मुख्य पेशा बन्दै

Share:
  
- मुकेश पोखरेल
विदेशमा नेपाली 'रिभर गाइड' को माग हुन थालेपछि यो पेशामा युवा आकर्षण बढ्दै गएको छ।

हुम्लाको कर्णाली नदीमा कायकिङ गर्दै अनुप गुरुङ ।
पुतलीबजार, स्याङ्जाका तपन गुरुङ (३६) हरेक वर्ष ६ महीना जापानमा हुन्छन्। उनले जापानका नदीमा रिभर गाइडको काम गर्न थालेको ६ वर्ष भइसक्यो। पुतलीबजारकै दिल आले (३७) पनि वर्षको आधा समय जापानकै नदीहरूमा रमाउँछन्। धादिङका राजीव त्रिपाठी (२४) र चितवनका मानबहादुर कँडेल (२३) रिभर गाइडकै रूपमा २१ वैशाखमा आइसल्याण्ड जाँदैछन्। १८ वर्षअघि रिभर गाइड बनेका दिल आले भन्छन्, “नेपालमा अफ सिजन हुँदा विदेश र विदेशमा अफ सिजन हुँदा नेपालमा काम हुन्छ।”

उनका अनुसार, नेपाली रिभर गाइडहरू वैशाखमा विदेशतिर लाग्छन् र असोजमा फर्कन्छन्। असोज–वैशाख नेपालमा र्‍याफ्टिङको सिजन हो। रिभर गाइडहरूको संस्था हिमालयन रिभर गाइड एसोसिएसनका अनुसार, ६ महीना जापानमा काम गर्ने नेपाली रिभर गाइड १५० जना छन्। तीन वर्षदेखि आइसल्याण्डमा काम गरिरहेका रिभर गाइड मानबहादुर कँडेल मासिक रु.२ लाख बचत हुने बताउँछन्। त्यस्तै, नेपाल र जापानमा काम गर्दा वार्षिक रु.१५ लाख बचत हुने तपन गुरुङ बताउँछन्।

अप्ठ्यारो पहाडी नदीनालामा काम गरेको अनुभवका कारण नेपाली रिभर गाइडको माग विदेशमा बढेको हो। रिभर गाइड एसोसिएसनका अनुसार, नेपालमा करीब ५०० रिभर गाइड छन्। तीमध्ये करीब ३०० जना भारत, श्रीलङ्का, क्यानाडा, जापान, अमेरिका, आइसल्याण्डलगायतका मुलुक आउजाउ गर्छन्। “अप्ठ्यारा नदीमा काम गरेको अनुभवले मात्र नभई साहसी र इमानदार हुने भएकाले पनि विदेशमा नेपाली रिभर गाइड रुचाइन्छ” एसोसिएसनका कोषाध्यक्ष महेन्द्र सारु भन्छन्, “विदेशमा माग बढेसँगै यो पेशामा युवाको आकर्षण बढ्दो छ।”

उनका अनुसार, चार–पाँच वर्षको अनुभव भएका नेपाली रिभर गाइडहरू विदेश जान्छन्। सिजनमा काम गर्न गएर कम्पनी खोलेका नेपाली रिभर गाइडहरू पनि छन्। अनुप गुरुङ (३९) तिनैमध्येका एक हुन्। १९ वर्षअघि यो पेशामा आएका उनले सात वर्षअघि आइसल्याण्डमा खोलेको 'भाइकिङ र्‍याफ्टिङ' कम्पनीले नेपाली रिभर गाइडलाई रोजगारी दिंदै आएको छ।

नेपालमा र्‍याफ्टिङ

सन् १९७० मा कायकिङ र र्‍याफ्टिङका सामान बोकेर आएका अमेरिकी नागरिक माइकल एगर र बेलायतका कर्णेल जोन ब्लासफोर्ड स्नेलले त्रिशूलीमा र्‍याफ्टिङ गरेर नेपालमा पहिलो पटक यो साहसी खेलको शुरूआत गरेका थिए। त्रिशूलीको छालको नाम समेत स्नेलको नाममा रह्यो, दुर्घटनाका कारण। “वेल्खुमुन्तिर शक्तिशाली छालले र्‍याफ्टलाई चट्टाने भित्तामा ठोक्काउँदा स्नेलको नाक भाँच्चियो”, ३० वर्ष रिभर गाइड रहेका मेघ आले सम्झ्न्छन्, “अनि छालको नाम नै 'स्नेल्स् नोज र्‍यापिड' रह्यो।”

नेपालमा व्यावसायिक र्‍याफ्टिङका लागि गाइड उत्पादन गर्ने श्रेय भने माइकल एगरलाई जान्छ। उनैले पहिलो पटक कृष्ण गुरुङ, बसन्त राई, हरि राई, श्याम पिया र इन्द्र रानालाई रिभर गाइड तालीम दिएर र्‍याफ्िटङमा ल्याएका थिए। त्यसपछि नेपालमा व्यावसायिक र्‍याफ्टिङ शुरू भयो। अहिले त र्‍याफ्िटङ गराउने कम्पनी नै ४० भन्दा बढी छन्।

आलेका अनुसार, हरेक वर्ष नेपाल आउनेमध्ये ७० हजार विदेशी पर्यटक र्‍याफ्िटङमा जान्छन्। नेपालका त्रिशूली, कालीगण्डकी, भोटेकोशी, सुनकोशी, कर्णाली, मर्स्याङ्दी, सेती, भेरीलगायतका नदी र्‍याफ्टिङका लागि उपयुक्त छन्। पछिल्लो समय नदीहरूमा निर्मित र निर्माणाधीन जलविद्युत्, सिंचाइलगायतका भौतिक संरचनाले भने र्‍याफ्टिङलाई खुम्च्याउँदै लगेको आले बताउँछन्।

कर्णाली, मर्स्याङ्दी, भोटेकोशीलगायतका प्रमुख नदीहरूमा व्यावसायिक र्‍याफ्टिङ शुरू गर्ने अगुवा मानिने ५४ वर्षीय आले नेपालका नदीहरू कायकिङ र र्‍याफ्िटङका लागि विश्वमै नामी रहेको बताउँछन्। उनका अनुसार, सुनकोशीको हर्कपुर र्‍यापिड विश्वका १० चुनौतीपूर्णमध्ये सातौंमा पर्छ। छालको आकृति, गति, नदीको वनावट र स्थानको नाम अनुसार र्‍यापिडको नाम राखिन्छ। त्यस्तै, कर्णाली र भोटेकोशी र्‍याफ्टिङका लागि विश्वकै उत्कृष्ट गन्तव्य हुन्।

जोखिमको पेशा

र्‍याफ्टिङ साहस र जोखिमको खेल हो। यसमा थोरै गल्ती हुँदा ज्यान नै जान सक्छ। सात वर्ष अघि सुनकोशीको हर्कपुर र्‍यापिडले र्‍याफ्ट पल्टाउँदा रिभर गाइड अनिल राईको मृत्यु भयो। त्यसअघि २०४३ सालमा त्यही हर्कपुर र्‍यापिडले र्‍याफ्ट पल्टाउँदा रिभर गाइड शम्शेर रानाको ज्यान गएको थियो। र पनि, रिभर गाइडका लागि र्‍यापिडले र्‍याफ्ट पल्टाउने घटना सामान्य हुन्। त्यस्तो बेला सबैको ज्यान जोगाउन सक्नु गाइडको खूबी हो। तर, सबैले सधैं त्यस्तो अवसर पाउँदैनन्।

नेपालमा र्‍याफ्टिङ सिक्न आएकी क्यास फेडल त्रिशूलीमा

दिल आले कालीगण्डकीमा

२०५० असारमा ९ जनाको टोलीलाई त्रिशूलीमा र्‍याफ्टिङ गराएर वैरेनीदेखि मझिमटार पुर्‍याएका कुन्दन क्षेत्री (४९) लाई विदेशीहरूले अझ् तलसम्म लैजान अनुरोध गरे, तर 'हिमालय वन्डर्स' का गाइड उनलाई त्यहाँभन्दा तल लैजान कम्पनीको अनुमति थिएन। आग्रहको अगाडि केही नचलेपछि उनले 'कुनै घटना भए त्यसको जिम्मेवार म आफैं हुनेछु' भन्ने व्यहोराको कागज गराएर र्‍याफ्टमा चढाए। दुर्भाग्यवश, मझिमटारबाट सलानघाट पुग्दा डुङ्गा पल्टियो र गाइड क्षेत्रीले आठ जनालाई मात्र बचाउन सके। “अगाडि नै कागज गराएकोले मैले जेल जानु परेन” २९ वर्षदेखि रिभर गाइड रहेका क्षेत्री भन्छन्, “तर; त्यो घटनाले अहिले पनि मलाई झ्स्काइरहन्छ।”

दिल आले र्‍याफ्टिङ गाइडले यस्ता घटनाको सामना गरिरहनुपर्ने बताउँछन्। सात वर्षअघि त्रिशूलीमा र्‍याफ्ट पल्टिंदा उनले ६ जना विदेशीको तत्काल उद्धार गरे पनि एकजनाले झ्ण्डै ज्यान गुमाउनु परेको थियो। उनका अनुसार, र्‍याफ्टिङमा र्‍यापिड र भुमरी अति खतरनाक हुन्छन्। र्‍यापिडले भुमरीमा हुत्याइदिएपछि गाइडबाट चमत्कारको अपेक्षा गरिने आले बताउँछन्। “पहिलो कुरा त भुमरीबाट जोगिने हो” उनी भन्छन्, “त्यसभित्र परेपछि 'लाइफ ज्याकेट' ले पनि केही मद्दत गर्दैन।”

कर्णाली नदीमा कायकिङको लागि जाने क्रममा हुम्लाको सिमकोट विमानस्थलमा; दायाँबाट क्रमशः सुमन थापा, अनुप गुरुङ, मानबहादुर कँडेल र राजीव त्रिपाठी ।

२०४४ सालको मध्य बर्खामा ब्रिटिश–गोर्खा सैनिकको टोलीलाई सुनकोशीमा र्‍याफ्टिङ गराउन लगेका रिभर गाइड मेघ आले हर्कपुर र्‍यापिडमा परे। दोलालघाटदेखि चतरासम्मको ९ दिने यात्रामा निस्केको २१ जनाको टोलीमध्ये आले रहेको तेस्रो र्‍याफ्टलाई उर्लंदो र्‍यापिडले पल्टायो। “त्यो बेला म मात्रै बाँचेर हुँदैनथ्यो” आले भन्छन्, “त्यो त आफू मर्न तयार भएर अरू सबैलाई बचाएको क्षण हो।”

एकनिमेषमा ठूलो निर्णय गर्नुपर्ने रिभर गाइड नदीको वहाव, छाल र उद्धार कलामा विशेष रूपमा पोख्त हुनुपर्छ। आफ्नो ज्यानलाई जोखिममा पार्ने साहस त यो पेशाको पहिलो शर्त नै हो।


र्‍याफ्टिङ सिक्न नेपाल

पाँच महीनायता नेपालका पहाडी नदीहरूमा रमाइरहेकी क्यास फेडल अष्ट्रेलियन नागरिक हुन्। अरु पाँच महीना नेपालमा रहने उनलाई यहाँबाट उत्कृष्ट रिभर गाइड बनेर फर्कनु छ। वर्षको कुल दुई महीना र्‍याफ्टिङको सिजन हुने उनको देशमा सबै नदी मानव नियन्त्रित छन्। “आफूखुशी वहने प्राकृतिक नदीहरू भएकोले सिक्नलाई नेपाल रोजें” फेडल भन्छिन्, “यहाँका पहाडी नदीमा सिक्नुको महत्व नै छुट्टै छ।”

त्रिशूली, सेती, सुनकोशी, कालीगण्डकी र पश्चिम सेतीका कठोर र्‍यापिडहरूको सामना गरिसकेकी उनी अहिले र्‍याफ्ट नियन्त्रण, नदीमा खसेकालाई उद्धार गर्नेलगायतका अभ्यास गरिरहेकी छिन्। हिमालयन रिभर गाइड एसोसिएसनका अनुसार, नेपालमा अहिले करीब १०० विदेशी रिभर गाइड तालीम लिइरहेका छन्।

comments powered by Disqus

रमझम