मधेशलाई हेर्ने र बुझ्ने सवालमा मतभेद छ। एकथरी पटकपटकको आन्दोलनपछि पनि मधेशले अधिकार नपाएको दाबी गर्छन्, अर्कोथरी मधेशले अन्य स्थानविशेषले जे पाएको छ त्यति पाइसकेकाले थप बहस जरूरी नभएको तर्क गर्छन्। तर, बहस र विवाद भइरहँदा दुई विपरीत तर्क पुष्टि हुने आधार र तथ्यहरूबारे भने खासै छलफल नै हुँदैन। किनभने, राजनीतिक दलहरू जनभावनालाई हतियार बनाउँदै आफ्नो हैसियत स्थापित गर्छन्, गरिरहेका हुन्छन्। तर, लेखकहरू भने तथ्य र तर्कलाई हतियार बनाउँछन् र त्यसैका आधारमा बहस गर्छन्। कतिपय अवस्थामा यस्ता बहसले मूलधारका राजनीतिक संकथनलाई समेत चुनौती दिने सामर्थ्य राख्छन्।
पुस्तकको दोस्रो खण्ड भने मधेशमा भएका विभिन्न आन्दोलन र विद्रोहपछिका परिवर्तनसँग सम्बन्धित छ। खासगरी पहिलो खण्डले राज्यबाट मधेशमा विभेद भएको छैन वा मधेश विद्रोह र आक्रोशका गहन आधारहरू छैनन् भन्ने तर्कको खण्डन गर्छ भने दोस्रोले 'मधेश आन्दोलन' पछि पनि परिवर्तन नै नभएको भन्नेहरूको तर्क पनि कमजोर रहेको दलिल पेश गर्छ। यस अर्थमा पुस्तकले मधेश आन्दोलनको आधार र त्यसपछिको परिवर्तन दुवैलाई स्थान दिएको छ।
चौधरीले मधेश आन्दोलनले एकैपटक ठूलो परिवर्तन नल्याए पनि थुप्रै सकारात्मक परिवर्तन ल्याएको तर्फ ध्यानाकर्षण गराएका छन्। तराई/मधेशको पहिचान, स्थानीय प्रहरी र प्रशासनको रवैयामा आएको परिवर्तन, राजनीतिक प्रतिनिधित्व जस्ता विषयमा अहिले हासिल उपलब्धि आन्दोलनकै उपज भएको उनको भनाइ छ। चौधरीले मधेशमा देखेको अर्को परिवर्तन भने वाचाल र प्रश्न गर्न सक्ने जमातको सृजना हुनु वा भइरहनु हो। उनको भनाइमा, हिजो प्रशासनबाट त्रस्त मधेशी समुदाय अहिले ती अङ्गसँग वादविवाद, प्रश्न र आवश्यक परे विद्रोह गर्न पनि तयार हुनुले परिवर्तनको आभास दिएको छ।
यसबाहेक पुस्तकले समाजमा देखिएको आर्थिक, परम्परागत पेशा, जाति र वर्णव्यवस्थामा आइरहेको परिवर्तन, वैदेशिक रोजगारीले ल्याएको परिवर्तन, उपभोक्तावादी संस्कृतिको प्रभाव, पहाडी र मधेशी सम्बन्धमा आएका परिवर्तनहरूलाई पनि बेवास्ता गर्न नमिल्ने तर्क गरेका छन्। उदाहरण र तथ्यांकसहित गरिएका यी तर्कहरूमध्ये सबैभन्दा महत्वपूर्ण तर कम चर्चा गरिने आर्थिक अवसर र त्यससँग जोडिएर आएका परिवर्तनबारे चौधरीले खास चर्चा गरेका छन्। आर्थिक विकास र यससँग जोडिएर आउने अवसरले धेरै विवाद, असन्तुष्टि तथा विद्रोहलाई केही हदसम्म मत्थर पार्न सक्ने चौधरीको ठम्याइ छ। दस्तावेजका अनुसूची, तथ्यांक आदिले पुस्तकलाई फराकिलो बनाएको छ।
हिजोजस्तै, कतिपय मिथकसिर्जित काल्पनिकीको भरमा मधेशलाई व्याख्या गर्ने र भ्रम छर्ने प्रयास आज पनि चलिरहेको छ। यस्तो 'संकथन' निर्माणमा मधेशकेन्द्रित दल मात्र होइन, आफूलाई मधेश बुझेको दाबी गर्ने मधेशी र गैरमधेशीसमेत छन्। रुपान्तरित मधेशको झलक दिन सफल यो पुस्तकले मधेशबारेका हरेक तर्क र व्याख्यामा तथ्य खोज्न प्रेरित गर्छ। यस अर्थमा पुस्तक मधेशको सत्यतथ्य बुझ्ने महत्वपूर्ण स्रोत बन्न सक्छ।
दीपक अर्याल