१४-२० जेठ २०७४ | 28 May - 3 June 2017

जोड मुख्य शहरमा

Share:
  
- बच्चु विक
दोस्रो चरणको स्थानीय तह निर्वाचनको क्रममा प्रदेश–७ मा सबै दल धनगढी र महेन्द्रनगरकेन्द्रित अभियानमा छन्।

धनगढी उपमहानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमाल भोट माग्दै।
३१ जेठमा हुने दोस्रो चरणको स्थानीय निर्वाचनका क्रममा प्रदेश–७ मा प्रमुख तीन दलसँगै साना दल र स्वतन्त्र उम्मेदवारले पनि धनगढी उपमहानगरपालिका र भीमदत्त नगरपालिका (महेन्द्रनगर) केन्द्रित चुनावी अभियान थालेका छन्। सात पहाडी जिल्लाबाट आएका मतदाता बढी भएका यी दुई शहरमा पकड देखाउन सक्नेलाई प्रदेश–७ मा सफल मानिने भएकोले दलहरू यता केन्द्रित भएका हुन्।

सबै दलले यी दुई शहरलाई प्रदेश–७ को राजधानीका रूपमा अर्थ्याउँदै चुनावी अभियान चलाइरहेका छन्। एक महीनाअघि धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा होमिएका व्यवसायी गोपाल हमाल पहिल्यै आर्थिक–व्यापारिक केन्द्र रहेको धनगढी प्रदेश–७ को एक्लो उपमहानगरपालिका बनेपछि विकासको मोडल बन्नैपर्ने बताउँछन्। चर्चित व्यवसायी हमालले स्वतन्त्र उम्मेदवारी दिएर विकासको मुद्दा उठाए जस्तै सबै दल र उम्मेदवार त्यसैमा केन्द्रित बनेका छन्। 'विकासलाई एक भोट' भनेर प्रचारमा लागेका हमाल विकासमा नलागे दलहरूको सिद्धान्त काम नलाग्ने बताउँछन्।

विकासः चुनावी मुद्दा

नेकपा (एमाले) ले धनगढी उपमहानगरपालिकाका सबै पदमा उम्मेदवार घोषणा गरेर चुनावी अभियान तीव्र पारेको छ। मेयरमा दुर्गादत्त जोशी र उपमेयरमा रुक्मणी देवकोटा एमालेका उम्मेदवार छन्। जोशी धनगढीकै नेपाल वेस्टर्न क्याम्पसका प्रमुख हुन् भने देवकोटा व्यवसायी हुन्। दुवै उम्मेदवारले विकासलाई प्रमुख चुनावी मुद्दा बनाएका छन्। मतदाताले पार्टीको सिद्धान्त, विचारभन्दा विकास चाहेको जोशी बताउँछन्। त्यसैले, एमालेका उम्मेदवारहरूले चक्रपथ निर्माणदेखि प्रत्येक वडालाई फरक व्यवसायका नमूना वडा बनाउने योजना अघि सारेका छन्।

धनगढीको उम्मेदवारीः एमालेका मेयर र उपमेयर उम्मेदवार दुर्गादत्त जोशी र रुक्मणी देवकोटा।
माओवादी केन्द्रका उम्मेदवारहरू पनि विकासकै योजना लिएर चुनावी प्रचारमा होमिएका छन्। माओवादीबाट मेयरमा रामसमझ् राना र उपमेयरमा शान्ति अधिकारी उम्मेदवार छन्। धनगढीको ५० वर्षे विकास योजना बनाएर मतदाताको घरदैलोमा पुगिरहेका रानाले चौडा सडक, खानेपानी, ढल व्यवस्थापन, सर्वसुलभ स्वास्थ्य सेवा, शिक्षा तथा घर–घरमा रोजगारीलाई नारा बनाएका छन्। उनी भन्छन्, “आधुनिक कृषि, किसानलाई विशेष सहुलियत, पर्यटकीय विकास, गरीब, दलित, थारूलाई जमीनका लागि भोट मागिरहेका छौं।”

नेपाली कांग्रेसले भने वडा अध्यक्ष र सदस्यहरूको मात्र उम्मेदवारी घोषणा गरेर चुनावी भेटघाट, सभा र घरदैलो अभियान चलाएको छ, जसमा समाजवाद वा लोकतन्त्र जस्ता सैद्धान्तिक कुराभन्दा विकासकै कुरा उठाएको छ। धनगढीमा कांग्रेसका तर्फबाट मेयरका आकांक्षी १२ जना छन्। तीमध्ये नगर समिति अध्यक्ष नृप वड र महासमिति सदस्य कृष्णबहादुर महरा मुख्य प्रतिस्पर्धी मानिन्छन्। कैलाली कांग्रेसका उपसभापति प्रकाश बम जनताले विकास बाहेकका कुरा सुन्न नचाहेको बताउँछन्। “स्थानीय तह निर्वाचनमा सिद्धान्त, विचार र इतिहासले काम नगर्ने भयो” उनी भन्छन्, “त्यसैले पूर्वाधार विकास र रोजगारीलाई मुख्य चुनावी मुद्दा बनाएका छौं।”

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माले) र राष्ट्रिय जनमोर्चाले पनि मेयर–उपमेयर बाहेकका उम्मेदवार घोषणा गरेर चुनावी प्रचार थालेका छन्। उनीहरूले 'ठूला दलले विकास गरेनन्, अब हामी गर्छौं' भन्ने नारा लगाएका छन्। धनगढी उमनपामा ७६ हजार ४३० मतदाता छन्।

धनगढीको विकल्प!

उता देशको पश्चिमी सीमा शहर महेन्द्रनगरमा धनगढीलाई प्रतिस्पर्धीका रूपमा उभ्याएर चुनावी अभियान चलाइएको छ। दलहरूले भीमदत्त नगरपालिकालाई उपमहानगरपालिका बनाउने, विकासमा धनगढीभन्दा अगाडि पारेर प्रदेश–७ को राजधानी बनाउनेलगायतका बाचा गरिरहेका छन्। एमालेले भीमदत्तसहित सातवटै नगरपालिका र दुई गाउँपालिकामा उम्मेदवार घोषणा गरेर चुनावी अभियानलाई तीव्र पारेको छ।

भीमदत्त नगरपालिका मेयरमा सुरेन्द्र बिष्ट र उपमेयरमा माया पन्त, वेदकोटको मेयरमा अशोक चन्द र उपमेयरमा सुशीला सिंह, शुक्लाफाँटाको मेयरमा रणबहादुर महरा र उपमेयरमा तुलसी हमाल, कृष्णपुरको मेयरमा कर्ण हमाल र उपमेयरमा रमिता राना बडायक, पुनर्वासको मेयरमा जीवनराज थापा र उपमेयरमा शारदा बिष्ट, बेलौरीमा पल्लवराज भट्ट मेयर र उपमेयरमा चित्रा चौधरी, महाकालीको मेयरमा किशोर लिम्बू र उपमेयरमा चिनी गिरी एमालेका उम्मेदवार छन्।

माओवादी केन्द्रका रामसमझ राना र शान्ति अधिकारी। कांग्रेसले अहिलेसम्म उम्मेदवार तोकेकै छैन।
कांग्रेस र माओवादी केन्द्र भीमदत्त नगरपालिकाको मेयर र उपमेयर बाहेकका उम्मेदवार घोषणा गरेर चुनावी प्रचारमा जुटेका छन्। मेयर र उपमेयरको उम्मेदवार जो भए पनि हामीमध्येकै हौं भनेर भेटघाट, घरदैलोलगायतका कार्यक्रमलाई तीव्र बनाएको कांग्रेसका कञ्चनपुर जिल्ला नेता भोजराज बोहरा बताउँछन्। माओवादी केन्द्रले कञ्चनपुर इन्चार्ज वीरबहादुर थापालाई पुनर्वास नगरपालिकाको मेयरमा उठाएको छ भने कृष्णपुरमा जोगराज चौधरीलाई मेयर र शर्मिला थापालाई उपमेयरमा। अरू नगरपालिका र गाउँपालिकामा १५ जेठभित्रै उम्मेदवारी घोषणा हुने जिल्ला इन्चार्ज थापा बताउँछन्।

राप्रपाले भीमदत्त नगरपालिकाको मेयरमा गजेन्द्रबहादुर चन्द र उपमेयरमा अञ्जु भट्टलाई उम्मेदवार बनाएको छ। माले, राजमो र नयाँशक्तिले उम्मेदवार घोषणा गर्न बाँकी छ। चुनावी प्रचारलाई भने सबै दलले जोडतोडका साथ अगाडि बढाएका छन्।

प्रदेशभर चहलपहल

धनगढी उपमहानगरपालिका र भीमदत्त नगरपालिकासहित प्रदेश–७ भर चुनावी चहलपहल बढेको छ। प्रदेशका नौवटै जिल्लालाई दलहरूको भेटघाट, घरदैलो, आमसभालगायतका चुनाव कार्यक्रमले तरंगित पारेको छ। निर्वाचन आयोगले ५ जेठबाट प्रदेशका सबै स्थानीय तहका वडावडामा थालेको मतदाता शिक्षा कार्यक्रमले पनि चुनावी माहोल बढाएको थियो। नौवटै जिल्लामा निर्वाचन अधिकृतको कार्यालय त्यसअघि नै खुलेका थिए। १५ जेठमा क्षेत्रीय निर्वाचन अधिकृतका कार्यालय खुल्दैछन्।

प्रदेश–७ का १३ लाख ३ हजार ७१४ मतदाता यो निर्वाचनमा सहभागी हुँदैछन्, जसमा महिला ६ लाख ६९ हजार ३२१ र १४ जना तेस्रोलिङ्गी छन्। सबभन्दा बढी मतदाता कैलाली (४ लाख ३ हजार २८०) र सबभन्दा कम बाजुरा (६४ हजार ९५०) मा छन्।

यो प्रदेशका एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिकाका ७३४ वडाका एक हजार १०८ मतदान स्थलमा एक हजार ७८० मतदान केन्द्र निर्धारण गरिएका छन्। ३१ जेठको निर्वाचनले प्रदेश–७ मा ६८ मेयर/उपमेयर, १०८ अध्यक्ष/उपाध्यक्ष, ७३४ वडा अध्यक्ष र २ हजार ९३६ वडा सदस्य गरी ३ हजार १०८ जनप्रतिनिधि निर्वाचित हुनेछन्।

comments powered by Disqus

रमझम