१२ वैशाख २०७२, चाहेर पनि बिर्सन नसकिने दिन। त्यस दिन मध्याह्नको ७.८ म्याग्निच्यूडको विनाशकारी भूकम्प जसले झण्डै नौ हजारको ज्यान लियो, २२ हजारभन्दा बढी गम्भीर घाइते भए। समयमै उद्धार र उपचार नपाएको भए अझै धेरैको ज्यान जान सक्थ्यो। अकल्पनीय विपत्मा रात–दिन नभनी मानवीयता देखाउने, बलबुताले भ्याएसम्म सहयोग गर्नेको संख्या पनि सानो थिएन। तिनैमध्येका एक थिए, जनस्वास्थ्य विशेषज्ञ रवीन्द्र समीर। उनैले भूकम्प प्रभावित १० जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, मनोपरामर्श, राहत वितरणका क्रममा देखे/भोगेको अनुभवको सँगालो हो, भूकम्पमा मल्हमपट्टी।
लेखकले बालबालिकालाई फक्रिएका कोपिलासँग र ज्येष्ठ नागरिकलाई पीपलका रुखसँग तुलना गरेका छन्। पुस्तकका प्रायः सबै शीर्षकले उनको संवेदनशीलता झ्ाल्काउँछ। पुस्तक पढ्दै जाँदा पाठकहरू २०७२ वैशाख–जेठताकाको अस्तव्यस्त अवस्थातर्फ फर्कन बाध्य हुन्छन्।
'सीतापाइला–चक्रपथतिर हेर्दा लाग्थ्यो, भीषण बमबारी भएको छ' पुस्तकमा भनिएको छ। तर, कहाँबाट हेर्दा भन्ने खुलाइएको छैन। यस्तै, भूकम्पपछि हालसम्म ४८० परकम्प आइसकेको भनिएको छ। तर, कहिलेसम्म भन्ने जवाफ पाइँदैन। भविष्यका लागि अभिलेख मानिने पुस्तकमा तथ्यप्रति सचेतता महत्वपूर्ण विषय हो।
देश रोइरहेका बेला सहयोगमा आएका त्रिपाल, जस्तापाता, औषधि, खाद्यान्नमा भ्रष्टाचार गर्ने, पीडितलाई नदिएर गोदाममै कुहाएर राखेको प्रसंग पनि छ, पुस्तकमा। निकै सुस्त गतिमा भइरहेको पुनःनिर्माणलाई अपवाद मान्ने हो भने हामीले एउटा ठूलो विपत्तिबाट पार पाएका छौं। तर भविष्यमा जुनसुकै बेला विपत्तिको पहाड नखस्ला भन्न सकिंदैन। त्यतिबेला पनि सबैले आफ्नो ठाउँबाट सक्दो सहयोगमा जुट्नै पर्छ भन्ने पुस्तकको मूल सन्देश हो।
सन्त गाहा मगर
बालसाहित्यमा गतिलो योगदान दिएका गोपाल पराजुलीले कृतिको ८औं भागमा यसअघि झै नेपाली भाषा र साहित्यमा योगदान दिएका थप २५ प्रतिभाको परिचय गराएका छन्। यस पुस्तकमा, गीतकार मास्टर मित्रसेनदेखि साहित्यकार राधिका राय, प्रकाश कोविददेखि गोविन्द वर्तमानलगायत अटाएका छन्।
पाँचौं कथासंग्रह रोबोटका आँखा मा नरेन्द्रराज पौडेल व्यङ्ग्य, रतिराग र द्वन्द्वका अनेक पाटा प्रस्तुत गर्छन्। २० वटा कथा समेटिएको संग्रहका अधिकांश कथा सरल छन्। लेखनमा स्थानीयता ल्याउन उनले गरेको मिहिनेत प्रशंसनीय छ। तर, सम्पादनमा ध्यान नदिंदा पढ्दापढ्दै बिझाउने धेरै ठाउँ छन्। यसलाई लेखकले सुधार्नुपर्ने देखिन्छ।
इतिहासकार इमानसिंह चेमजोङकी नातिनी मोहेन्दु अमिरण चेमजोङको यो आत्मकथा आम मानिसको भोगाइ हो। खासै ठूलो उतारचढाव नभए पनि उनी जीवनको जरा पहिल्याउन खोजिरहेकी देखिन्छिन्। आफूलाई समाजसेवी भन्न रुचाउने चेमजोङको अनुभूतिको सँगालोले आफूबारे केही लेख्न घचघच्याउँछ।
एउटा उपन्यास र चार वटा कथा सङ्ग्रहका धनी केशव श्रेष्ठको यो कृतिले पैसाले धनी बन्ने तरिकाबारे विमर्श गर्छ। व्यवसाय गर्नेको सुखदुःख साट्छ। 'विकासे' संस्थाहरूमा लामो समय काम गरेका उनी पुस्तकमा 'जन–उन्नतिका लागि लगानीकर्ताहरू' अभियानको वकालत पनि गर्छन्। अनुभवजन्य र सरस लेखनले पुस्तक जो–कोहीका लागि उपयोगी बनेको छ।