१४-२० जेठ २०७४ | 28 May - 3 June 2017

कपडाको सुरक्षा

Share:
  

गोपेन राई
आकर्षक, सुहाउँदो र सजिलो कपडा धेरैको रोजाइमा पर्छ। तर, कपडा किन्नु जत्तिकै महत्वपूर्ण हुन्छ, सुरक्षित राख्नु। सूती, पोलिस्टर, नाइलनलगायतका कच्चा पदार्थ प्रयोग गरेर कपडा बनाइन्छ। त्यसैले, कपडा अनुसारको हेरचाह र सुरक्षा विधि फरक–फरक हुन्छ। जाडोमा बाक्लो, न्यानो र गर्मीमा हल्का, नरम र शीतल हुने कपडा लगाइन्छ। गर्मीमा जाडोका र जाडोमा गर्मीका कपडा थन्क्याइन्छ।

कलंकीकी रिता तिमिल्सिना (२४) कपडालाई पट्याएर आलमारी र सूटकेसमा कपुर हालेर राख्छिन्। कपडा कीराले नकाटोस् भनेर कपुर राख्ने प्रचलन पुरानै हो। पहिले–पहिले टीनको बाकसमा पनि कपडा थन्क्याउने गरिन्थ्यो। तर, अहिले कपडाकै लागि भनी दराज, र्‍याक, आलमारीलगायतका फर्निचर उपलब्ध छन्। २५ वर्षदेखि लन्ड्री सर्भिसमा आबद्ध कान्तिपुर ड्राई क्लिन एण्ड लन्ड्री सर्भिसका सञ्चालक शेरबहादुर श्रेष्ठ राम्रा र महङ्गा कपडा किने पनि सुरक्षित राख्ने बारे धेरैले ध्यान नदिने गरेको बताउँछन्। “कपडा लगाउने, धुने बेलामा मात्र होइन, स्टोर गर्दा पनि सचेत हुनुपर्छ”, उनी भन्छन्।

खरीद गर्दा नै कपडाको प्रकृति हेरेर हेरचाह गर्न सकिन्छ कि सकिंदैन भनी निश्चित गर्नुपर्छ। नियमित रूपमा ड्राई क्लिनर जान नसक्ने भए घरमा धुन नसकिने कपडा नकिन्नु नै राम्रो हुन्छ। धेरैजसो ब्राण्डेड कपडामा जतनसँग राख्ने तरिकाबारे ट्यागमा उल्लेख गरिएको हुन्छ, नभए बिक्रेतासँग पनि आवश्यक जानकारी लिन सकिन्छ।

सुरक्षित राख्ने तरिका

कपडा धुँदा रङ जाने सम्भावना बढी हुन्छ। एउटाको रङ अर्कोमा सरेर खराब हुन सक्छ। त्यसैले, रङ जाने कपडा अलग–अलग धुनुपर्छ। स्टोर गर्ने कपडामा पनि रङ सर्न सक्ने कपडाले अरु कपडा पनि बिगार्ने भएकोले छुट्टै राख्नुपर्छ। वासिङ मेशीन, सर्फ वा साबुनमा धुँदा कपडा धेरैबेर भिजाउनुहुँदैन। तातोपानी तथा ड्रायरमा धुँदा कपडाको आयु घट्छ।

नेपाल बुटिक एसोसिएसनका अध्यक्ष अरुणा जोशी कपडालाई ढुसी, कीराबाट सुरक्षित राख्नुपर्ने बताउँछिन्। दिनदिनै लगाउने र विशेष अवसरमा लगाउने कपडा छुट्याएर अलग राख्न उनको सुझाव छ। साडी, सूट जस्ता महत्वपूर्ण कपडालाई कभरमा राखेर ह्यांगरमा झुन्ड्याउनु उत्तम हुन्छ। विशेष प्रयोजनमा लगाइने महँगो कपडालाई ड्राई क्लिन गर्न दिंदा कपडाको गुणस्तर र चमक रहिरहन्छ।
सविता श्रेष्ठ

के गर्ने?

कपडा धोएर मात्र थन्क्याउने।

एकैखाले प्रयोजनमा प्रयोग हुने कपडालाई एकैठाउँमा राख्ने।

कपडासँग कपुर राखेर प्याक गर्ने।

सिल्क कपडा राख्दा सकभर सूर्तीको पात र कपुर नछुटाउने।

सफा सूटकेसमा मिलाएर राख्ने।

कपडा राख्दा सीधा घाम पर्ने तथा ओसिलो ठाउँमा राख्नुहुँदैन।

स्टोर गरिएका कपडा समय–समयमा घाममा सुकाउनुपर्छ।

comments powered by Disqus

रमझम