६-१२ चैत २०७३ | 19-25 March 2017

किन सुनसान बढैया?

Share:
  
- जीवनप्रसाद राई
अन्य जिल्लामा जस्तो सामूहिक पहल र प्रचारप्रसार भए बर्दियामा सबैलाई उछिन्ने खजाना छ।

बढैया ताल।
पेटमा भोकको हाउ–हाउ र गतिलो नेपाली आतिथ्यको बीच साँझ्को भान्सामा बस्नै लाग्दा अचानक जंगली हात्तीहरूको आवाज आयो। म जीवनमा पहिलो पटक यो रोमाञ्चकारी आनन्द र त्रासको अनुभव गर्दै थिएँ। हात्तीहरूको आवाज आउने वित्तिकै प्रतिकारमा सारा गाउँलेले संसारै उचाल्ने आवाज निकाले, मेरो खातिरदारीमा जुटेका घरबेटी नैनसिंह ओलीले पनि।

गाउँलेहरू भएभरका टर्चलाइट र पुल्ठाहरू बालेर यति कराए कि गाउँतिर आउन लागेका हात्तीहरू कति थिए, वनतिरै अलप् भए। यो गोलमाल सुनाउन धनकुटामा श्रीमतीलाई फोन गरेको, मरिगए लागेन। त्यसपछि काठमाडौंमा साथीहरूलाई डायल गर्दा पनि सम्पर्क भएन।

गत साउन अन्तिम साता यो अनुभव गर्दा म बर्दिया जिल्लाको एउटा उदीयमान कृषि गाउँ ईश्वरीगञ्जमा थिएँ। भारतीय सीमासँग जोडिएको यो गाउँ नेपाल बाख्रापालन संघका केन्द्रीय अध्यक्ष नैनसिंह ओलीको कर्मथलो हो। कृषि व्यवस्थापनमा गहिरो सैद्धान्तिक र व्यावहारिक ज्ञान भएका ओली व्यावसायिक पशुपालनका लागि अत्यावश्यक घाँस उत्पादन, उन्नत बाख्रापालन र बाह्रमासे कागती खेती गरिरहेका छन्। कागतीमा राम्रो अनुसन्धान गरेर भित्रीमधेश र तराईभर फैलाउने उनको सपना छ।

ईश्वरीगञ्ज क्षेत्रमा अहिले बेसार खेतीको पनि विस्तार भइरहेको रहेछ। कर्णालीले सिंचेको यो क्षेत्रमा धान खेती, माछापालन र समग्रमा कृषि पर्यटनको ठूलो सम्भावना रहेको सुनाउँदै ओलीले कृषिमा के–के, कसरी गर्न सकिन्छ भनेर मनको हुटहुटी पोखे। यत्रो सम्भावना भएको ठाउँ संचारको पहुँच बाहिर हुनु र पक्की सडकले पनि नछुनुले कृषि पर्यटनको लागि अत्यावश्यक पूर्वाधारमा हाम्रो अवस्था देखाउँछ।

यो अवस्थामा पनि नेपाली किसान आ–आफ्नो ठाउँमा गज्जबले काम गरिरहेका छन्। सरकारले सडक, संचार, कृषि उद्योग जस्ता कुरा ल्याइदिए हाम्रो कृषि विकासमा बन्दूकको टि्रगर तानिदिएको जस्तो हुनेछ। यसको पहिलो उदाहरण बर्दिया नै हुनसक्छ, जहाँ प्राकृतिक स्रोतको पौल त छ नै, देखिने गरिको मानव निर्माण पनि भइसकेको छ।

स्थानीय पहल

उर्वर जमीन, प्रशस्त जल र हराभरा जंगलले युक्त बर्दियामा मानव निर्मित विकास संरचनाको कुरा गर्दा सबभन्दा पहिला आउने चिसापानी पुल नै हो। कर्णाली नदीमा हालिएको यही पुल हो, जसले अथाह सम्भावनाको धनी सुदूरपश्चिमलाई बाँकी नेपालसँग जोड्यो। कृषिकै निम्ति खोलिएको उद्योग पनि यहाँ उल्लेख्य छ। जापान सरकारको सहयोगमा बर्दियाको राजापुरमा २०४५ सालमा स्थापित राइस मिल आज पनि उत्तिकै महत्वपूर्ण छ।

नैनसिंह ओली ।

कुनै बेला राजापुर क्षेत्रका ११ गाविसले नेपालको कुल धान उत्पादनमा ६ प्रतिशत हिस्सा ओगट्थ्यो। त्यही समयमा नेपाल खाद्य संस्थानको लागि राजापुरमा खोलिएको मिलले अहिले पनि प्रतिघण्टा २००० किलो धान कुट्छ, ६० हजार टन चामल राख्ने गोदाम छ। जापानमा उहिल्यै 'फेजआउट' भइसके पनि यो प्रविधि हामीलाई अझ्ै काम लागेको छ, नालायकी हाम्रै संस्थानको हो, जसले मिललाई पूर्ण क्षमतामा चलाउन सकेको छैन। यो मिल कति मजबूत छ भने, तत्कालीन विद्रोही नेकपा माओवादीले एक सातासम्म तोडफोड गर्दा पनि यसको कुनै भाग बिगार्न सकेनछन्।

बर्दियाका किसानले आफ्नै पहलमा गरेको विकासको शुरूआत भने गाउँ–गाउँमा देखिन्छ। डल्ला होम स्टे, मासु प्रशोधन केन्द्र, बहुउद्देश्यीय खेती, सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र आदि त्यसका उदाहरण हुन्। होम स्टे मात्र नभएर कृषि उत्पादनको राम्रो बजार पनि हो, डल्ला। यहाँ खाद्यान्न, तरकारी र माछामासु उत्पादन तथा बिक्रीवितरण पनि हुन्छ।

लीला राना मगरको जडीबुटी खेती, हन्न ताम्राकारको केरा खेती, मानबहादुर चौधरीको साग खेती, पवनकुमार यादव र कन्धैलाल यादवको भैंसीपालन, रामकुमारी योगीको हस्तकला उद्योग, चन्द्रबहादुर थारूको मेन्था खेतीले बर्दियालाई महत्वको जिल्ला बनाएको छ।

लीलाको घर वरपर हुर्किएका अनेक किसिमका जडीबुटीका बोट बिरुवाहरूले गतिलो संकलन देखाउँछ। बबई बहुमुखी क्याम्पस प्रमुख विनोदकुमार अग्रवालदेखि विद्यार्थी प्रकाश पौडेलसम्मले राना मगर दम्पतीको कामको प्रशंसा गरे, तर यो भव्य संकलनलाई आम्दानी, अनुसन्धान र आन्तरिक पर्यटनको थलो बनाउने काम भएको छैन।

गुलरियामा चिनियाँहरूले चलाएको वधशालाबाट राँगाको मासु चीन निकासी हुँदोरहेछ। यहाँ प्रशोधित राँगाको मासु कोलकाता हुँदै चीन निर्यात हुनेरहेछ। हाम्रा उत्तरी नाकाहरू भरपर्दाे हुने हो भने अहिलेको ढुवानी ७५ प्रतिशतसम्म सस्तो पर्ने हुन्छ। राँगाको मासु मात्र नभई सयौं थरी कृषि उपज उत्तरको विशाल बजारमा पुर्‍याउन पनि नेपालले चीनसँगका व्यापारिक नाकाहरूलाई भरपर्दो किसिमले खुलाउनैपर्छ।

दैनिक सय वटा राँगाको मासु प्रशोधन गर्ने यो वधशाला अहिले लोडसेडिङ र राँगा अभावले गर्दा क्षमताभन्दा निकै कम काम गरिरहेको छ। अर्थात्, गुलरिया क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्ने हो भने उद्योगहरू चल्ने मात्र नभई राँगाभैंसी पालनको ठूलो सम्भावना पनि खुल्छ। त्यसबाट दूध उत्पादन पनि बढ्छ। त्यसले घाँस खेती र दाना उद्योगको सम्भावना स्वतः बढाउँछ।

प्रकृतिको देन

आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि बर्दिया राष्ट्रिय निकञ्ज ठूलो आकर्षणको रूपमा रहेको छ। बर्दियाले पाएको प्रकृतिको अर्को अनुपम उपहार बढैया ताल भने पर्यटकको नजरमा पर्नै पाएको छैन। यो ताललाई साइवेरियाबाट आउने अनेकौं प्रजातिका चराहरूले हिउँदे मुकाम बनाउने गर्छन्। मान्छेहरूले भने ७० हेक्टर क्षेत्रफलमा फैलिएको यो ताललाई माछापालनभन्दा पर सोचेको पाइएन।

बढैया ताललाई बाह्रैमहीना भरिभराउ हुने पर्यटन केन्द्र बनाउन सकिन्छ, त्यो पनि कम समय र ठूलो राशी विना। यस्तो संभावना बोकेको यो ताल हेर्न दैनिक एक–दुई जना मानिस आउनु दयनीय अवस्था हो। यो संभावना र अवसर उपयोगबारे चाँडो सोच्नु जरूरी छ। त्यसो त, बर्दियामा अन्य जिल्लामा जस्तो सामूहिक पहल, प्रचारप्रसार र नयाँपनको पनि अभाव देखिन्छ। जिल्लामा नीतिनिर्माण तहमा पुगेका सांसद् र प्रशासकहरूप्रति धेरै गुनासा सुन्न पाइयो। यसलाई स्थानीय स्तरमै मजाले गर्न सकिने काममा पनि अन्तै मुख ताक्नुपर्ने केन्द्रीकृत नीतिको परिणाम भन्न सकिन्छ।

comments powered by Disqus

रमझम