६-१२ चैत २०७३ | 19-25 March 2017

बालिकामै बढी

Share:
  
छोरीमाथिको विभेदका कारण सुदूरपश्चिमको बाजुराका बालिकाहरू नाबालकमै कुपोषणको शिकार बनिरहेका छन्।

प्रकाश सिंह
कुपोषण जाँच गराउँदै दोगडीका महिला।
बाजुरामा कडा खाले कुपोषण देखिएका बालबालिकामध्ये ६२ प्रतिशत बालिका छन्। सरकारको बाल स्वास्थ्य महाशाखाको एकीकृत शीघ्र कुपोषण व्यवस्थापन कार्यक्रम (आईएमएएम) ले गरेको स्वास्थ्य परीक्षणका क्रममा बालकभन्दा कुपोषित बालिकाको संख्या बढी पाइएको हो। कार्यक्रम अन्तर्गत जिल्ला स्वास्थ्य कार्यालय, बाजुराले गत भदौदेखि जिल्लाभरका ६ महीनादेखि पाँच वर्षसम्मका १३ हजार ६८४ जनाको स्वास्थ्य जाँच गरेको थियो।

कार्यालयका अनुसार, जाँच गरिएका बालबालिकामध्ये ६४९ जनामा कडा कुपोषण र १ हजार ४९० जनामा मध्यम कुपोषण देखिएको थियो, जसमध्ये क्रमशः बालिकाको संख्या ४०१ र ७४२ रहेको छ। “कडा र मध्यम कुपोषितमध्ये करीब ५३ प्रतिशत बालिका नै देखिए”, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. मोहन नाथ भन्छन्।

साप्पाटा–९ की काली बिक त भुक्तभोगी नै हुन्। छोरो जन्माउँदा राम्रो हेरचाह पाएकी उनले त्यसपछि छोरी हुँदा अपहेलना सहनुपर्‍यो। अहिले उनकी छोरी कुपोषणबाट पीडित छिन्। “गाउँमा छोरीहरूलाई बालखैदेखि खान पुगेको छैन”, उनी भन्छिन्।

डा. नाथको अनुमानमा, बालिकामा बढी कुपोषण देखिनुमा छोरा र छोरीबीचको भेदभाव नै मुख्य कारण हो। “जन्मेका सन्तानमा छोरालाई बढी स्याहार्ने तर छोरीलाई बेवास्ता गर्ने चलन हटेको छैन”, उनी भन्छन्। दोगडी स्वास्थ्य चौकीका वरिष्ठ स्वास्थ्य सहायक दलबहादुर रावतको अनुभवमा कतिपय आमाले छोरालाई पुग्दो तर छोरीलाई साँझ् मात्र दूध खुवाउने गरेको बताउँछन्। “छोरी जन्माउने आमालाई समेत पोषिलो खानेकुरा पुग्दैन, त्यसपछि बच्चालाई कुपोषण हुने त भइहाल्यो”, महिला स्वास्थ्य स्वयंसेविका सीता बिक भन्छिन्।

४२ दिने उपचार

स्वास्थ्यकर्मीको घरदैलो कार्यक्रममा भेटिएका कडा कुपोषित बालबालिकालाई मार्तडी, टाँटे, दोगडी, कोल्टी, रुगिन र गोत्री गाविसका स्वास्थ्य केन्द्रमै राखी प्रत्यक्ष निगरानीमा उपचार शुरू गरिएको छ। ४२ दिने यो उपचार पाएर ४३१ जना बालबालिका घर फर्किसकेको डा. नाथ बताउँछन्। “मध्यम कुपोषितलाई भने पौष्टिक आहार र अभिभावकलाई परामर्श दिइरहेका छौं”, उनी भन्छन्।

कार्यक्रमको प्राविधिक सहयोग गरिरहेको इन्टिग्रेटेड रुरल हेल्थ डेभलपमेन्ट ट्रेनिङ सेन्टर नेपाल (आईआरएचडीटी) की पोषण अधिकृत सुजाता खड्का गाउँगाउँ पुगेर नाप, तौल परीक्षण गरी कुपोषित बालबालिकालाई उपचार गर्न पे्ररित गरिरहेको बताउँछिन्।

आईआरएचडीटीका कार्यक्रम संयोजक डा. उदय प्रकाश गाउँमा उपचार सम्भव नभएका कतिपय बालबालिकालाई सदरमुकाम मार्तडीस्थित जिल्ला स्वास्थ्य कार्यालयमा ल्याइएको बताउँछन्। उनका अनुसार, जिल्लाको बाह्रबिस गाविसमा सबैभन्दा बढी १५५ बालबालिकामा कडा कुपोषण पाइएको छ भने बिच्छ्याँ गाविसमा सबैभन्दा कम ४५ जनामा मात्र यस्तो समस्या रहेको फेला परेको छ। कडा कुपोषितमध्ये गोत्री–३ का १० महीनाका चरित्र दमाईको उपचारकै क्रममा ज्यान गएको थियो।

चिकित्सकहरूका अनुसार, गरीबी, अशिक्षा, कम जन्मान्तर, बालविवाह, खानपिन, सरसफाइ आदिका कारण बालबालिका कुपोषणको शिकार बन्ने गरेको देखाएको छ। “यसबाहेक भौगोलिक विकटता, स्वास्थ्यमा पहुँचको कमी, हेरचाह अभावले कुपोषण बढाएको छ”, डा. नाथ भन्छन्। डा. उदय प्रकाश कुपोषण भएका बालबालिकाको उमेर अनुसार उँचाइ र तौल कम हुन्छ, ख्याउटेपन देखिन्छ। “जनचेतना, गर्भवती अवस्थामा आहार र स्याहार, सन्तुलित खाना, आयोडिनयुक्त नुनको प्रयोगले बालबालिकामा कुपोषण कम गर्न सकिन्छ”, उनी भन्छन्।

आईएमएएम कार्यक्रममा सरकारलाई सहयोग गरिरहेको युनिसेफका अनुसार, नेपालमा प्रत्येक वर्ष ५० हजार बालबालिकाको मृत्यु हुने गरेको छ, जसमा ६० प्रतिशत कुपोषण कारक रहेको छ। विश्व ब्यांकको एक प्रतिवेदन अनुसार, कुपोषणकै कारण नेपालका पाँच वर्ष मुनिका ४९ प्रतिशत बालबालिका होचा र ३९ प्रतिशत कम तौलका रहेका छन्।

प्रकाश सिंह, बाजुरा

comments powered by Disqus

रमझम