३-९ वैशाख २०७४ | 16-22 April 2017

प्रशंसनीय पहल

Share:
  
नेपाल क्रिकेट संघको निलम्बनपछि मुर्झाएको राष्ट्रिय क्रिकेटलाई निजीस्तरबाट भइरहेका धनगढी प्रिमियर लिग जस्ता प्रतियोगिताहरुले ज्यान भरिरहेका छन्।

कौशल अधिकारी।
काठमाडौं गोल्डेन्सका सुमित महर्जन र सोमपाल कामी रन लिने क्रममा।
२७ चैत (९ अप्रिल) मा भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को सनराइजर्स हैदरावाद र गुजरात लायन्सबीचको खेल ईएसपीएन क्रिकइन्फो डटकम मार्फत 'लाइभ अपडेट' हेरिरहेका नेपाली दर्शक छक्क परे। कारण, वेबसाइटमा इन्डियन प्रिमियर लिगको ठीक तल लेखिएको थियो– धनगढी प्रिमियर लिग। संसारभरका चर्चित क्रिकेट प्रतियोगिताको 'लाइभ स्कोर' मा ख्याति कमाएको क्रिकइन्फोले सुदूरपश्चिममा जारी डीपीएललाई समावेश गर्नु नेपालीका लागि सुखद थियो।

डीपीएल उद्घाटन अघि २६ चैतमा नेपाल–११ र धनगढी–११ बीच भएको मैत्रीपूर्ण खेलको क्रिकइन्फोमा 'स्कोर' अपडेटसँगै नेपाली घरेलु लिगले पनि अन्तर्राष्ट्रिय 'एक्सपोजर' पाएको छ। क्रिकइन्फो र डीपीएलका सेतु बनेका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिस्ट रमण शिवाकोटी भन्छन्, “ईएसपीएन क्रिकइन्फो संसारभरि हेरिन्छ। प्रतियोगिताको लाइभ अपडेटले हाम्रा खेलाडीलाई 'एक्सपोजर' मिलेको छ।”

सुभाष सपना

कैलालीको धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमीले २०६५ मा कलेजस्तरीय सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कप आयोजना गर्‍यो। विजेतालाई रु.३० हजार पुरस्कार राखेर रु.३ लाखको कुल बजेट छुट्याइएको प्रतियोगितामा १२ टोली सहभागी भए।

यो सफलताबाट हौसिएका एकेडेमीका निर्देशक सुभाष शाहीले अब हरेक वर्ष प्रतियोगिता आयोजना गर्ने निर्णय गरे। २०७१ मा विजेता क्लबलाई रु.५ लाख दिइयो भने कुल खर्च ६० लाख पुग्यो। हेर्दाहेर्दै यो देशकै ठूलो पुरस्कार राशीको क्रिकेट प्रतियोगिता बन्न पुग्यो। २०६९ मा डिभोटी होटलको प्रायोजन पाएपछि प्रतियोगिताको नाम होटल डिभोटी एसपीए कप बन्यो। प्रत्येक दुई वर्षमा आयोजना गर्न थालियो।

क्रिकेटमा औधी रुचि भएका शाहीले २०६८ मा धनगढी क्रिकेट एकेडेमी स्थापना गरेर १०–१९ वर्षसम्मका क्रिकेट खेलाडीलाई प्रशिक्षण दिन थालिसकेका थिए। एकेडेमीकै आयोजनामा २०६९ देखि क्लबस्तरीय धनगढी क्रिकेट लिग (डीसीए) कप' पनि शुरु भइसकेको थियो। पहिलो वर्ष कैलालीकै आठ क्लब सहभागी प्रतियोगितामा विस्तारै अन्य जिल्लाका क्लब पनि सहभागी हुन थाले।

नेपालमा पनि अक्सनबाट खेलाडी छनोट गर्ने प्रक्रियाको शुरुआत गरेका छौं।

सुभाष शाही

अध्यक्ष, डीपीएल

जारी डीपीएल उही एसपीए र डीसीए कपको संयोजन हो। “दुइटा प्रतियोगिता गर्नुभन्दा एउटै गरौं, राम्रो गरौं भनेर डीपीएल बनाएका हौं”, आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष शाही भन्छन्।

राम्रो गर्ने यो प्रयास अहिले राष्ट्रिय बनेको छ। डीपीएलमा मुलुकका ६ शहरका ६ टीम प्रतिस्पर्धामा छन्, धनगढी टीम चौराह, सीवाईएस अत्तरिया, कञ्चनपुर आईकोनिक, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स र विराटनगर किङ्ग्स। लक्की ड्रबाट टीम चौराहका पारस खड्का, अत्तरियाका ज्ञानेन्द्र मल्ल, कञ्चनपुरका विनोद भण्डारी, काठमाडौंका बसन्त रेग्मी, रुपन्देहीका शक्ति गौचन र विराटनगरका शरद भेषवाकर कप्तान छनोट गरिएका थिए भने बोल बढाबढबाट खेलाडी अनुबन्ध गरिएको थियो। “नेपालमा पनि अक्सनबाट खेलाडी छनोट गर्ने प्रक्रियाको शुरुआत गरेका छौं”, शाही भन्छन्।

लिग कम नक आउटका आधारमा सञ्चालित प्रतियोगिताका ६ मध्ये ४ टोली नक आउट चरण प्रवेश गर्नेछन्। प्रतियोगिताको विजेताले रु.१५ लाख र उपविजेताले रु.७ लाख नगद पुरस्कार पाउने छन्। प्रत्येक खेलका म्यान अफ द म्याचलाई रु.१० हजार र म्यान अफ द सिरिजलाई टीभीएस २०० सीसी मोटरसाइकल प्रदान गरिनेछ। २० चैतदेखि शुरु भएको प्रतियोगिता ९ वैशाखसम्म चल्नेछ। प्रतियोगितामा कुल रु.१ करोड ६० लाख खर्च हुने अनुमान गरिएको शाही बताउँछन्।

चरम राजनीतिक हस्तक्षेपका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेपछि घरेलु प्रतियोगिताहरू ठप्प छन्। क्यानले गर्दै आएको उमेर समूहका प्रतियोगिता पनि दुई वर्षयता भएकै छैनन्। यस्तो बेला निजी क्षेत्रबाट भएको डीपीएलले खेल र खेलाडीलाई चलायमान बनाउन सहयोग गरेको निलम्बित क्यानका अध्यक्ष चतुरबहादुर चन्द बताउँछन्। “क्यान निष्त्रि्कय हुँदा राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगितालाई निरन्तरता दिनुपर्ने हो, तर उसलाई वास्तै छैन” उनी भन्छन्, “बरु निजी क्षेत्रबाट गरिएका प्रयास प्रशंसनीय छन्।”

बच्चु विक

comments powered by Disqus

रमझम