँछन्। “प्रविधि साक्षरता बढाउन पनि ध्यान दिनुपर्छ”, उनी भन्छन्।

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम