८-१४ फागुन २०७३ | 19-25 February 2017

समयको स्वर

Share:
  
चार वर्षअघि अमेरिका हान्निएका हेमन्त रानाको साइली सँगैको स्वदेश पुनरागमन सान्दर्भिक ठहरिएको छ।

गोपेन राई
सम्वत् ३० को दशकमा चर्चित आमा रुँदै गाउँबेसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा लोकगायक लोकबहादुर क्षेत्रीको गीत गुन्गुनाउनेहरू अहिले कमै भेटिन्छन्। तर, यो गीतको सान्दर्भिकता भने झनै बढेको छ। गोरखपुरबाट रेलमा चढी भारत र तेस्रो मुलुकमा लाहुरे बन्नेहरूको संख्या स्वात्तै घटेको छ। तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुदै खाडी मुलुकलाई गन्तव्य बनाउनेहरूको भने ताँती नै लागेको छ। हेमन्त रानाको साइली जीवन चलाउन खाडी पुग्ने अहिलेका आम युवाको बाध्यताभित्रको पीडा हो।

सुन साइली साइली परदेशबाट म आउँला,

सुन साइली साइली चालीस कटेसी रमाउँला।

सुन साइली साइली दीयोमा तेलै हुरुरु,

सम्झी कहिल्यै नरुनु...

२८ माघमा मात्र यूट्यूबमा अपलोड गरिएको साइली को म्युजिक भिडियो अहिलेसम्म २१ लाखभन्दा बढीले हेरिसकेका छन्। साइली अल्बममार्फत हिमाल साउद र कालिप्रसाद बास्कोटाको सिर्जनामा हेमन्तको आवाज यतिबेला सर्वाधिक सुनिएको गीत बनेको छ। “खासगरी विदेशमा काम गर्ने नेपाली दाजुभाइ र दिदीबहिनीले यो गीतमा आफूलाई पाएको बताउनुभएको छ”, हेमन्त भन्छन्, “मैले पनि उहाँहरूलाई सम्झेर गाएको हुँ।” गीतसँगै भिडियोका कलाकार मेनुका प्रधान र गौरव पहाडीले पनि चर्चा पाएका छन्।

'बाथरुम सिंगर'

कलेज पढ्दासम्म बर्दियाका हेमन्तलाई गायनमा खासै रुचि थिएन। नेपालगञ्जस्थित महेन्द्र माध्यमिक विद्यालय, भृकुटी उच्च मावि र महेन्द्र बहुमुखी क्याम्पस चहार्दासम्म उनी 'बाथरुम सिंगर' मात्रै थिए। “गायन भन्दा खेलकुदमा रुचि थियो”, उनी भन्छन्।

हेमन्त सानैदेखि उसु खेल्थे। उसुमा राष्ट्रियस्तरको प्रतियोगिता समेत खेलेका उनको घरमा थुप्रै पदक अहिले पनि सजाएर राखिएको छ। तर, प्रतियोगिताकै क्रममा काठमाडौं आउँदा साथीहरूमाझ गीत गाएका उनलाई त्यो वाह्वाहीले गीत रेकर्ड गराउने चाहना बढायो।

२०५९ सालदेखि गाउन शुरु गरेका हेमन्तले २०६१ मा पहिलो अल्बम निकाले, पाप पुण्य। पहिलो अल्बमले नै उनलाई उत्साह दियो। तीन वर्षपछि दोस्रो अल्बम आयो, लैजा रे। यो अल्बमको शीर्ष गीतले हेमन्तलाई आशा गर्न सकिने प्रतिभाका रुपमा स्थापित गरायो। २०६६ मा निकालेको मेरो आकाश ले उनलाई थप उँचाइमा पुर्‍यायो। बास्ना विना, केही कुरा, सयौं जुनी, जति माया लाए पनि, लैजा रे लगायतका उनका पुराना गीत दर्शकका रोजाइमा परिरहेकै छन्।
तर, यही बेला हेमन्त अमेरिका हान्निए। न नयाँ गीत आए, न अल्बम। एक हिसाबले हराए। “म अमेरिका–नेपाल आउजाउ गरिरहेकै थिएँ, गीत पनि गाइरहेकै थिएँ, तर नयाँ अल्बम निकाल्न सकिनँ”, उनी भन्छन्।

द इनर कोर

साइली सँगै फर्किएका हेमन्तले भर्खरै ब्याण्ड बनाएका छन्, द इनर कोर। पाँच जनाको यो ब्याण्डमा उनीसहित विशाल पौडेल, सुरेन्द्र लामा, सुरज बिष्ट र सुन्दर महर्जन छन्।

तर, ब्याण्डको नयाँ प्रस्तुति भन्दा पहिले साइली अल्बमका अन्य सात गीतको प्रचारमा केन्द्रित हुने हेमन्तको योजना छ। हेमन्त र कालिप्रसादसँगै यी सात गीतमा कल्याण सिंह, सन्नी सुमनको सिर्जना पनि रहेको छ। अल्बमका बोक्सी, ऐना, जीवनको कहानी, देब्रे संसार, पीपल बोट, तिमी नभई र भन गीतलाई विस्तारै सार्वजनिक गर्ने सोच उनीहरूले बनाएका छन्। “पालैपालो यू–ट्यूबमार्फत सार्वजनिक गर्छौं”, हेमन्त भन्छन्।

साइली को सफलताले अरु गीत 'कस्तो हुने हो' भन्ने थोरै डर पनि नभएको होइन। तर, यसले उत्साह थपेको उनी बताउँछन्। हेमन्तलाई भने त्यसमध्येको पनि भन गीतले छोएको छ। भन मा भनिएको छ,

रमाइलो पलमा रमाइलो क्षण छ,

साथीसंगी धेरै छन् तर तिमी छैनौ।

कसो गरी बुझौं म कसो गरी सोचुँ म

तिमीसामु आउने बहाना खोजुँ म

भन...।

बच्चु विक

comments powered by Disqus

रमझम