६-१२ चैत २०७३ | 19-25 March 2017

घरको साथी

Share:
  

बिक्रम राई
घरपालुवा जनावर (इनडोर पेट) शहरी जीवनशैलीको अंग बनिरहेको छ। शहरी क्षेत्रका करीब ७५ प्रतिशत घरमा कुनै न कुनै जनावर देख्न सकिन्छ। यस्ता जनावर फुर्सद कटाउने साधन मात्र होइनन्, साथी समेत बन्छन्।

घरपालुवा जनावरमा कुकुर अधिकांशको रोजाइमा पर्ने गरेको छ। यसबाहेक बिरालो, सेतो मुसा, खरायो, गिनी पिगसँगै चराचुरुङ्गी पाल्नेहरू पनि बढिरहेका छन्। पुरानो बानेश्वरको सनराइज पेट शपका सञ्चालक वसन्त भण्डारी सुगासँगै फेन्सी चिकेन, लभ बर्डस् चरामा पनि ग्राहकको ध्यान जान थालेको बताउँछन्।

कतिपयका लागि घरपालुवा जनावर घरको सौन्दर्यसँगै शानसँग पनि जोडिएको छ। तर, रहर पूरा गर्न जनावर पाल्दा बेहोर्नुपर्ने तनावबारे सबै जानकार हुँदैनन्। केही दिन माया गरेर घरमा पाल्ने र त्यसपछि झन्झटिलो ठानेर सडकमा छाडिएका थुप्रै कुकुर हामीले देखिरहेकै छौं। किनकि, बाहिर देखिएभन्दा जनावरको स्वभाव नितान्त फरक हुन्छ।

घर भित्र्याउनुअघि

घरपालुवा जनावर पाल्नुका फाइदाबारे दुईमत नभए पनि कुन जनावर पाल्ने भन्ने विषयमा भने धेरैको ध्यान पुगेको देखिंदैन। जनावर घर भित्र्याउनुअघिको तयारी पनि गरिएको पाइँदैन। भेटनरी चिकित्सक राजेश पोखरेल घरपालुवा जनावर ल्याउनु अघि विज्ञसँग सल्लाह लिनु अनिवार्य भएको बताउँछन्। आफूले जनावर पाल्नुको कारण पहिल्याई कुन जनावरबाट त्यस्ता आवश्यकता पूरा हुन्छन् भनेर शुरुमै विचार पुर्‍याउनुपर्ने उनको सुझाव छ। “आफ्नो जीवनशैलीसँग मिल्दो जनावर छानेर 'पेट' बनाउनुपर्छ” उनी भन्छन्, “आज रहर लाग्यो, भोलि घर ल्याइहाल्ने मूर्खता गर्नुहुन्न।” शानका लागि मात्र जनावर पाल्ने रहर गर्नुहुँदैन।

आफूलाई जस्तै घरपालुवा जनावरलाई पनि बासस्थान चाहिन्छ। यसका लागि जनावर अनुसारको स्वभाव र मौसम ख्याल राख्नुपर्छ। डा. पोखरेल यस्ता जनावरलाई घरकै सदस्यसरह हेरचाह गर्नुपर्ने बताउँछन्। “जनावरको खानेकुरा, हुर्काइ, तालीम, स्याहार र सुरक्षामा विशेष ध्यान दिनुपर्छ”, उनी भन्छन्। आवश्यकता अनुसार नियमित खोप लगाउने र मानिसको स्वास्थ्यमा असर नपरोस् भनी चनाखो हुनुपर्ने पनि उनी बताउँछन्।

बसोबास र सफाइका अतिरिक्त जनावरको खान्कीमा खास ध्यान दिनुपर्छ। खानामा पोषणको मात्रा, सन्तुलन र समय पनि मिलाउनुपर्छ। एकै पटक धेरै र पटकपटक खानेकुरा दिनुहुँदैन। सोखका लागि एकै वा फरक प्रजातिका धेरै जनावर पाल्नुभन्दा एउटै जनावर मात्र पाल्नु उपयुक्त हुन्छ। हेरचाह तथा स्याहारमा समय दिन सक्नेले भने धेरै प्रकारका जनावर पाल्न सक्छन्।

“जनावर घर ल्याउने वित्तिकै निश्चित समयतालिका अनुसार तालीम दिइहाल्नुपर्र्छ”, डा. पोखरेल भन्छन्।

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम