८-१४ फागुन २०७३ | 19-25 February 2017

जलवायु अभियन्ता

Share:
  
'भ्वाइस अफ भल्नरेबल्स' बनाएका विनोद पराजुली अहिले गण्डकीबेसिन अन्तर्गतका नदीहरुबारे अध्ययन गरिरहेका छन्।

सेप्टेम्बर २०१६ मा विश्व ब्यांकलगायतका संस्थाहरूद्वारा आयोजित 'फिल्म फर क्लाइमेट' भिडियो प्रतिस्पर्धाका लागि चार मिनेटको नेपाली भिडियो पनि छानियो। विश्वका तीन हजार भिडियोबाट छनोटमा परेको भिडियो भोइस अफ भल्नरेबल्स का निर्देशक थिए, विनोद पराजुली (२५)।

हिमाली क्षेत्रको ट्रेकिङ्गसँगै जलवायु परिवर्तनले त्यस भेगमा परेको असरबारे अध्ययन गर्नु र वृत्तचित्रमार्फत संसारलाई जानकारी दिने अभियानले उनलाई अन्तिम स्पर्धासम्म पुर्‍याएको थियो। त्यसो त पराजुली जलवायु परिवर्तनबारे युवा अभियन्ताहरूको विश्वव्यापी सञ्जाल 'क्लाइमेट ट्रयाकर' का सदस्य समेत हुन्।

जलवायु परिवर्तनप्रति पराजुलीको रुचि नयाँ होइन। ६ वर्षअघि राजधानीस्थित त्रिचन्द्र क्याम्पसमा बीएस्सी पढ्दा विनोद पराजुली युवा रेडक्रस सर्कलका सचिव पनि थिए। रेडक्रस आयोजित विभिन्न कार्यक्रममार्फत उनले विश्वव्यापी तापमान र जलवायु परिवर्तनबारे चासो बढ्यो। गैरसरकारी संस्था 'इको' को विपत् व्यवस्थापनमा युवा अभियानमा छनोट भएका उनले ३९ जिल्लामा पुगेर जलवायु परिवर्तन, महामारीका विषयमा विद्यालयतहका विद्यार्थीलाई सिकाउने अवसर पनि पाए। १४ फेब्रुअरी २०१४ मा पराजुलीकै नेतृत्वमा काठमाडौंमा 'ऊर्जामा लगानी बढायौं, इन्धनमा लगानी नगरौं' भन्दै अम्ब्रेला र्‍याली पनि निस्कियो।

गत वर्षकै नोभेम्बरमा मोरक्कोको माराकेशमा भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी २२औं सम्मेलनमा विश्वभरबाट छानिएका ८ युवामध्ये एक उनै पराजुली थिए। माराकेशमा उनले जलवायु विज्ञ र सहभागी जिज्ञासुलाई जलवायु परिवर्तनले नेपालमा पुर्‍याएको खतिबारे जानकारी गराएका थिए।

“नेपालमा भइरहेको जलवायु परिवर्तनबारे विश्वलाई चासो र चिन्ता छ” पराजुली भन्छन्, “तर, यो कुरा बाहिर मात्रै होइन, स्थानीयस्तरमा बुझाउन पनि जरुरी भइसकेको छ।”

हिमाली क्षेत्रमा भइरहेको जलवायु परिवर्तनबारे अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले प्रदान गर्ने हाइ–अवेर छात्रवृत्ति पाएका पराजुली अहिले गण्डकी वेसिन अन्तर्गतका नदीहरूबारे अध्ययन गरिरहेका छन्। यस्ता अध्ययनले जलवायु परिवर्तनबारे नयाँ तथ्य र नागरिकको अनुकूलन क्षमता वृद्धि गर्न उपाय सुझाउने विश्वास लिएको छु”, उनी भन्छन्।

मुकेश पोखरेल

comments powered by Disqus

रमझम