त्यस्तै गौरादह नगरपालिकामा एमालेकै योगराज दाहाल, छत्रपति सुवेदी, मदन अधिकारी, मित्र काफ्ले, अमर शिवाकोटी, बुद्धिमान कार्की र नगेन्द्र भण्डारी मेयरका लागि उम्मेदवार बन्ने होडमा छन्।
२६ चैतमा कोराबारीमा आयोजित कार्यकर्ता भेलामा गौरीगञ्ज, खजुरगाछी, महाभारा र कोरावारी गाविस मिलाएर बनेको गौरीगञ्ज गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसका ८ जनाले उम्मेदवारी पाउनुपर्ने दाबी गरे। अध्यक्षको उम्मेदवारका लागि फूलवती राजवंशी, घनश्याम रिजाल, विजय अग्रवाल, निरज अग्रवाल, मखना महतो, भोला खतिवडा, कमलेश्वर राजवंशी र राजेन्द्र कार्कीबीच आन्तरिक प्रतिस्पर्धा नै देखिएको छ।
नियमित रूपमा स्थानीय निर्वाचन हुन्थ्यो भने २० वर्षमा एउटा गाविसमा १८८ जनाले आफूलाई परीक्षण गरिसक्थे। अहिले भने चार/पाँच गाविस गाभेर गाउँपालिका/नगरपालिका बनेकाले उम्मेदवारका आकांक्षी धेरै छन्। २० वर्षअघि उम्मेदवार बनेका स्थानीय नेता पनि फेरि उम्मेदवार बन्ने होडमा छन्। नयाँ नेता–कार्यकर्ता त आकांक्षी हुने नै भए। जसले गर्दा यहाँका आठ नगरपालिका र सात गाउँपालिकामा प्रत्येक दललाई दर्जनौं प्रतिस्पर्धीबाट एउटा उम्मेदवार छान्न हम्मेहम्मे परेको छ।
स्थानीय नेतृत्वलाई चुनौती
गौरादह नगरपालिकामा स्थानीय राजनीतिमा कम्तीमा २० वर्षदेखि सक्रिय पाँच जना उम्मेदवार बन्न इच्छुक देखिएपछि छनोट गर्न सकस परेको एमाले केन्द्रीय सदस्य हिक्मत कार्की बताउँछन्। उनी भन्छन्, “उम्मेदवार व्यवस्थापन गर्न निकै चुनौतीपूर्ण छ।” महारानीझोडा, जुरोपानी, गौरादह, बैगुनधुरा र कोहवरा गाविस मिलाएर बनेको गौरादह नगरपालिकामा ३८ हजार मतदाता छन्। २६ चैत गौरादह नगपालिका–२ को चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गरेको एमालेले उम्मेदवारको भने टुङ्गो लगाउन सकेको छैन।
२० फागुनदेखि नै माओवादी केन्द्रका रेवतीराज पुरी र शान्ति धिमाल दमक नगरपालिकाको प्रमुख र उपप्रमुखका लागि प्रचारप्रसारमा हिंडे। माओवादी केन्द्रले प्रचारमा लागिसकेका उनीहरूको उम्मेदवारी टुङ्गो भने चैत दोस्रो साता मात्रै लगायो। माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य राज चुँडाल एउटै पदमा सात/सात जनाले दाबी गरिरहेको बताउँछन्। उम्मेदवारी व्यवस्थापनलाई टुङ्गो लगाउने गरी परामर्श चलिरहेको बताउँदै चुँडाल भन्छन्, “आकांक्षी धेरै छन्, कसैको पनि भावनामा असर नपर्ने बाटो खोजिरहेका छौं।”
कार्यकर्ताको भावना अनुसार उम्मेदवार छनोट गर्न नसके कमजोर हुने डर स्थानीय नेताहरूमा देखिन्छ। एउटा पदका लागि तीन जनासम्मको नाम सिफारिश गर्न सर्कुलर जारी भएकोमा ११ जनासम्म प्रतिस्पर्धी देखिएको एमाले झापाका अध्यक्ष चिन्तन पाठक बताउँछन्। उम्मेदवार छनोट गर्न कठिन भएको बताउँदै उनी भन्छन्, “कसलाई टिकट दिने, कसलाई नदिने भन्ने ठूलो दबाबमा छौं।”
असन्तुष्टि राखेरै उम्मेदवारी दिंदा अन्तर्घात हुने नेताहरूले बुझेका छन्। २५ चैतमा शिवसतासी नगरपालिकाको दुधेमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य भीष्म आङदेम्बेले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई सर्वसम्मत बनाउन आग्रह गरे। सर्वसम्मत हुन नसके पार्टीले तोकेको उम्मेदवारप्रति असन्तुष्टि राख्ने छूट नपाइने उनको भनाइ थियो।
उम्मेदवार टुङ्गो नलागेका कारण नेताहरू मतदाताको घरदैलोमा पुगेका छैनन्। वैशाख पहिलो साताभित्र उम्मेदवार छनोट भएपछि मात्रै घरदैलो अभियानमा जाने एमालेको तयारी छ। त्यस्तै कांग्रेस र माओवादी केन्द्रले ८ वैशाखपछि मात्रै मतदातासम्म पुग्ने जनाएको छ।
एक दिनको बास
स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र निर्धारणमा ध्यान नपुर्याउँदा बाजुरा र बझाङको उत्तरी क्षेत्रका बासिन्दा एक दिन हिंडेर मतदान केन्द्र पुग्नुपर्ने अवस्था छ।
प्रकाश सिंह, बाजुरा
३१ वैशाखको स्थानीय तह निर्वाचनमा मतदान गर्न पनि छिरिङले एक दिन टाढाको गंगा निमाविमै पुग्नुपर्ने भएको छ। “भोट हाल्न एक दिन हिंड्नुपर्छ। अघिल्लो दिन नै गएर बास बस्नुपर्छ” उनी गुनासो गर्छन्, “भोट हाल्नका लागि आउन–जान दुई दिन लाग्छ, त्यति टाढा कसरी जानु?”
यसअघि बिच्छ्याँ गाविस–१ मा रहेको यो गुम्बा गाउँ अहिले हिमाली गाउँपालिका–३ मा परेको छ। जिल्ला निर्वाचन कार्यालय, बाजुराका अनुसार २६ परिवार बसोबास गर्दै आएको यो गाउँमा तीन जना ६० वर्ष नाघेका वृद्धसहित २८ मतदाता छन्। स्थानीय बासिन्दा जंगबहादुर थापा मतदानका लागि मात्रै नभई अन्य सेवासुविधाबाट पनि वञ्चित रहेको बताउँछन्। “हामीलाई कसैले हेर्दैनन्। चुनावको बेला त हेर्लान् भन्ने सोचेका थियौं, अहिले पनि वास्ता गरेनन्” उनी गुनासो पोख्छन्।
गुम्बा गाउँका बासिन्दाले झैं बासै बस्नु नपरे पनि गौमुल गाउँपालिका–१ अन्राडी गाउँका बासिन्दालाई पनि मतदान गर्न सकस छ। चार घण्टा हिंडेर अम्लिसगाउँस्थित अम्लिस मावि मतदान केन्द्र जानुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा बताउँछन्। गुम्बा र अन्राडीजस्तै उत्तरी क्षेत्रका थुप्रै गाउँका बासिन्दाले घण्टौं लगाएर मतदान केन्द्र पुग्नुपर्ने अवस्था रहेको छ। ६४ हजार ९४९ मतदाताका लागि ६९ मतदान केन्द्र छुट्याइएको छ।
गुम्बाका मतदाताका लागि मतदान केन्द्र टाढा रहेको स्वीकार्दै जिल्ला निर्वाचन अधिकारी शुभद्रा गौतमले ३१ वैशाखको स्थानीय निर्वाचनमा अर्को मतदान केन्द्र तोक्न नसकिने बताइन्। “यस पटक ढिला भइहाल्यो, अर्को पटक सिफारिश गर्ने मात्रै विकल्प छ” गौतम भन्छिन्। मतदान केन्द्र सिफारिश गर्दा कसैले कुरा नउठाएकोले ध्यान दिन नसकिएको उनको भनाइ छ।
बझाङमा पनि उस्तै
बझाङको उत्तरी दुर्गम काँडा गाउँपालिका–५ न्यूनाका बासिन्दाले बास बसेर मात्रै मतदान गर्न पाउने छन्। “एक दिन पूरै लाग्छ। कि अघिल्लो दिन जानुपर्छ, कि त मतदान गरेर त्यहीं बस्नुपर्छ” स्थानीय बासिन्दा उमेश बोहरा भन्छन्।
काँडा गाउँपालिका–५ को न्यूना गाउँबाट नजिकको अर्को बलौडी गाउँ पुग्न ८ घण्टा हिंड्नुपर्छ। अहिले मतदान केन्द्र रहेको धुली गाउँ पुग्न सात घण्टा हिंड्नुपर्ने स्थानीय बासिन्दा बताउँछन्। जिल्ला निर्वाचन कार्यालय, बझाङका अनुसार न्यूना गाउँमा ४० मतदाता छन्। यसअघिका निर्वाचनमा पनि मतदान केन्द्र टाढा हुँदा थोरै मात्र मत खस्ने गरेको थियो। घर कुरुवा र बालबालिकाको हेरचाह गर्न पनि सबै मतदानको लागि नजाने गरेको उमेश बताउँछन्।
बझ्ाङको उत्तरी क्षेत्रका गाउँमा टाढा–टाढा मतदान केन्द्र रहेका छन्। तीन/चार घण्टा हिंडेर मतदान केन्द्र पुग्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा बताउँछन्। यसअघिका निर्वाचनमा धुलीमै मतदान केन्द्र रहने गरेकोले यस पटक पनि त्यहीं राखिएको बताउँदै जिल्ला निर्वाचन अधिकारी ध्रुवकुमार भण्डारी भन्छन्, “त्यही वडाको जुन ठाउँमा मतदान केन्द्र राख्दा पनि अर्को गाउँकालाई झ्न् टाढा पर्ने देखियो।” यो वडाको एउटा गाउँबाट अर्को गाउँमा पुग्न ८ घण्टा लाग्ने गरेको स्थानीय बासिन्दा बताउँछन्। अब अर्को चुनावका लागि मतदान केन्द्र निर्धारण गर्दा केन्द्र थपिने उनी बताउँछन्। अहिले बझाङमा १२५ मतदान केन्द्र तोकिएका छन्।
डोल्पामा सहज
बाजुराको गुम्बाका २८ र बझाङको न्यूनाका ४० मतदाताले गाउँमै मतदान केन्द्र नपाए पनि डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ फोत गाउँका बासिन्दा भने गाउँमै मतदान केन्द्र पाएपछि खुशी छन्। जिल्ला निर्वाचन कार्यालय, डोल्पाका अनुसार फोत गाउँमा २३ मतदाताका लागि नयाँ मतदान केन्द्र थपिएको छ। यसअघि यहाँका मतदाताले एक दिन हिंडेर छाङ्गचाडा गाउँ पुग्नुपर्ने बाध्यता थियो।
भौगोलिक अवस्थालाई हेरेर फोत गाउँमै मतदान केन्द्र राखिएको बताउँदै जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढा भन्छन्, “निर्वाचन गर्नका लागि गाउँमा कुनै संरचना छैन। तैपनि चौरमै मतदान केन्द्र स्थापना गर्छौं।” मतदान अधिकारबाट कोही वञ्चित नहुन भनेर सकभर सबैको पायक पर्ने स्थानमा मतदान केन्द्र राखिएको उनी बताउँछन्।
त्यस्तै ४७ मतदाताका लागि डोल्बु बुद्ध गाउँमा, ५६ मतदाताका लागि छाङ्गचाडा गाउँमा, ६७ मतदाताका लागि कुन्नबगर र ७६ मतदाताका लागि शहीद दशरथचन्द्र प्राविमा मतदान केन्द्र तोकिएको छ। मतदाताको सहजताका लागि पाँच किलोमिटरको दूरीमा मतदान केन्द्र तोकेको बुढा बताउँछन्। डोल्पामा १६ हजार ७०३ मतदाताका लागि ६६ मतदान केन्द्र तोकिएका छन्।
गाउँमा चहलपहल
स्थानीय तहको निर्वाचनका लागि गाउँमा चहलपहल हुन थालेको छ। राजनीतिक दलका नेता कार्यकर्ता गाउँ पस्न थालेका छन्। उम्मेदवार छनोटका लागि दलहरू गाउँ–गाउँमा पुग्न थालेका हुन्। मुख्य तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) उम्मेदवार छनोटका लागि गाउँमा पुगेका छन्।
उम्मेदवार छनोटका लागि गाउँमा पुगेर छलफल भइरहेको नेपाली कांग्रेस, बाजुराका सचिव दीपक शाह बताउँछन्। शाह भन्छन्, “विगतमा कसरी हुन्थ्यो थाहा भएन, यसपालि गाउँमा गएर सबैको सुझाव लिंदैछौं।”
त्यस्तै नेकपा (एमाले), बाजुराका सचिव बलदेव रेग्मी वडा कमिटी, गाउँपालिका कमिटी र नगरपालिका कमिटीमा उम्मेदवार छनोटका लागि छलफल भइरहेको बताउँछन्। उनी भन्छन्, “अहिले गाउँमा छलफल चलिरहेको छ, त्यसपछि आमसभा गर्छौं।”
माओवादी केन्द्रले आन्तरिक छलफल चलाएको छ। गाउँपालिका र नगरपालिका कमिटी गठन भइरहेको र त्यसपछि वडा वडा गएर कार्यक्रम गरिने माओवादी केन्द्रका केन्द्रीय सदस्य देवीचन्द्र बुढा बताउँछन्।
उम्मेदवार छनोटसँगै स्थानीय नेताहरूले घरदैलो अभियान सञ्चालन गरिसकेका छन्। जिल्ला निर्वाचन कार्यालय बाजुराले पनि निर्वाचनको तयारी तीव्र रूपमा अघि बढिरहेको जनाएको छ। स्थानीय तह निर्वाचनलाई लक्षित गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। बाजुरामा चार नगरपालिका र पाँच गाउँपालिका छन्।