३-९ वैशाख २०७४ | 16-22 April 2017

राजनीति मिसिएको खाना

Share:
  
- डा. अरुणा उप्रेती

साल्ट, सुगर, फ्याटः हाउ द फुड जाइन्ट्स हुक्ड अस (सन् २०१४) पुस्तकमा माइकल मोस कम्पनीहरूले खाद्य पदार्थ मीठो बनाउन कसरी चिनी, नून र चिल्लो पदार्थ हाल्छन् र त्यसले थाहै नपाई अमेरिकीहरूको शरीरको भार बढिरहेको छ भनी खुलासा गर्छन्। खाद्य उद्योग, राजनीति र विज्ञापनको दुष्प्रभाव बुझाउने 'बेस्टसेलर' यो पुस्तक १८ भाषामा प्रकाशित भइसकेको छ।

अमेरिकी बाबुआमा छोराछोरीलाई मायाले पिज्जा, केक, विभिन्न चिसो पेय पदार्थ दिन्छन्। “स्कूलमा पनि खाजामा तिनै पत्रु खाना र चिसो पेय बाँड्छन्, बच्चाहरूलाई पनि यस्तै खाना मन पर्छ, यसले उनीहरूलाई मोटो बनाइरहेको थाहा छ तर पनि रोक्न चाहिं गाह्रो भइरहेको छ”, पुलित्जर पुरस्कार विजेता पत्रकार मोस भन्छन्। किताबका लागि अनुसन्धानका क्रममा चलेको चिसो पेय 'डा. पेपर' बनाइरहेका होवार्ड मस्कोविजसँगको लेखकको कुराकानी रोचक छ। खाद्यान्न उत्पादन गर्ने थुप्रै कम्पनीसँग आवद्ध होवार्ड भन्छन्, “कम्पनीहरूलाई खानामा कति चिल्लो, चिनी र नून मिसाएपछि स्वादिलो बन्छ र खाउँखाउँ लाग्छ भन्ने कुरा म सिकाउँछु।” मनोविद्समेत रहेका मस्कोविज स्वयं भने ती कम्पनीहरूका उत्पादन खाँदैनन्। “यसले स्वास्थ्य बिगार्छ, दाँत खत्तम पार्छ। त्यसैले सकेसम्म म प्याकेट खानेकुरा, पाउरोटीसमेत नखाने प्रयास गर्छु”, उनी भन्छन्।

कम्पनीहरूले तथाकथित झूटो अनुसन्धानबाट कसरी उपभोक्तालाई आफ्ना हानिकारक उत्पादन खान बाध्य पार्छन् भन्नेबारे पनि पुस्तकमा खोज गरिएको छ। “जस्तो कि नवजात शिशुहरूले गुलियो मन पराउँछन् भन्ने भ्रम फैलाएर आमाबाबुलाई चिनी भएको खाना खुवाउन प्रेरित गरिरहेका हुन्छन्”, पुस्तकमा भनिएको छ।

नेपालको अवस्था पनि अमेरिका भन्दा खासै फरक छैन। खाद्य र पेय पदार्थको बजार यहाँ पनि उस्तै छ। गाउँघरमा घुम्दा मैले पनि बच्चालाई घरको लिटो खुवाउनुको साटो सेरेलेक दिएको र त्यसमा मिसाइएको चिनीले बच्चालाई फाइदा गर्छ भन्ने सुनेकी छु। नवजात शिशुलाई खुवाइने बिस्कुटहरूमा पोषणयुक्त खाना पाइन्छ भन्ने गरेका आमा पनि सम्झना आए। सानैदेखि चिनी मिसाइएका खानेकुरा खुवाएपछि बच्चाहरूमा कुपोषित हुने, मोटोपन बढ्दै जाने र वयस्क हुँदासम्म विभिन्न रोग लाग्ने जोखिम बढ्छ।

विज्ञापनको प्रभावमा नेपाली अशिक्षित आमा मात्र होइन, अमेरिकाका शिक्षित आमा पनि ठगिंदा रहेछन्। “बे्रकफास्टमा 'भिटामिन सी' भएको ताजा सुन्तलाको रस खानु” भनी विज्ञापन गरी 'सुन्तलाको सिन्थेटिक' पेय अमेरिकाको घरघरमा पुग्नुलाई पनि लेखकले कम्पनीहरूको कुत्सित मनसाय भनी चित्रण गरेका छन्। हामीकहाँ पनि यस्ता प्याकेटका जुसहरू छ्यापछ्याप्ती पाइन्छन्। तर, तिनले शरीरलाई फाइदा गर्दैनन्।

दाल, भात, रोटी तरकारीको महत्व बिर्सेर हामी बढी चिनी, चिल्लो र नून हालेका खानेकुरा खाँदै, खुवाउँदै अस्वस्थ बनिरहेका छौं। बच्चाहरूलाई ख्वाएर अस्वस्थ बनाउँदै र आफैं पनि मोटोपनको शिकार भएका छौं।

पुस्तकमा मोसले खानेकुरामा चिनी, नून र चिल्लोको मात्रा मिसाउनु अघि 'आनन्द अनुभूतिको स्वाद' पत्ता लगाउने प्रयत्न गर्दै आएको बताएका छन्। यही अनुभूति हुने गरी मिसाउने भएकाले बालबालिका मात्र होइन, ठूलालाई पनि त्यस्ता खाना नभई हुँदैन।

त्यसो त पोषणविद् मारियन नेस्लेले सन् २००२ मा नै फुड पोलिटिक्स पुस्तकमार्फत हाम्रा भान्सामा पसेको बजारीकरणको तीतो सत्यबारे सचेत हुन सुझ्ााएकी थिइन्। तर, हामीले वास्ता नै गरेनौं। उनले खाद्य कम्पनीहरूले आफ्ना अस्वस्थ उत्पादनबाट नाफा कमाउन राजनीतिज्ञहरूलाई समेत प्रभावित पार्ने तथ्य नै प्रस्तुत गरेकी थिइन्।

“अस्वस्थकर खानाले मोटोपन बढाई अनेक रोग निम्त्याउँछ भन्नेबारे पुस्तक लेख्छु भन्दा धेरैले स्वाद अनुसार खान पाउनुपर्छ र यसमा सरकारले रोक लगाउन हुँदैन भनेर निरुत्साहित पार्न खोजेका थिए” पुस्तकको शुरुआतमै नेस्लेले लेखेकी छिन्, “अर्थात् कम्पनीहरूले नाफाका लागि जस्तोसुकै खाना र विज्ञापन गरे हुन्छ, यसबारे सरकारले बोल्नै हुँदैन भन्ने आशय थियो।”

मारियनले सन् १९८६ मा सरकारको स्वास्थ्य नीति बनाउने विभागमा काम गर्दाको अनुभवलाई पनि पुस्तकमा समेटेकी छिन्। त्यहाँ उनी बढी बोसो, चिनी, नून र मदिराले जनस्वास्थ्यमा कसरी नकारात्मक असर पारिरहेको छ भन्नेबारे एक अध्ययन टोलीमा सहभागी थिइन्। तर, अध्ययनको पहिलो दिनमै हाकीमबाट अचम्मको निर्देशन आयो– परिणाम जे आए पनि मासु र बोसो कम खाउँ भन्ने कुरा चाहिं कुनै पनि हालतमा नलेख्नू। कारण ठूला मासु व्यवसायीहरू थिए, जसले सिनेटरहरूलाई आफ्नो पक्षमा पारेका थिए। आखिर भयो पनि त्यस्तै, सिनेटरहरूले सिनेटमा व्यवसायीका तर्फबाट वकालत गरे। र, 'मासु ठिक्क खानुपर्छ' भन्ने प्रतिवेदन जारी गर्न बाध्य तुल्याए।

यो पढेपछि मलाई लाग्यो– उपभोक्ता अधिकारमा सशक्त अमेरिकामा त कम्पनीले सिनेटर किन्न सक्छन् भने हाम्रोजस्तो अस्थिर राजनीतिक अवस्था भएको मुलुकमा कम्पनीहरूले केसम्म गर्न बाँकी राखेका होलान् र?

दुई वर्ष अघिको एउटा उदाहरण, सरकारले स्वास्थ्यको दृष्टिकोणले चाउचाउ ठीक नहुने हुनाले स्कूलको खाजामा यसको बन्देज लगाउनुपर्छ भनी नीति नै बनाउन खोज्यो। बालबालिकालाई घरबाटै खाजा ल्याउन प्रेरणा दिन केही ठाउँमा खाजाका बट्टा पनि बाँडियो। तर यसविरुद्ध कम्पनीहरू उत्रिए। चाउचाउ स्वस्थकर भएको र यसले देशको विकासमा ठूलो योगदान गरेको भनेर लविङ गर्न थाले। अन्ततः सरकार निहुरियो। स्वस्थ खाना खुवाउने विचार पनि तुहियो।

यसले पनि पुष्टि गर्छ, अमेरिका परको कुरा; हाम्रै देशका खानामा पनि राजनीति मिसिएको छ। हामी ती खाना खाएर दिनदिनै रोगी भइरहेका छौं। र, यसविरुद्ध आजैदेखि लड्नुको विकल्प छैन। यी दुई पुस्तक पढेपछि मैले बुझेको चुरो कुरो यही हो।

comments powered by Disqus

रमझम