पाँच खण्डमा विभाजित पुस्तकमा कन्हैया कुमारले आफ्नो बालापन, पटना र दिल्ली, जेएनयू र तिहाडका संस्मरणलाई इमानदारीपूर्वक पस्कने प्रयत्न गरेका छन्। राजनीतिक रुपमा सचेत उनले जीवनमा आरोह–अवरोहलाई झिजो–झर्को नलाग्ने गरी व्याख्या गरेका छन्। सरकारी विद्यालयमा कक्षामा सधैं प्रथम हुने कन्हैयालाई परिवारले थप प्रतिभाशाली बनाउन निजी बोर्डिङ स्कूलमा भर्ना गर्छन्। तर, निजी विद्यालयमा विद्यार्थीको 'गेटअप' ले सामाजिक वर्ग कसरी छुट्याउँछ भन्ने कुरा त्यहीं अनुभूत गरेको उनले लेखेका छन्। सर्टमा 'निर उजाला' लगाउने पैसा नहुँदा आमाले सस्तो निर प्रयोग गर्ने तर त्यसले आफ्नो अनुहारको चमक पनि गायब हुने रोचक प्रसंग पनि उनले उप्काएका छन्। किताबभरि यस्ता मन छुने दर्जनौं घटना वर्णन गरिएको छ।
विहारको देहाती बेगुसराय गाउँको निम्न मध्यमवर्गीय परिवारमा कन्हैया जन्मँदा भूमण्डलीकरणले पखेटा फैलाउन थालेको थियो। कन्हैयाका बाबु पूर्णकालीन राजनीतिक कार्यकर्ता थिए भने आमा स्थानीय सरकारी विद्यालय (आँगनबाडो) की शिक्षिका। आमाको आयबाट परिवारकै गर्जो टानुपर्ने बाध्यता थियो। मार्क्सवादी रुझान भएको त्यसमाथि सशस्त्र संघर्षबाट मात्रै समाज बदल्न सकिन्छ भन्ने स्कूलिङमा हुर्केका कन्हैयाले बाबुमार्फत नै पहिलोपटक क्रान्तिबाट समाज बदल्ने सपना देख्न सिके।
इन्टरमिडियट तहमा कन्हैया प्रान्तीय राजधानी पटना पुग्छन्। र, पत्रिका पसलमा पार्टटाइम काम शुरु गर्छन्। दिल्लीको ओपन युनिभर्सिटीबाट स्नातकोत्तर सिध्याएपछि भने उनमा राजनीतिप्रतिको आकर्षण चुलिन्छ। एमफिलका लागि उनी जेएनयूमा भर्ना हुन्छन्। र, भारतको पहिलो विद्यार्थी संगठन अखिल भारतीय छात्र परिषद् (एआईएसएफ) मा आबद्ध हुन्छन्।
रोकिएको जेएनयूको विद्यार्थी युनियनको निर्वाचन सर्वोच्च न्यायालयको आदेशले फुकुवा गर्छ। एआईएसएफ जेएनयूमा परम्परागत रुपमा चौथो शक्ति भएकाले अन्य वाम घटकसँग समीकरण गरेर चुनावी प्रतिस्पर्धामा भाग लिने गर्छ। रोचक कुरा त कन्हैयाले युनियनको सभापतिमा प्रतिस्पर्धा गरेको वर्ष २०१५ मा नै त्यो समीकरण पनि टुट्छ तर पनि संगठनको तर्फबाट कन्हैया सभापतिका उम्मेदवार बन्छन्।
जेएनयूमा सभापतिका उम्मेदवारले प्रेसिडेन्सियल डिबेटमा गरेको भाषणका आधारमा परिणाम प्रभावित तुल्याउन सक्छन्। कन्हैया आफ्नो भाषणबाट मतदाता मन्त्रमुग्ध पार्न सफल हुन्छन्। र, दुई दिनपश्चात्को निर्वाचनबाट सभापतिको ताज पहिरिन सफल बन्छन्। भारतीय राज्य र संस्थापनलाई गरीब पिछडा र बहिस्कृत समुदायको प्रवक्ता बनेर जेएनयूले तरंगित र कतिपयलाई 'आतंकित' पार्दै आएको छ। सन् १९७५ को संकटकाल घोषणादेखि धर्मको आडमा नरेन्द्र मोदीको उभार आउँदासम्म जेएनयूको विशिष्ट पहिचान कायम छ।
१९९० मा मण्डल आयोगले आरक्षणको दायरालाई फराकिलो बनाएपछि उच्च शिक्षामा दलित, मुस्लिम, पिछडिएका वर्ग, आदिवासी आदि समुदायका विद्यार्थीको प्रवेश बढ्दो छ। त्यो समुदायको उपस्थितिले विद्यार्थी राजनीतिलाई पनि दिशानिर्देश गरेको छ। हैदरावाद विश्वविद्यालयमा सीमान्तकृत समुदायका विद्यार्थी नेता रोहित भेमुलाको आत्महत्यापछि विद्यार्थी आन्दोलनले नयाँ मोड लियो र जेएनयूमा 'अकुपाइ यूजीसी' आन्दोलन चर्कियो। शिक्षा मन्त्री स्मृति इरानीको मन्त्रालयमा हेराफेरी हुन पुग्यो। त्योभन्दा पनि महत्वपूर्ण घटना भारतीय संसद् आक्रमणमा दोषी ठहर अफजल गुरुलाई फाँसी दिइएको वर्षगाँठमा जेएनयूभित्र प्रदर्शनी भयो। त्यो घटनामा कन्हैया कुमारको संलग्नता नभए पनि उनलाई पक्राउ गरियो र राज्यद्रोहको अभियोगमा तिहाड जेल पठाइयो। तिहाड जेलबाट १६ दिनपछि मुक्त हुँदा कन्हैयाको व्यक्तित्वले अन्तर्राष्ट्रिय आकार ग्रहण गरिसकेको थियो। रिहाइलगत्तैको उनको भाषण बहुचर्चित बन्न पुग्यो। साधारण परिवारमा जन्मेका कन्हैयाले अट्ठाइस वर्षमै असाधारण ख्याति आर्जन गर्छन्।
कन्हैयाले पुस्तकको जेएनयू खण्डमा जेएनयूको संस्कार र वातावरण बारे प्रष्ट चित्रण गरेका छन्। उनको कथामा राजनीतिक गन्ध त छ तर कृत्रिमता छैन। कन्हैयाले हिन्दीमा लेखेको पुस्तकको अंग्रेजीमा अनूदित संस्करण पनि प्रकाशित भइसकेको छ।
किताबमा कन्हैया दलित, महिला, मुस्लिमप्रति सदासयता प्रकट गर्छन् भने सत्तासीन भारतीय जनता पार्टीको विरोधमा आक्रोशित छन्। उच्च शिक्षा प्राप्तिको लागि कन्हैयाले गरेको लगन र मिहिनेतको मार्मिक वर्णन पढ्दा जोकोही विपन्न र मध्यमवर्गीय पृष्ठभूमिका पाठक कन्हैयासँग एकाकार हुनपुग्छन्। आत्मकथा लेख्न हतारो गरेको आरोप लागे तापनि पुस्तक पढिसकेपछि पाठकलाई त्यस्तो अनुभूति भने हुँदैन। किनभने, अनुभवहरुको जीवन्त चर्चाले पाठकलाई अन्तिम पृष्ठसम्म बाँधेर राख्न पुस्तक समर्थ छ।
शंकर तिवारी