विकासको चरण

Share:
  
- मनिष झा
प्रस्तावित बाहिरी चक्रपथ प्रयोग गर्न पाउँदासम्म हाम्रो सडक संस्कृति आजको भन्दा निकै परिष्कृत भइसक्नेछ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाभित्रको सडकमा जथाभावी सडक काट्ने पैदल यात्रुलाई कारबाहीस्वरुप रु.२०० जरिवाना गर्ने निर्णय कार्यान्वयन गरेको पहिलो दिन नै ३३ सय जना कारबाहीमा परे। जहाँ मन लाग्यो, त्यहींबाट सडक पार गर्न खोज्ने पैदल यात्रुहरूबाट पाँच दिनमै रु.२६ लाख राजस्व संकलन भएको समाचार सुनियो, पढियो। सामाजिक सञ्जालमा यसबारे अहिले पनि निकै विरोध र गुनासा देखिन्छन्– पूर्वाधार विना नियम लाद्न खोजियो भनेर। तर, सरकारले न ती विरोध/गुनासाप्रति कुनै जवाफ दिएको छ न त पूर्वाधार सुधारतर्फ कदम नै चालेको देखिन्छ।

भनिन्छ, कुनै परिवार कति सुसंस्कृत छ भनेर बुझनु छ भने उनीहरूको भान्सा र शौचालय हेर्नुपर्छ। कुनै समाज र शहरको सभ्यता बुझनु छ भने चाहिं त्यहाँको सडक संस्कृति हेर्दा हुन्छ।

७७ वर्ष पहिले सन् १९४० मा एडोल्फ हिटलरले राजा त्रिभुवनलाई उपहार दिएको मर्सिडिज बेन्ज कारलाई भीमफेदीको बाटोहुँदै बोकेर काठमाडौं ल्याइएको थियो। १९२८ मोडलको त्यही नेपाली सडकमा गुडेको पहिलो कार हो भन्ने मानिन्छ। राणाको होस् या राजाको, नेपालमा पहिलो कार ल्याउँदासम्म पनि त्यसलाई गुडाउन लायकको सडक थिएन। भनेपछि, त्यो बेलासम्म हाम्रो सभ्यताको मापन अरू नै केही आधारहरू थिए होलान्। अहिले चाहिं सडकमा देखिने संस्कृति नियालेर नेपाली सामाजिक सभ्यता र सडकहरूको अवस्था हेरेर विकासको मापन गर्न पक्कै सकिन्छ।

जति सडक पूर्वाधार विकास हुन्छ त्यति नै जनजीवन सहज हुन्छ। दैनिक जीवनमा कम संघर्ष गर्नुपरेको प्रभाव मानिसहरूको बोली–व्यवहारमा झ्ल्कन्छ। घर वा डेराबाट कतै निस्किंदा जति सहज रूपमा गन्तव्य पुग्यो, हाम्रो व्यवहार त्यस्तै राम्रो हुन्छ। सडक या गाडीमा जति संघर्ष गर्नुपर्‍यो; त्यति नै हामी र्झ्कोफर्को गर्छौं, व्यवहार पनि त्यस्तै हुन जान्छ।

इन्जिनमा इलेक्ट्रिक स्टार्ट र डिस्क ब्रेक आविष्कार गर्ने फेड्रिक विलियम ल्यन्चेस्टरले बेलायतको सडकमा सन् १८९५ मा पहिलो पटक कार गुडाउँदा त्यहाँ पनि सडक पूर्वाधारको विकास भएको थिएन। यद्यपि, त्यो हाम्रोभन्दा निकै पहिलेको कुरा हो। हाम्रो र उनीहरूको सडक संस्कृतिमा यो समयान्तर राम्रैसँग झ्ल्कन्छ।

राणाकालमा मानिसले गाडी बोकेर 'नेपाल' भित्र्याउँदै गरेका तस्वीरहरू हेरेका हामीले केही वर्ष अगाडि मात्र देखेको र अनुभव गरेको कुरा हो– कोटेश्वर–सूर्यविनायक सडकको स्तर। शुरूमा त्यो सडकको उपयोग गर्न नजान्दा दुर्घटना पनि औसतभन्दा धेरै नै भए, थुप्रैको ज्यान गयो। अहिले त्यो अवस्था घट्दो छ र उपत्यकावासीको सोच र जीवनशैलीमा नेपाली सन्दर्भमा 'एक्सप्रेस–वे' भन्न सकिने गरिको त्यो सडकले केही मात्रामा भए पनि फरक पारेको महसूस हुन्छ।

जसरी सडकले विकाससँग र सडक सभ्यताले सामाजिक सुसंस्कारसँग प्रत्यक्ष सम्बन्ध राख्छ, त्यसरी नै त्यो विकासक्रम र सभ्यता कायम राख्न चालिने कदमहरूले त्यो देशको नीतिनिर्माणको अवस्थाको व्याख्या गर्छ। माथि चर्चा गरिएको 'आवश्यक पूर्वाधार विना नियम लाद्न खोजेको' भन्ने आरोप गलत छैन। सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्ने करदाताले चाहिं सबै जिम्मेवारी समयमै पूरा गर्नुपर्ने प्रवृत्ति हामीले दशकौंदेखि अनुभव गर्दै आएका छौं।

देशभर मोटरसाइकलसहित २४ लाख जति सवारी साधन दर्ता भएका छन्। यो भनेको प्रति १२ नेपालीको भागमा एउटा सवारी साधन हो। सडक पूर्वाधार विकासमा अगाडि रहेको अमेरिकामा पहिलो कार १८९३ मा गुडेको थियो। ३२ करोड जनसंख्या भएको अमेरिकामा २६ करोड सवारी साधन दर्ता भएका छन्। त्यहाँ प्रति एक सवारी साधन १.२ व्यक्ति पर्छन्। यसले अमेरिकाको जीवनस्तर, जनताको क्रयशक्ति र सभ्यता देखाउँछ। ५२ हजार डलर प्रतिव्यक्ति वार्षिक आय रहेको देश हो अमेरिका। हामी पनि यसपटक ८६५ डलरमा पुगेका छौं।

हाम्रा कतिपय जिल्लाका सदरमुकामबाट गाउँमा पुग्न साता दिनसम्म हिंड्नुपर्ने अवस्था छ। विस्तारै सडक पनि बन्दैछ, तर सरकारले सवारी साधनलाई अझ्ै पनि विलासिताको वस्तु मानेर २४० प्रतिशतसम्म कर असुलिरहेको छ। सडकमा पैदल यात्रुको लागि हिंड्ने 'सुविधा' हेर्दा, सर्वसाधारणप्रति राज्यको हेपाहा आचरण देखाउँछभने सडकमा लेन मिचेर गुड्ने गाडी र पैदल यात्रीको व्यवहारले हाम्रो सामाजिक सभ्यताको स्तर। र पनि हामी, बाहिरी चक्रपथतिर उन्मुख छौं। त्यो भनेको हामी क्रमशः सुसंस्कृत नै हुँदैछौं।

comments powered by Disqus

रमझम