१४-२० जेठ २०७४ | 28 May - 3 June 2017

रेडियो क्रान्तिको संवाहक

Share:
  
- सविता श्रेष्ठ
जनताले पनि रेडियो चलाउन सक्छन् भन्ने नजिर स्थापना गरेको 'रेडियो सगरमाथा' को पथ पछ्याउँदै मुलुकभर सयौं रेडियो गुञ्जिरहेका छन्।

कुन्द दीक्षित
रेडियो सगरमाथाको बागडोल, ललितपुरस्थित स्टुडियो।
'सकारात्मक सामाजिक परिवर्तनको अनवरत यात्रामा रेडियो सगरमाथा नेपाली रेडियो नेपाली आवाज' भन्दै प्रसारण शुरु गरेको 'रेडियो सगरमाथा' ले ९ जेठमा २०औं वार्षिकोत्सव मनाएको छ। त्यसअघि देशमा २० चैत २००७ मा खोलिएको सरकारी स्वामित्वको 'प्रजातन्त्र नेपाल रेडियो' (अहिलेको रेडियो नेपाल) मात्र प्रसारणमा थियो।

रेडियो नेपाल शुरु हुनु केही वर्षअघि नै २००४ सालमा रेडियो सेट भित्रिइसकेको थियो। तर, त्यो सर्वसाधारणको पहुँचमा थिएन। सरकारीबाहेक निजी क्षेत्रलाई रेडियो स्टेशन सञ्चालनको अनुमति पनि थिएन। जसबाट, सरकारले जे भन्न र भनाउन चाहन्थ्यो, त्यही मात्र प्रसारण हुन्थ्यो।

वरिष्ठ पत्रकार भैरव रिसाल 'रेडियो सगरमाथा' को थालनीले रेडियो प्रसारणको अधिकार नेपाली जनताको हात–हातमा पुगेको बताउँछन्।

रेडियो प्रसारणको अनुमति लिन धेरै संघर्ष गर्नुपरेको सम्झँदै रिसाल भन्छन्, “सिंहदरबारको बाक्लो पर्खाल भत्काएर यो अधिकार बाहिर आएको हो।”
२०४७ सालको संविधानले नागरिकलाई अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्‍यो। त्यसैको टेकोमा नेपाल वातावरण पत्रकार समूह (नेवापस), हिमाल एसोसिएसन, वर्ल्ड भ्यू नेपाल र नेपाल प्रेस इन्ष्टिच्यूटको संयुक्त पहलमा रेडियोको फ्रिक्वेन्सी मोडुलेसन (एफएम) को प्रविधि ल्याउने प्रयास शुरू भयो। तर, ऐन तथा नियमावली नबनेको भन्दै सरकारले अनुमति दिएन।

२०४९ मा राष्ट्रिय प्रसारण ऐन र नियमावली बन्यो। तैपनि एफएम सञ्चालन अनुमति दिइएन। २०५२ मा नेवापसले मुरारी शिवाकोटीको अध्यक्षतामा ओम खड्का र रघु मैनाली रहेको रेडियो सञ्चालक समिति नै बनायो। त्यही वर्षको १८ चैतदेखि ४ दिन उपत्यकाको आकाशमा पहिलोपटक निजी रेडियो घन्कियो। “अनुमति विना किन रेडियो सञ्चालन गरेको भन्दै सरकारले स्पष्टीकरण नै सोध्यो”, रेडियो अभियन्ता रघु मैनाली बताउँछन्।

अथक् प्रयास गर्दागर्दै पनि सञ्चालन अनुमति नदिएपछि नेवापसले बुद्धजयन्तीको अवसर पारेर ९ जेठ २०५४ देखि रेडियो शुरु गर्ने निर्णय गर्‍यो। र, सरकारलाई यसको जानकारी पनि गरायो। बल्ल सरकारले ५ जेठमा सञ्चालन अनुमति दियो– 'रेडियो सगरमाथा १०२ थोप्लो चार मेगाहर्ज'। “त्यसदिन रेडियोमा सरकारी एकाधिकार मात्र तोडिएन, रेडियो सगरमाथा दक्षिणएशियाकै पहिलो सामुदायिक रेडियो बन्यो” मैनाली भन्छन्, “जनजागरण र विकासको हिसाबले रेडियो सगरमाथाले क्रान्तिको ढोका खोलेको थियो।” त्यसपछि नेपालको सुनाम सामुदायिक वनसँगै सामुदायिक रेडियोमा पनि चल्न थाल्यो।

२० वर्ष पुगेको अवसरमा रेडियो सगरमाथाद्वारा आयोजित कार्यक्रममा अध्येता प्रत्यूष वन्त, पत्रकार रमेश भुषाल र संस्थापकद्वय राजेन्द्र दाहाल र कनकमणि दीक्षित ।
यसको अर्को कारण पनि छ, भारतलगायतका देशहरूमा निजी स्वामित्वका रेडियोले समाचार बजाउन पाउँदैनन्। तर, नेपालको अभ्यास फरक छ। यहाँ रेडियोलाई आफ्नै सम्पादनमा समाचार प्रसारण गर्ने स्वतन्त्रता दिइएको छ।

यसक्रममा १३ र १४ मंसीर २०६२, राजा ज्ञानेन्द्रको शाहीकालमा सरकारले रेडियो सगरमाथाको प्रसारण बन्द गराएको थियो। स्टेशनका उपकरण जफत गर्ने, कार्यरत पत्रकारलाई हिरासतमा समेत लिइएको थियो। तर, सर्वोच्च अदालतले सरकारको मनपरीविरुद्ध फैसला दिएपछि १५ मंसीरबाट रेडियोले पुनः प्रसारण थाल्यो। दैनिक दुई घण्टाबाट प्रसारण आरम्भ गरेको रेडियो सगरमाथा अहिले १८ घण्टा बज्छ।

रेडियो सगरमाथाले अनुमति लिए पनि त्यसपछिको एक दशक सहज भएन। तर, पछिल्लो १० वर्ष भने गाउँगाउँ रेडियो पुग्यो। अहिले ४०० भन्दा बढी रेडियो नियमित प्रसारणमा छन्। सूचना तथा सञ्चार मन्त्रालयका अनुसार, २० माघ २०७३ सम्म मुलुकमा ७०० रेडियोले सञ्चालनको अनुमति लिइसकेका छन्।

मैनाली पछिल्लो १० वर्षलाई रेडियोको संख्यात्मक विस्तारको अवधि मान्छन्। तर, यो अवधि रेडियोहरूले सिक्नमै खर्चिएकाले गुणात्मक फड्को मार्न नसकेको उनको धारणा छ।
वरिष्ठ पत्रकार रिसाल भने रेडियोले सामुदायिक रेडियो समुदायको मर्म अनुसार काम गरेको छ कि छैन भनी मूल्यांकन गर्नुपर्ने बताउँछन्। बढेका रेडियोलाई व्यवस्थित गर्न सामुदायिक प्रसारण नीति आवश्यक भइसकेको बताउँदै उनी भन्छन्, “रेडियो धेरै हुँदा स्पष्ट टिप्दैनन्। त्यसैले पनि केही गरिहाल्नुपर्ने बेला भइसकेको छ।”

प्रविधिसँगै श्रोता

शेयरकास्ट इनिसिएटिभको अध्ययन अनुसार, नेपालमा ५४ प्रतिशतले दैनिक रेडियो सुन्ने गरेका छन्। तीमध्ये ६७ प्रतिशतले मोबाइलमार्फत सुन्छन्। इनिसिएटिभका प्रमुख कार्यकारी अधिकृत मधु आचार्य बिहान र बेलुकीको ६–९ बजे धेरैले रेडियो सुन्ने गरेको पाइएको बताउँछन्।

विकसित प्रविधिले रेडियोलाई 'मल्टीपल डिभाइस' मा ट्युन गर्ने सुविधा प्रदान गरेको छ। कम्प्युटर, मोबाइल, ल्यापटप, ट्याबमा समेत रेडियो सुन्न सकिन्छ। प्रविधिले रेडियोलाई परिष्कृत र व्यापक बनाएको बताउँदै आचार्य भन्छन्, “प्रविधिलाई श्रोता र श्रोतालाई नयाँ प्रविधिसँग जोड्न सक्नुपर्छ।”

जहाँसुकै सुन्न र सुन्नका लागि विशेष समयसमेत छुट्याउनु नपर्ने भएकोले रेडियो समाज परिवर्तनको माध्यम बनिरहेको अभियन्ता मैनाली बताउँछन्। उनका भनाइमा, रेडियोको प्रसारण र ट्युनलाई सजिलो तथा सस्तो बनाउने र रेडियोको आयु बढाउने काम प्रविधिले गरेको छ।

शेयरकास्टको अध्ययन अनुसार, अधिकांशले रेडियोमा स्थानीय विषयवस्तु सुन्न रुचाउँछन्। त्यसैले श्रोतालाई रेडियोसँग बाँध्न स्थानीय विषयवस्तु र प्रस्तुतिको गुणस्तर बढाउनुपर्ने रेडियोकर्मी मन्टेश्वरी राजभण्डारीको सुझाव छ। “धेरै रेडियो देखासिखीमा खोलिएका छन्, स्पष्ट लक्ष्य राख्नुपर्छ”, उनी भन्छिन्।

comments powered by Disqus

रमझम