चित्रकलाको विद्यार्थी छँदादेखि नै नेपाली चित्रकला र चित्रकारबारेका पुस्तक नभेट्दा मदनलाई दिक्क लाग्थ्यो। नेपाली कलाबारे चर्चा हुँदा कि त विदेशीले लेखेका पुस्तकको सन्दर्भ दिइन्थ्यो कि त विदेशी संग्रहालयमा रहेका नेपाली पेन्टिङबारे उल्लेख गरिन्थ्यो। यस्तो अवस्थामा जब पाटन संग्रहालय विकास समितिकी सदस्य संगीता थापाले चित्रकारहरूको इतिहासबारे किताब लेख्न प्रस्ताव गरिन्, मदन निकै उत्साहित भए।
राष्ट्रिय संग्रहालय छाउनी, पाटन संग्रहालय, राष्ट्रिय कला संग्रहालय, भक्तपुर साथै राणा र चित्रकार परिवारका व्यक्तिगत संग्रहबाट पेन्टिङका तस्वीर संकलन गरी त्यसबारे विवरण तयार पार्न मदनलाई ठ्याक्कै पाँच वर्ष लाग्यो। अघिल्लो महीना मात्र प्रकाशित मदनको पुस्तक 'नेपाली पेन्टिङ्स थ्रु द एजेज' मा पहिले प्रकाशित नभएका ऐतिहासिक चित्रकला र त्यसबारेका विवरण संग्रहित छन्।
यो पुस्तक चित्रकारहरूको सांस्कृतिक वातावरण, उनीहरूको उत्प्रेरणा र प्रवृत्ति साथै नेपाली कलाको विषय र स्वरुपमा केन्द्रित छ। पुस्तकमा चित्रसँगै मदनले कलामा समर्पित आफ्नो खानदानी परम्पराबारे पनि उल्लेख गरेका छन्।
“यो इतिहासको पुनःप्रकाशन होइन” मदन भन्छन्, “पुस्तकमा नेपाली परम्परागत चित्रकलाको शुरुआत, विकास र ऐतिहासिकताको बयान गर्ने प्रयास गरिएको छ।” पुस्तक नेपाली चित्रकला इतिहास लेखनमा उपयोगी हुने उनको विश्वास छ।
कालक्रममा नेपाली चित्रकलाको फरक स्वरुप र विषयबारे पुस्तकले सचित्र वर्णन गरेको छ। एघारौं शताब्दीमा निर्मित चित्रकलादेखि मध्ययुगीन पौवा, तिब्बती थांका चित्रकला र नेवारी कला परम्परामा तिनका प्रभाव पनि औंल्याइएको छ। त्यसैगरी आधुनिक शैली, हातले बनाइएका व्यक्तिचित्र र राणा र शाहकालीन क्यानभास र तैलचित्र पनि समावेश गरिएको छ। बिहार, बही र काठमाडौंका अन्य स्थानका भित्तेचित्रका उदाहरण पनि छन्। विदेशी प्रभावसँगै शुरु भएको नेपाली चित्रकला, त्यसबेलाको धार्मिक, सामाजिक र राजनीतिक विश्वासका साथै आधुनिक प्रविधिबारे पनि पुस्तकमा उल्लेख छ।
पुस्तकमा भक्तपुरको पचपन्न झ्याले दरबारको भित्तेचित्र पनि संग्रहित छ, जसमा राजा भूपतिन्द्र मल्ललाई विश्वरुप र रानी विश्वलक्ष्मीलाई देवीका रुपमा प्रस्तुत गरिएको छ। चित्र भन्छः त्यसबेलाका राजारानीले आफूलाई देवीदेवताको स्वरुपमा देखाउन चाहेका थिए।
शुरुका पौवा चित्रहरू धार्मिक स्वरुपका छन् भने पछिका चित्रमा राजस्थानी र तिब्बती प्रभाव प्रष्टै देखिन्छ। चित्रकारहरूले मल्ल राजाका पोट्रेट्मा मुगल शैली भित्र्याएको देखिन्छ। पश्चिमी मुलुकमा फोटोग्राफीको शुरुआत भएपछि चित्रकारका चित्रकलामा पनि पश्चिमी शैलीका पोट्रेट्को प्रभाव परेको पुस्तकमा संग्रहित चित्रहरूमा देखिन्छ।
चित्रकारहरूका शुरुदेखि अहिलेसम्मका कला विवरण बाहेक पुस्तकले नेपालमा सम्पदाप्रति गरिएको बेवास्तालाई समेत प्रकाश पारेको छ। जस्तो कि, लगनस्थित भीमसेन थापाको दरबारमा बनाइएका कृष्ण र विश्वरुपका भित्तेचित्र २०७२ सालको भूकम्पबाट पूर्ण नष्ट हुनुभन्दा धेरै अघिदेखि नै परित्यक्त अवस्थामा थिए। त्यस्तै १९औं शताब्दीको अन्त्यतिर बनाइएको नृत्यश्वरी देवीको धार्मिक पेन्टिङ राष्ट्रिय संग्रहालयको दराजमा कोचिएको अवस्थामा फेला परेको थियो। १८औं शताब्दीमा बनाइएको रत्नसम्भवको पेन्टिङ अस्पष्ट भइसकेको छ भने १८औं शताब्दीकै शुरुताका बनाइएको पौवा चित्र काम नलाग्ने भइसकेको छ।