एउटा निम्ता कार्डको अर्थ

Share:
  
- कनक दीक्षित
पूर्व राजा ज्ञानेन्द्रले घुमाउरो पाराले नभई सीधै गणतन्त्र स्वीकारेको देखाएका छन्।

नेपाल राज्यको संवैधानिक राजतन्त्रबाट गणतन्त्रमा फेरबदल 'इपोकल' थियो– युगान्तकारी। नेपाल निर्माण गर्ने वंशको १२औं पुस्ताका राजाले आफ्नै हातबाट राजसंस्था गुमाए। जनआन्दोलन २०६२–६३ को प्रमुख माग गणतन्त्र थिएन; तर हठ, दम्भ र मूर्खताका कारण ज्ञानेन्द्रले राजनीतिक अवस्था ठम्याउन सकेनन्। 'अ ला महेन्द्र' सक्रिय राजतन्त्र स्थापना गर्न कदम चालेका उनी जनता जागेपछि पछाडि परे।

उतिबेला गल्तीको स्वस्फूर्त स्वीकारोक्तिका साथ 'कल्चरल किङ्ग' वा 'बेबी किङ' प्रस्ताव मानेको भए आज पनि नेपालमा राजसंस्था रहने थियो,शायद। ज्ञानेन्द्रले बुझ्ोनन् कि माओवादी नेतृत्वलाई सफल अवतरणको लागि केही न केही उपलब्धि लडाकू–क्याडरसामु पेश गर्नुथियो, त्यसैले राजसंस्थाको अन्त्य अपरिहार्य भयो। लोकतान्त्रिक अभ्यासमा निरन्तर धावा बोल्ने नारायणहिटीलाई पदच्यूत गर्दा अन्य दलहरूलाई पनि हाइसन्चो नै थियो।

अन्य मुलुकमा रक्तपात हुँदो हो, राजसंस्था मासिंदा। नेपालमा भने २९ जेठ २०६५ को साँझ पत्रकार सम्मेलन गरेर शालीन बहिर्गमन भयो नारायणहिटीबाट ज्ञानेन्द्र तथा कोमलको।

तत्पश्चात् आजसम्मका वर्षहरूमा ज्ञानेन्द्रले समयचक्र कुरेर बसे– अर्धराजनीतिक सन्देश–वक्तव्य दिंदै, नयाँदिल्ली भ्रमणमा ठूलाबडा भेट्दै, जनताको राजनीतिको नाडी छाम्दै। तर अन्ततोगत्वा उनले गणतन्त्रअन्तर्गत नै जीवनयापन गर्ने निर्णयमा पुगेजस्तो छ। ३ माघ २०७३ मा राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको विवाहको निम्तो स्वीकारेर शीतलनिवास प्रवेश गरे उनी, अन्य नागरिकसरह। योभन्दा पनि ठूलो संकेत थियो– आफूलाई 'पूर्वराजा' भन्दै राष्ट्रपतिलाई नातिको ब्रतबन्धमा बोलाउनु र आदर–सम्मानका साथ आतिथ्य र सिटिङ गर्नु।

उपनयन

राजनीतिक घटनाक्रमले नेपालमा गणतन्त्र स्थापित गर्‍यो र इतिहाससँगको एउटा तन्तु चुँडिंदा पनि पोलिटीको विकासक्रम रोकिएन। संविधान लेखियो।

भारतमा हिन्दूवादी नरेन्द्र मोदी तथा उत्तरप्रदेशमा नेपालको गणतान्त्रिक रुपान्तरणको विरोधी महन्त आदित्यनाथको उदय हुदा यहाँको राजनीति समेत खल्बलिने सम्भावना प्रचूर थियो र छ। तर नेपाल नेपालीले सञ्चालन गर्ने हो, सिमानापारिको अभ्यास, प्रयोग र हावाहुरीले यताको राजनीतिक उत्पत्तिलाई असर पार्नुहुँदैन। मुलुक जेजस्तो छ, हुनेछ; नेपाली नागरिकबीचको बहस, समझदारी, राजनीतिक रस्साकस्सीबाट हुनेछ।

राजनीतिक तथा भू–राजनीतिक चुनौती झोलिरहेको नेपाल राज्यलाई ज्ञानेन्द्रले त्यो निम्तो कार्डमार्फत लोकतान्त्रिक स्थिरताको लागि चाहिने एउटा सौगात दिएका छन्। २४ चैत २०७३ मा होटल सोल्टीमा 'पूर्व श्री ५ नवयुवराज' हृदयेन्द्रको उपनयनको निम्ता कार्डमा ज्ञानेन्द्रको परिवार यसरी प्रस्तुत छन्ः

पूर्व श्री ५ महाराजाधिराज

पूर्व श्री ५ बडामहारानी

पूर्व श्री ५ युवराजाधिराज

पूर्व श्री ५ युवराज्ञी

अंग्रेजी कार्डमा पनि यसै गरी 'फर्मर किङ अफ नेपाल' ऐजन ऐजन छ।
यो निम्ता कार्ड गणतन्त्रको लिखितम् स्वीकारोक्ति हो। ज्ञानेन्द्रले आफ्नो पूर्व 'स्टेटस्' मा मात्र ल्याप्चे लगाएनन्, आफ्ना शाखासन्तानलाई पनि यस अभिव्यक्तिद्वारा बाँधिदिए।

कसैले भन्लान् कि 'श्री ५' र 'हिज म्याजेस्टी' को प्रयोगले अझै पनि पूर्णतः गणतन्त्र मानेको जनाउँदैन, तर 'पूर्व' शब्दले त्यो सबै गौण बनाइदिएको छ।

बाँकी रह्यो पूर्व राजपरिवारलाई आम नागरिकले आउँदा दिनमा कसरी हेर्ने हुन्। नेपाल राज्यमा लोकतान्त्रिक स्थिरता आइसक्दा मुलुकको सार्वभौमिकताका कारण यहाँ समृद्धि पलाउँछ भन्ने प्रष्ट छ, यसै कारण पनि एकीकरणका नायक पृथ्वीनारायण शाह र उनका वंशजलाई मर्यादा दिनमा कन्ज्युस्याइँ गर्नुको अर्थ छैन।

नेपालको संविधान २०७२ मा नामोनिशान छैन राजसंस्था र राजपरिवारको, तर यस परिवारको मर्यादा भने कायम रहनुपर्छ। पूर्व राजपरिवारको सत्कार र अभिवादन गर्न चाहने नागरिकलाई पूर्ण छूट हुनुपर्छ (जो छ पनि)। यसलाई 'नेपाली तरीका' भनौं। आम नागरिकमाझ्ा, रहुन् बसुन्, पलायन हुने अवस्था कहिल्यै नआओस्।

यसको लागि पूर्व राजपरिवारको पनि दायित्व छ– गणतन्त्रको स्वीकारोक्तिसहित कुनै पनि अर्थमा 'राजनीति' नगर्ने। समाजको सहज नजरको हकदाबी गर्न पूर्व राजपरिवार आफैं शालीन र गैरराजनीतिक हुनुपर्‍यो। उपनयनको निम्ता कार्डले त्यस्तै संकेत गर्दछ।

comments powered by Disqus

रमझम