३-९ वैशाख २०७४ | 16-22 April 2017

रातै हुन्छ विजयको रङ

Share:
  
- डा. तीर्थबहादुर श्रेष्ठ, ला दोर्चे शेर्पा
गुराँस सेतो पनि हुन्छ, रातो पनि हुन्छ तर लालीगुराँस त रातै हुनुपर्‍यो।

विक्रम सम्वत्को साल तमामी र नयाँ वर्षको आरम्भतिर आइपुग्दा एउटा अचम्मको संयोग सम्झ्नामा बल्झिन आइपुग्छ। ६०/६५ वर्ष पुरानो कुरा हो, हामी काठमाडौं शहरको महाबौद्ध टोलमा बस्थ्यौं। हाम्रो चूलोमा बल्ने दाउरा उपत्यका वरपरका वनबाट आउँथे। तामाङ दाजुभाइ–दिदीबहिनीहरू असन, इन्द्रचोक, मरुहिटी आदि बजारमा दाउराको भारी बेच्न आउँथे। स्टोभ, मट्टीतेलको चलन थिएन। सबैको चूलोमा दाउरा नै बल्दथ्यो। दाउरा बेच्नेहरू नून–तेल, मट्टीतेल किनेर लैजान्थे। मट्टीतेल बत्ती बाल्न मात्र प्रयोग हुन्थ्यो। शहरमा पनि टुकी र लालटिन नै बल्दथ्यो। नाममात्रको बिजुली भोल्टेज कम भएर मधुरो चिम अँध्यारो कोठामा टोलाइबस्थ्यो। अँध्यारोले छोप्नु भन्दा पहिल्यै बुइँगलमा भात खाइसकिन्थ्यो।

चैतको एक बिहान दाइले असनबाट एकभारी दाउरा ल्याउनुभयो। एउटी तरुनी तामाङ दिदीले बोकेको दाउराको भारीमाथि सेता फूलका केही थुँगा थिए। पछाडि अडेस दिन पहेंला फूल फुलेका स्याउलाको मुठो थियो। दाइले के फूल हो भनेर सोध्दा सेतोलाई गुराँस र पहेंलो फूललाई स्याउला भनिन् ती तामाङ दिदीले। शिवपुरीबाट महाबौद्धको चोटासम्म आइपुगेको त्यो सेतो गुराँस र पहेंलो स्याउलालाई सम्झाउने घटनाहरू मेरा जीवनमा घट्दै गए।

२०१७ सालमा वनस्पति विभागमा जागीरका लागि लोकसेवा आयोगमा अन्तर्वार्ता दिन पुग्दा मलाई सोधियो– गुराँसको रङ कस्तो हुन्छ? मैले सेतो हुन्छ भनें। अन्तर्वार्ता लिन बसेका हाकीमहरू मुखामुख गर्न थाले। खिसिक्क हाँस्न पनि थाले। प्रश्न थपियो– तिमीले कहाँ देख्यौ सेतो गुराँस? मैले दाउरे दिदीको प्रसंग बताएँ। हाकीमहरूको चित्त बुझयो, म पास भएँ। त्यो सेतो गुराँसले मलाई वनस्पति विभागमा प्रवेश दिलायो। मेरो जीवनको कमाइखाने भाँडो वनस्पति विधा बन्यो।

गुराँस प्रजाति एकै भए पनि फूलका रङ विभिन्न छटामा फक्रन्छन्। वैज्ञानिक नामकरण अनुसार, यी सबै रोडोडेन्ड्रन आर्वोरियम हुन्।

२०१९ सालको संविधानले लालीगुराँसलाई राष्ट्रिय फूलको उपाधि दियो। त्यसका लागि वनस्पति विभागका हाकीम बाजे प्रयागराज पाण्डे र समरबहादुर मल्लले केशरशमशेरको साथमा निकै कसरत गरेका थिए। म स्वयं भने भारततिर अध्ययन विदामा बसेको अवस्था थियो। फर्केपछि राष्ट्रिय फूल लालीगुराँसले मलाई निकै आकर्षण गर्‍यो। २७ असोज २०२१ को गोरखापत्र मा 'नेपालको राष्ट्रिय फूल लालीगुराँस' शीर्षकमा एउटा लेख पनि छपाएको थिएँ। त्यसबेलासम्मको अध्ययन–अनुसन्धान अनुसार लालीगुराँसको 'रोडोडेन्ड्रन आर्वोरियम' प्रजातिभित्रको रातो फूल फुल्ने स्वरुपा 'रोजियम' र सेतो फूल फुल्ने गुराँसको स्वरुपा 'अल्बम' नाम स्थापित थियो।

एक प्रजाति अनेक रङ

गुराँस प्रजातिका वनस्पतिहरू प्राकृतिक प्रजनन्को दृष्टिमा निकै उपद्र्याहा हुन्छन्। फलस्वरुप गुराँसको खास जातीय रङ स्थापित छैन। वनस्पतिशास्त्रीहरूले 'रोजियम' भनेका बोटमा पनि सेतो र गुलावी रङका फूल देखियो र स्वरुपा अल्बम भनिने वनस्पतिमा पनि गुलावी रङ भेटियो। गुराँसको यस बहुरङ्गी प्रकृतिले गर्दा आजका वनस्पतिविज्ञहरू लालीगुराँसको वानस्पतिक नाम ठोकुवा गरेर स्थापित गर्न सक्दैनन्। तसर्थ भन्नैपर्ने हुन्छ– विषय प्रसंगले अरू अर्थ नलागे लालीगुराँस भन्नाले रातो फूल फुल्ने 'रोडोडेन्ड्रन आर्वोरियम' हो।

गुराँसका फूलहरू किन र कसरी सेतो, रातो, गुलावी, प्याजी, सुन्तले आदि रङविरङमा फुल्दछन् भन्ने प्रश्नको चित्तबुझदो उत्तर भेटिंदैन। काठमाडौं उपत्यकाको शिवपुरी वन चहार्ने हो भने काँठतिरका पाखामा फुल्ने सबै गुराँस राता भेटिन्छन्। यस्तो भूभाग १५००–२००० मिटरको उँचाइमा अवस्थित हुन्छ। २६००/२७०० मिटरको उँचाइमा पुगेपछि सफा सेतोदेखि हल्का गुलावी र रातोसम्मका गुराँस फूलेको भेटिन्छ। शिवपुरीको सिरान र फेदीको मध्यभागमा लगभग २००० मिटरदेखि २५०० मिटरको उँचाइमा गुलावी अधिक भेटिन्छन्। चोखो रातो लालीको फूल पनि थोरै भेटिन्छ। अन्तर प्रजातीय वनस्पतिको प्रजनन् क्रीडास्थलै पो हो कि भन्ने भान पैदा गराउँदछ। सामान्यतया जति कम उँचाइ उति कडा रातो रङमा फुल्नु गुराँसको धर्म हो।

नेपालको राष्ट्रिय फूल लालीगुराँस भनेपछि अन्य रङको फूल त्यहाँ समावेश हुँदैन। नेपाली झ्ण्डाको 'रातो र चन्द्र सूर्य' अनि 'जिउँदो रगत सरी' को रातो रङलाई नै प्रतिनिधित्व गर्ने लालीगुराँस हाम्रो राष्ट्रिय फूल हो। त्यसो त राष्ट्रिय रङ पनि सिमि्रकलाई मानिन्छ। सदासर्वदा शुभ संकेत गर्ने रातो टीका र रातो सिन्दूर नेपालीको पहिचान पनि हो। नेपालीहरूको जय/विजयको हर्षोल्लासमा रातो रङ नै प्रयोग गरिन्छ। रातो फुल्ने अनेकौं बिरुवा हाम्रो वैभवमा छन्, तर लालीगुराँस नै चयन हुनुमा विभिन्न कारण छन्।

गुराँस १०/१५ वटादेखि २०/२५ वटासम्मको गुच्छा एकै थुँगामा फुल्छन्। तिनलाई शोभा दिन हरिया पातहरू तलतिर फर्केर बस्ने गर्दछन्। चैत–वैशाखमा ढकमक्क रूखैभरि फुल्छन् गुराँसहरू। गुराँसका रूखहरू ८–१० मिटर अग्ला हुन्छन्। इलामको मंगलबारेमा सबभन्दा अग्लो (१८ मिटरको) गुराँसको वृक्ष भेटेको बताउँछन् रेने मिलभिल आफ्नो पुस्तक नेपालका गुराँसहरू मा। त्यसो त, विश्वका गुराँस प्रजातिमध्ये सबभन्दा अग्लो कदमा पर्छ, लालीगुराँस।

नेपालको मेचीदेखि महाकालीसम्मका सबै पहाडी जिल्ला गुराँसका बासस्थान हुन्। गुराँसको फूलले राताम्य हुने डाँडाहरू नेपालमा धेरै छन्। पूर्वी नेपालको मिल्के–जलजले तीमध्ये विशेष प्रख्यात छ। लालीगुराँस १५०० मिटरदेखि ३५००/३६०० मिटरको उँचाइसम्म यत्रतत्र भेटिन्छ। उँचाइको हिसाबले यति लामो दूरी भेट्ने बिरुवा विरलै हुन्छ। पूर्व–पश्चिम र लेकबेंसी सबैतिरको फैलावटले गर्दा लालीगुराँस अधिकांश नेपालीको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्छ। गुराँसको दाउरा काँचैमा बल्ने हुनाले बञ्चरोको प्रहार पनि यसले खप्ने गरेको छ। हामीले काठमाडौंको चूलोमा उहिले बालेका दाउरामध्ये गुराँस पनि अधिक प्रयोग भएको अनुमान गर्न सकिन्छ। राष्ट्रिय फूलको उपाधि पाएपछि यसलाई संरक्षण गर्ने भावनामा विकास भएको विश्वास गर्नुपर्छ।

एकै प्रजातिको गुराँसभित्र ठूलो रङ–विभेद हुन्छ। चित्र १ को लालीगुराँस काभ्रेको बतासे डाँडामा १८०० मिटरको उँचाइमा अवस्थित वनस्पति हो। पूर्वी नेपालको मिल्के–जलजले क्षेत्रमा रातो रङ विभिन्न प्रकारले प्रस्फुरण हुन्छ। ७ जून २०१३ मा खिचिएको चित्र २ र ३ को प्याजी रातो गुराँस फूलचोकी डाँडाको २७५० मिटरको उँचाइमा मौलाएको वनस्पति हो। शिवपुरी लेकको २७०० मिटरको उँचाइमा फस्टाएको वृक्षको यस वर्ष खिचिएको तस्वीर चित्र ४ र ५ का सेतो गुराँसमा लाली थपिएको देख्न सकिन्छ। चित्र ६ को सेतो गुराँस पनि उही शिवपुरी लेकको हो। एकै प्रजातिभित्रको यस्तो प्राकृतिक रङ विभेदमाझ् लालीगुराँस भन्नाले रातो फुल्ने 'रोडोडेन्ड्रन आर्वोरियम' हो।

परागसेचन सेवामा विविध रङ

वनस्पतिका फूलहरूमा प्रस्फुरण हुने रङलाई इन्द्रधनुले पनि जित्न सक्दैन। इन्द्रधनुका सात रङलाई वनस्पति र तिनका वातावरणले अनेकौ रङ्गीविरङ्गी चमकमा पस्किदिने गरेको छ। प्रकृतिमा फुलेका रङहरूलाई कुनै मानव भाषाको शब्दले व्याख्या, वर्णन गर्न सकिंदैन। आँखाका अनुभूतिमा फुल्छन् फूलका रङहरू। त्यसो त मान्छेका आँखाका लागि फुल्ने होइनन् फूलहरू। वस्तुतः फूलहरू माहुरी, भमरा, झिंगा, कीराफट्यांग्रा, पुतली आदि प्राकृतिक परागसेचनमा सेवा पुर्‍याउने प्राणीका लागि आफ्ना रङ प्रदर्शन गर्दछन्। मौरीद्वारा परागसेचन होस् भनेर लालीगुराँस रातो फुल्छ। लेकाली भागमा मौरी पुग्न नसक्ने भएकोले सेतो वा गुलावी रङ रुचाउने कीटप्राणीका लागि फुलिदिन्छन् गुराँसहरू गैरलाली रङमा।

रङले आकर्षित परागसेचन सेवामा जुटेका प्राणीलाई गुराँसका फूलले गुलियो महको सौगातद्वारा स्वागत गर्दछन्। गुराँस फुल्ने मौसममा माहुरीको मह मान्छेका लागि मात लाग्ने खालको हुन्छ। धेरै खाएमा विषाक्त हुन्छ। यस्तै प्राकृतिक विषाक्त महको खोजी हुन्छ नयाँ औषधि बनाउँदा। गुराँसको मह औषधिमा प्रयोग हुने बलियो सम्भावना हुन्छ। गोठालाहरू गुराँसको फूल चुसेर त्यसको महको रसस्वादन गर्दछन्। सेतो गुराँसको फूल धेरै चुसे मात लाग्छ। गुराँसको फूलको सर्वत पनि आजभोलि बजारमा आउन थालेको छ। मह, मात र सर्वतका लागि सबै रङका गुराँस उपयुक्त हुन्छन्।

comments powered by Disqus

रमझम