उत्पादन गर्न लगानी अभाव

Share:
  
शारीरिक रूपमा अशत्ता्क भएकाहरूलाई सहायता दिने हि्वलचेयरको डिजाइन तयार भए पनि लगानी अभावका कारण उत्पादन हुनसकेको छैन।

बिक्रम राई
केयू र स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रले संयुक्त रूपमा तयार पारेको ह्विलचेयरको नमूना।
दुर्घटनामा परेर शारीरिक रूपमा अशक्त भएका स्पाइनल कर्डका बिरामीलाई ह्विलचेयर नभई हुँदैन। नेपालमा स्पाइनल कर्ड इन्जुरीका करीब १५ हजार बिरामी रहेको तथ्यांक छ। १२ वैशाख २०७२ को महाभूकम्पपछि यस्ता बिरामीको संख्या ह्वात्तै बढेको छ। अरूको सहायता बेगर हिंडडुल गर्न नसक्ने यस्ता बिरामीका लागि चाहिने ह्विलचेयर विदेशबाट आयात हुँदै आएको छ।

एक थान ह्विलचेयर विदेशबाट खरीद गर्दा औसत रु.४० हजारदेखि रु.५० हजारसम्म पर्छ। आयातीत चेयर बिग्रिहाले मर्मत सम्भार गर्न पनि सम्भव हुँदैन। काभ्रेको साँगास्थित स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रका ह्विलचेयर सेवा संयोजक उदयराज अधिकारी बिग्रेका ह्विलचेयर त्यतिकै फालिने गरेको बताउँछन्। यो अवस्था हटाउन केन्द्र र काठमाडौं विश्वविद्यालय (केयू) को प्राविधिक तालीम केन्द्रले नेपाली ह्विलचेयरको डिजाइन तयार गरेका छन्। त्यस अनुसार, चार र तीनपाङ्ग्रे नमूना (प्रोटोटाइप) पनि बनिसकेको छ।

यो नमूना अनुसार ह्विलचेयर उत्पादन गर्न सके विदेश निर्यात गर्न पनि सकिने केयूका मेकानिकल इन्जिनियरिङका विद्यार्थी गोकर्ण पौडेल बताउँछन्। उनका अनुसार, स्पाइनल कर्ड इन्जुरी भएका बिरामीलाई लक्षित गरेर तयार गरिएको डिजाइन फलामको ह्विलचेयर बनाउन आवश्यक पाटपुर्जा नेपालमै बनाउन सकिन्छ। चेयर बिग्रँदा स्थानीय वेल्डिङ पसलमा मर्मत गर्न सकिन्छ। पुनर्स्थापना केन्द्रले केयूका मेकानिकल इन्जिनियरिङका विद्यार्थीलाई संलग्न गराएर ह्विलचेयर उत्पादन गर्ने योजना पनि बनाएको छ। यहीं बन्ने चेयरलाई रु.३५ हजारसम्ममा बिक्री गर्न सकिने केन्द्रका उदयराज अधिकारी बताउँछन्। तर, यसका लागि लगानी जुटेको छैन। डिजाइनमा संलग्न मेकानिकल इन्जिनियर पौडेल भन्छन्, “ठूलो परिमाणमा ह्विलचेयर उत्पादन गर्न इच्छुक व्यक्ति वा संस्था भए केयूले प्राविधिक तालीम पनि दिनेथियो।”

केयूको प्राविधिक तालीम केन्द्रले गत वर्ष १०८ थान आल्मुनियमका ह्विलचेयर बनाएको थियो, जुन घर–कम्पाउण्ड बाहिर प्रयोग गर्दा छिट्टै टुटफुट हुने भएकाले फलामको डिजाइन तयार पारिएको हो।

रामु सापकोटा

comments powered by Disqus

रमझम