आफैंसँग जुध्दै एमाले

Share:
  
- मुकेश पोखरेल, जनकपुरमा
गुटबन्दी, नेतृत्वको कठोर वचन र अस्पष्ट दृष्टिकोणका कारण पूर्वी तराई–मधेशमा खस्किएको साख फिर्ता गर्न एमाले संघर्षरत छ।

२३ फागुन २०७३ मा सप्तरीको राजविराजमा नेकपा (एमाले) को मेची–महाकाली अभियान कार्यक्रमलगत्तै भएको सुरक्षाकर्मीसँगको झ्डपमा पाँच जना स्थानीय मारिए। एमालेको कार्यक्रम जसरी भए पनि बिथोल्ने कार्यको नेतृत्वकर्ता थिए– संघीय समाजवादी फोरम सप्तरीका अध्यक्ष दिनेश यादव।

यिनै दिनेश २०६५ सालसम्म एमालेका कट्टर कार्यकर्ता थिए। एमालेका केन्द्रीय सदस्य सुमन प्याकुरेलको दह्रो संरक्षण पाएका यादव प्याकुरेलकै अघिपछि हुन्थे। एमाले स्थायी समिति सदस्य सत्यनारायण मण्डलका अनुसार सप्तरीका एमाले कार्यकर्ताहरू दिनेशलाई प्याकुरेलकै 'धर्मपुत्र' का रूपमा बुझथे।

अहिले अवस्था ठ्याक्कै उल्टिएको छ। सप्तरी घटनायता तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले दुईपटकसम्म एमालेको कार्यालयमा आगजनी गरिसकेको छ। मोर्चाको आक्रमण र धम्कीका कारण प्याकुरेलको परिवार सप्तरीबाट करीब दुई महीना विस्थापित हुनुपर्‍यो। र, यी सबै काम उनै दिनेश नेतृत्वमा गरेका छन्। आफ्नै संरक्षकलाई नै जिल्ला निषेध गर्ने तहसम्म पुग्नुको एउटै कारण हो, टिकट।

२०६५ सालमा एमालेको सातौं जिल्ला अधिवेशनको प्रतिस्पर्धामा दिनेशले प्याकुरेलको समूहबाट टिकट पाएनन्। फरक प्यानलबाट चुनाव लडेका उनी पराजित भए। पार्टीबाट असन्तुष्ट त्यसपछि उनी उमेश यादव, अनिरुद्र यादव, केदार यादवसहित ठूलो समूहका साथ उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरममा प्रवेश गरे। त्यसपछि एमाले उनको 'मुख्य दुश्मन' बन्यो।

जिल्ला तहका एमाले नेताहरू केन्द्रका नेताहरूको गलत प्रवृत्तिकै कारण सप्तरीमा पार्टीले कार्यकर्ता गुमाइरहेको र पार्टी छाड्नेहरू नै आक्रामक बनिरहेको गुनासो गर्छन्। तर, एमाले नेतृत्व भने यो कुरा स्वीकार्न तयार छैन। एमाले सचिव योगेश भट्टराई तराई/मधेशका भावनामा बगेर केही कार्यकर्ताले पार्टी छोडेको बताउँछन्। “एमालेलाई नियोजित रूपमा कमजोर गराउने षडयन्त्रका रूपमा आक्रमण भइरहेको छ” एमाले प्रचार विभाग प्रमुखसमेत रहेका उनी भन्छन्, “मोर्चाको आन्दोलनमा एमाले कार्यकर्ता नगएपछि यी सबै भइरहेको बुझन गाह्रो छैन।”

तर, तराई–मधेशका बस्ती घुमेपछि थाहा लाग्छ, कार्यकर्तामा नैराश्यता बढ्नुमा भट्टराईले भनेजस्तो 'भावनामा बहकिनु' मात्रै प्रमुख होइन। तराई–मधेशप्रति पार्टीले लिएको नीतिका बारेमा बुझाउन नसक्नु, उपयुक्त अवसरबाट बञ्चित गरिनु, तराई–मधेशप्रति लक्षित नेताहरूका बेलाबेलाका कठोर वचन जस्ता थुप्रै कारण कार्यकर्ता एमालेसँग टाढिइरहेका छन्।

पुरानै असन्तुष्टि

सप्तरीमा एमाले कार्यकर्ताको असन्तुष्टि नयाँ भने होइन। २०५४ सालको स्थानीय निकाय निर्वाचनमा जिल्ला विकास समिति सभापतिको टिकट वितरणमा भएको गुटबन्दीपछि जयकृष्ण गोइतको नेतृत्वमा एउटा प्रभावी समूह निष्त्रि्कय हुँदै पार्टीबाट बाहिरिएको थियो। एमाले सप्तरीका उपसचिव प्रतापनारायण चौधरीका अनुसार, त्यसबेला जिविस सभापतिमा गोइत र सत्यनारायण मण्डल आकांक्षी थिए। जसमा, एमाले अञ्चल कमिटीबाट मण्डलको नाम सिफारिश भयो।

तर, केन्द्रले भने कमै चर्चामा रहेका दिवाकर देवकोटालाई सभापति र गोइतलाई उप–सभापति बनाउने निर्णय गर्‍यो। पार्टीमा देवकोटाभन्दा वरिष्ठ गोइतले आफूलाई अपमानित महसूस गर्दै उम्मेदवार बन्न अस्वीकार गरे। निर्वाचनमा एमाले उम्मेदवार देवकोटा पराजित भए। एमाले पराजित हुनुको पछाडि ९५ प्रतिशत मधेशी बहुल रहेको जिल्लामा मधेशीमूलका उम्मेदवारलाई पन्छाएर देवकोटालाई टिकट दिनुलाई कारण मानियो। त्यस घटनापछि कार्यकर्ता बीचमा पार्टीले 'पहाडिया' लाई मात्र प्राथमिकता दिन्छ भन्ने मनोविज्ञान बलियो बन्न थाल्यो। कालान्तरमा त्यसको फाइदा अन्य शक्तिले उठाउन पुगे। निष्त्रि्कय गोइत माले हुँदै माओवादीमा प्रवेश गरे।

एमालेले गल्तीबाट पाठ सिकेन। जसले, जिल्लामा एमाले छोड्ने क्रम रोकिएन। २०६३/६४ सालको मधेश आन्दोलनपछि क्षतिले व्यापकता पायो।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि एमालेले फेरि त्यही गल्ती गर्‍यो। सप्तरी–१ को थारू बहुल क्षेत्रमा एमालेले पार्टीका जिल्ला सचिव मानपुर चौधरीलाई टिकट नदिएर सुमन प्याकुरेललाई उठायो। विद्रोही बनेका मानपुरले ७ हजार ६३७ मत ल्याएर तेस्रो भए भने प्याकुरेलले ६ हजार ६९६ मत मात्र ल्याए। उता विजयी हेमराज ताडेतले ९ हजार ७९ मत पाए। यो घटनासँगै मानपुर र हीरालाल चौधरीलगायतको ठूलो समूह एमालेबाट बाहिरियो। हीरालाल २०४८ सालको निर्वाचनमा सप्तरी–१ बाट एमालेका विजयी सांसद् थिए। २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा माओवादीबाट उठेका मानपुरले उनै प्याकुरेललाई अर्को हारको स्वाद चखाए। मानपुरले ९ हजार ८४४ मत ल्याउँदा प्याकुरेल ८ हजार २४२ मतमै खुम्चिए।

मदन भण्डारीको 'मधेश'

सत्यनारायण मण्डल अहिले पनि तत्कालीन एमाले महासचिव मदन भण्डारीको त्यो फोनकल सम्झ्न्छन्। त्यो बेलामा मण्डल एमालेबाट राष्ट्रिय सभाका सदस्य थिए। “अहिले सदन चलेको छैन, कार्यदलमा को छ/छैन, भन्ने ठूलो विषय होइन, तराई–मधेश गएर त्यहाँको समस्या के हो? स्थानीय बुद्धिजीवीबाटै पहिचान गराउनुस्”, २ जेठ २०५० मा भण्डारीले मण्डललाई भनेका थिए। दुर्भाग्य, त्यसको भोलिपल्टै दुर्घटनामा भण्डारीको मृत्यु भयो।

२०४८ सालको निर्वाचनमा कोशी पश्चिम तराईका जिल्लाबाट एमालेको पक्षमा राम्रो नतीजा नआएपछि भण्डारी चिन्तित देखिएका थिए। त्यसैले दुर्घटनामा पर्नुभन्दा एकसाताअघि मात्र उनले मोदनाथ प्रश्रितको संयोजकत्वमा तराई समस्या अध्ययन कार्यदल बनाएका थिए। कार्यदलमा रामचन्द्र झा, जितेन्द्र देव, सीतानन्दन राय, महेन्द्र राय र सलिम मियाँ अन्सारी थिए।

भण्डारीको निधनपछि पनि कार्यदलले तराईका समस्याबारे जनकपुर, सप्तरी र विराटनगरमा छलफल चलायो। तर, पार्टीको एउटा खेमाले एमालेलाई 'गजेन्द्रनारायण सिंह' पथमा लैजान खोजेको आरोप कार्यदलमाथि लगायो। त्यसपछि वीरगञ्जलगायतका ठाउँमा आयोजना गरिएका कार्यक्रम स्थगित गरेर कार्यदलले प्रतिवेदन बुझ्ायो। तर, प्रतिवेदनमा उल्लेख गरिएका मधेशका समस्या समाधान गर्न पार्टी नेतृत्व कहिल्यै उदार देखिएन।

“मदन भण्डारीको योजना अनुसार काम भएको भए, आज एमालेप्रति कसैले औंला उठाउने ठाउँ नै रहँदैनथ्यो”, मण्डल भन्छन्।

तत्कालीन कार्यदलका सदस्य र हाल नेपाल लोकतान्त्रिक फोरमका नेता जितेन्द्र देव कार्यदलका सुझावलाई एमाले नेतृत्वले कहिल्यै सकारात्मक रूपमा नहेरेको बताउँछन्। “हामीले दिएको सुझाव कार्यान्वयन गरेको भए मात्रै पनि अहिलेको अवस्था आउँदैनथ्यो”, उनी भन्छन्। अहिले कार्यदलमा रहेका अधिकांशले एमाले छाडिसकेका छन्। यसबाहेक केन्द्रीय, पोलिटब्यूरो र स्थायी समितिमा प्रतिनिधित्वमा गरिने उपेक्षाले पनि मधेशी नेताहरूलाई छोएको देखिन्छ।

'बोली सम्हाल'

एक महीना अघि तराईका मोरङ, सुनसरी, सप्तरी, सिरहा र धनुषाका चोक र चियापसलहरूमा पुग्दा बातचितको केन्द्रमा कोही थिए भने, एमाले अध्यक्ष केपी ओली नै थिए। अधिकांश उनीप्रति आक्रोशित थिए। ओलीले, आम मधेशीलाई 'बिहारी' भन्दै होच्याएको भन्दै स्थानीय दुःखी देखिन्थे। जनकपुर–१४ का प्रेमचन्द्र ठाकुर अनुहार र भाषा मिल्दैमा मधेशी भारतीय नभएको कुरा नेता ओलीले नबुझेको बताउँछन्। “ओलीसँग लडेर बस्छौं, तर कहिल्यै भारत जाँदैनौं”, उनी भन्छन्।

एमाले सप्तरीका उपसचिव प्रतापनारायण चौधरी मोर्चा कार्यकर्ताले ओलीको भनाइलाई गलत व्याख्या गर्दै भ्रम सिर्जना गरेको बताउँछन्। जनकपुरका राजदेव मिश्र मोर्चाको आन्दोलन आफ्नो बलले भन्दा पनि एमाले नेता ओलीको बोलीले धानिएको बताउँछन्।
“म मोर्चाको कार्यकर्ता होइन, तर ओलीको बोलीले मोर्चालाई बलियो बनाएको छ”, १२ वैशाखमा जनकपुरको रामानन्द चोकमा भेटिएका श्रवण यादव भन्छन्।

एमाले अध्यक्ष ओलीले भने मधेशीलाई होच्याउने र गलत मनसायबाट आफूले अभिव्यक्ति नदिएको पटक–पटक स्पष्ट पार्दै आएका छन्। १० वैशाख र २३ जेठको संसद् बैठकलाई सम्बोधन गर्ने क्रममा पनि उनले समुदाय र जातिविशेषलाई होच्याउने अभिव्यक्ति नदिएको र आफ्नो भनाइको गलत प्रचार गरिएको बताएका थिए।

तर, एमालेका स्थानीय कार्यकर्ताहरू भने शीर्ष नेतृत्वबाटै व्यक्त विचारका कारण अप्ठेरोमा छन्। “नेताहरूका अभिव्यक्तिले हामीलाई असहज भएको छ” धनुषा एमालेका सचिव सोमप्रसाद शर्मा भन्छन्, “यसबारे नेतृत्वले पनि गल्ती महसूस गरिसकेको छ, यसलाई बढाइँचढाइ गरेर नकारात्मक प्रचार गर्ने काम विपक्षीले गरे।” उनका भनाइमा, मेची–महाकाली अभियानका क्रममा ओलीले आफ्नो अभिव्यक्तिबारे जनतालाई स्पष्ट पार्ने कार्यक्रम थियो। तर, सप्तरी घटनापछि अभियान स्थगित भएकाले त्यसो हुन सकेन।

त्यसो त मधेशी मोर्चाका नेताहरूले गर्ने उत्तेजित भाषण पनि तराई–मधेशका जनताले मन पराएका छैनन्। अधिकारका नाममा समुदाय विशेषलाई होच्याएर गर्ने भाषणले समुदायमा विद्वेष र सामाजिक सद्भाव बिग्रने उनीहरूको चिन्ता देखिन्छ। “नेताका उत्तेजित भनाइले देशको भलो गर्दैन, बोल्दा होश पुर्‍याउनुपर्छ”, रारा बहुमुखी क्याम्पसका प्राध्यापक सुरेन्द्र लाभ भन्छन्।

जस्तो कि, गत चैतको दोस्रो साता राजविराजमा आयोजित कार्यक्रममा राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले एमालेप्रति लक्षित गर्दै अन्य दललाई कार्यक्रम गर्न नदिन, कालोमोसो दल्न, गधामा राखेर घुमाउन र बोली बार्न कार्यकर्तालाई निर्देशन दिए।

नेपाल लोकतान्त्रिक फोरम, सप्तरीका अध्यक्ष शैलेस चौधरीका भनाइमा, अर्को पक्षलाई निषेध गर्ने नाममा उत्तेजित र साम्प्रदायिक बनाइएका कार्यकर्ता भोलि आफैंसँग नरहने स्थिति उत्पन्न हुनसक्नेमा सचेत हुनुपर्ने बताउँछन्। यस्ाको फाइदा साम्प्रदायिक राजनीति गर्नेले उठाउन सक्नेमा उनी सचेत छन्। माओवादीको वर्तमानबाट पनि अन्य पार्टीले सिक्नुपर्ने बताउँदै उनी भन्छन्, “चर्का कुरा गरेर, केही समय कार्यकर्ता उत्तेजित बनाउन सकिएला, तर, त्यो आफ्नै लागि घातक हुन्छ।”


नवप्रवेशीले राहत

१४ असारमा हुने दोस्रो तहको निर्वाचन मिति नजिकिंदै जाँदा तराईका जिल्लामा एमाले प्रवेश गर्नेको संख्याले कार्यकर्तामा उत्साह थपेको छ। राजविराज घटनापछि जिल्लामा कुनै सार्वजनिक कार्यक्रम गर्न नसकेको एमालेले २३ जेठमा राजविराजमै कार्यक्रम गरी राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य सुरेश सिंह, लाल मोहम्मद, दलित जनजाति पार्टीकी केन्द्रीय सदस्य पारोदेवी खंग, संघीय समाजवादी फोरम नेपालका प्रदेश सदस्य सुखराम यादव, तत्कालीन सद्भावनाका केन्द्रीय सदस्य हेमशंकर सिंहलगायतलाई पार्टीमा भित्र्यायो। संघीय समाजवादीबाट आएका सुखराम यादवलाई राजविराज नगरपालिकाको मेयर र हेमशंकर सिंहलाई तिलाठी नगरपालिकाको उपाध्यक्ष उम्मेदवार नै बनाइएको छ। पार्टी प्रवेश कार्यक्रमपछि एमालेले सप्तरीको राजविराजमा चुनाव प्रचारप्रसार कार्यालय खोलेर चुनावी अभियान तीव्र बनाएको छ। गत फागुनयता राजविराजमा एमालेको यो कार्यक्रम नै पहिलो थियो।

यस्तो उत्साह सिरहामा पनि देखिन्छ। गत चैतमा सिरहाको लहान नगरपालिकाका पूर्व प्रमुख, माओवादी केन्द्रका नेता मुन्निलाल साहलाई पार्टीमा भित्र्याएको एमालेले पछिल्लो पटक दिवंगत पूर्व सांसद हेमनारायण यादवकी श्रीमती एवम् पूर्व सभासद् पारो यादव, उनका छोरा माओवादी केन्द्रका केन्द्रीय सदस्य डा. नवीन यादव, नेपाली कांग्रेसका प्रकाश कोइरालालगायतलाई पार्टी प्रवेश गराएको छ। मुन्निलाल साहलाई एमालेले लहान नपाको मेयरको उम्मेदवार बनाएको छ भने, डा. नवीन सिरहा नपाको प्रमुखको उम्मेदवार बनेका छन्। यसअघि महोत्तरीका माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्व सांसद् मरमुद नदाफ, राजपाका नेता राजेन्द्र चौधरीलगायत एमाले प्रवेश गरिसकेका छन्।

तराई मधेशमा एमाले प्रवेशीको संख्या बढ्नुलाई पार्टीप्रतिको आकर्षण मान्न भने कठिन हुन्छ। किनभने निर्वाचनकेन्द्रित पार्टी प्रवेशले धेरैमा टिकटको आकांक्षा देखिन्छ। एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर २ का संयोजक सत्यनारायण मण्डल भने, विगतमा मधेशी मोर्चाले फैलाएको भ्रम जनताले बुझ्न थालेकाले एमालेप्रति आकर्षण बढेको मान्छन्। “अरू पार्टीको भविष्य नदेखेर नै अन्य पार्टीका नेता, कार्यकर्ता एमाले प्रवेश गरेका हुन्” मण्डल भन्छन्, “एमाले मधेश विरोधी होइन भन्ने सत्य जनताले बुझ्न थालेका छन्।”


'नेताजी' की विद्रोही छोरी

२५ वर्षदेखि आपसमा भिडिरहेका दाजुभाइ स्थानीय तह निर्वाचनमा भने मेयरको टिकट त्यागेर छोरीका लागि प्रतिस्पर्धी बनेका छन्।

बच्चु विक, मेलौली, बैतडी

तस्वीरहरुः बच्चु विक
चन्द्रकला साउद (दायाँ), उनका बुवा प्रकाश र बहिनी पूनम।
२०४७ सालमा महेन्द्रनगर, कञ्चनपुरको खुलामञ्चमा नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीको भाषण सुन्न पुगेका थिए, प्रकाशसिंह साउद। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शुभेच्छुक २१ वर्षीय साउद फर्कंदा भने एमाले बनिसकेका थिए।

कार्यक्रमलगत्तै मदन भण्डारीबाट सदस्यता लिएका मेलौली नगरपालिका–७ तल्लादेही, बैतडीका साउदले त्यसपछि जनताको बहुदलीय जनवाद (जबज) अध्ययन मात्र गरेनन्, उनकै जीवनशैली पछ्याउने प्रयत्न पनि गरे। कतिसम्म भने मदनका दुई छोरी भएकोले उनले पनि दुई छोरी चन्द्रकला र पूनम जन्मिएपछि परिवार नियोजन गरे, पत्नी भानु साउदलाई समेत पत्तै नदिई। बैतडी, जहाँ अहिले पनि छोरा नजन्मिंदासम्म सन्तान जन्माइराख्ने, छोराकै लागि अर्को विवाह गर्ने संस्कार कायम छ।

यही राजनीतिक तथा व्यावहारिक जीवनशैलीका कारण उनलाई मेलौलीमा प्रकाश भन्दा 'नेताजी' नामले चिनिन्छन्। तर, तिनै नेताजी स्थानीय तह दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा भने सकसमा छन्। यसको कारण अरू कोही नभई आफ्नै छोरी बनेकी छन्। 'नेताजी' की जेठी छोरी चन्द्रकला (२६) राप्रपाबाट मेलौली नगरपालिकाको उपमेयरको उम्मेदवार बनेकी छन्। “२७ वर्षको राजनीतिक जीवनमा सबैभन्दा अप्ठ्यारो मोडमा उभिएको छु। एकातिर छोरी, अर्कोतिर आफैंले हुर्र्काएको पार्टी। साह्रै पीडा भइरहेको छ”, उनी भन्छन्।

घरमै प्रतिस्पर्धी

तल्लो स्वराड क्षेत्र भनेर चिनिने मेलौली राणा, पञ्चायत र बहुदलीय व्यवस्थामा पनि सुदूरपश्चिम राजनीतिको केन्द्र रहँदै आएको छ। बैतडी र डडेल्धुरा एउटै क्षेत्र हुँदा बीपी कोइरालाका सहयात्री एनडी प्रकाश चटौत र पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानीको राजनीतिक थलो यही क्षेत्र थियो। विद्रोही नेता भीमदत्त पन्तको ओहोरदोहोरले परिवर्तनको ज्वार ल्याएको यही भूगोलले पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई जन्म दिएको हो।

२०४६ सालको प्रजातन्त्र पुनर्स्थापनापछि नेपाली कांग्रेसको दबदबा रहेको यो क्षेत्रमा पूर्वप्रधानमन्त्री चन्दलाई पटक–पटक विजय दिलाउन सघाउने राप्रपाका स्थानीय नेता हुन्, अशोकसिंह साउद। उनी अहिले पनि चन्दका छोरा एवं राप्रपाका महामन्त्री जयन्तबहादुर चन्दलाई जिताउन खटिइरहेका छन्। प्रकाशसिंहका साक्खै दाजु हुन्, अशोकसिंह।

भाइ एमाले भएदेखि नै साउदको परिवारमा राजनीतिक प्रतिस्पर्धा शुरू भयो। एक्लै संगठन विस्तारमा लागेका प्रकाशले २०४९ को स्थानीय निर्वाचनमा आफ्नै वडा नं. ६ बाट उम्मेदवार नै भेटाएनन्। वडा अध्यक्षको उम्मेदवार बन्न २५ वर्ष पुग्नुपर्ने कानूनी प्रावधान थियो, तर उनी भर्खर २३ वर्षका थिए। तर, चुनाव लड्न पाइनँ भने मेलौलीबाट फर्किन दिन्न भनेर धम्क्याएपछि निर्वाचन अधिकृतले खुसुक्क 'उमेर कम छ भनेर हल्ला नगर, आफ्नो प्रचार गर' भनेको उनी सम्झ्न्छन्।

वडा अध्यक्षमा उनका प्रतिस्पर्धी थिए, उनै दाइ अशोक। कांग्रेस बलियो रहेको वडामा दाइभाइको प्रतिस्पर्धा हुँदा आमाले भोट हाल्नै मानिनन्। यद्यपि परिणाम भने प्रकाशको पक्षमा आयो– ४ मतको विजयसहित।

घरभित्रको प्रतिस्पर्धा यत्तिकैमा सकिएन। २०५४ को स्थानीय निर्वाचनमा एमालेबाट भाइ र राप्रपाबाट दाइ मेलौली गाविस अध्यक्षको उम्मेदवार बने। यस पटक भने दाइ अशोकले बाजी मारे।

त्यसको २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा पनि राप्रपाबाट अशोक र एमालेबाट प्रकाश नै मेलौैली नगरपालिकाका मेयरका सम्भावित उम्मेदवारका दावेदार थिए। तर, राजनीतिमा गुट/उपगुटको दूषित खेलले आफ्नालाई काखी च्याप्दा योग्यहरू पाखामा परे। प्रकारान्तरले दाजुभाइ उम्मेदवार बनेनन्। तर पनि प्रतिस्पर्धा तीव्र छ, छोरी चन्द्रकलाका रूपमा।

गुटको शिकार

घरमै राजनीतिक प्रतिस्पर्धा देखे/भोगेकी चन्द्रकला त्यसबाट टाढै रहन खोज्थिन्। उनको इच्छा थियो, सुरक्षा निकायमा काम गर्ने। स्नातक अध्ययनरत उनले पटकपटक नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा भर्ना पनि हुन खोजिन् तर बुवा, ठूलोबुवाले सहमति नै दिएनन्। एक पटक घरमा थाहै नदिई राष्ट्रिय अनुसन्धान विभागको असईमा दरखास्त पनि हालिन्। तर, लिखित परीक्षा दिने बेला बुवाले चाल पाए। बुवाले 'असई भएर के गर्छ्यौ, समाजसेवामा लाग्यौ भने कैयौं असईले स्यालुट ठोक्छन्' भनेपछि छाडिदिइन्। वास्तवमा दुवै दाजुभाइ पढाइमा अब्बल र वाक्पटु छोरीलाई राजनीतिमा लागेको हेर्न चाहन्थे।

साउद परिवारको घरमा लगाइएको राप्रपा र एमालेको झण्डा।
त्यसो त उनी राजनीति पनि गरी नै रहेकी थिइन्। यस अवधिमा उनी अनेरास्ववियू हुँदै युवा संघको जिल्ला सहसचिव र अखिल नेपाल महिला संघको जिल्ला कोषाध्यक्ष निर्वाचित भइन्।

यो सँगै सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) को सामुदायिक परिचालक भएर पाँच वर्ष काम गरेकी चन्द्रकलाको सक्रियताबाट प्रभावित एमाले नगर समितिले उनैलाई उपमेयरको सिफारिश गर्‍यो। उनी प्रचारमा पनि लागिन्। मेयरका प्रतिस्पर्धामा बुवा प्रकाश छँदैथिए। जिल्ला समितिले भने बुवाछोरीलाई नै टिकट दिंदा नराम्रो सन्देश जान्छ भन्दै बुबालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्‍यो।

यता प्रदेश कमिटीले भने एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका पूर्व अर्थ–राज्यमन्त्री दामोदर भण्डारीले मेयर जगदीश नायकको पक्ष लिंदा वरिष्ठ नेता माधवकुमार नेपाल गुटका नेता परमानन्द भट्टले उपमेयरमा मानमती भट्टको पक्ष लिए। पार्टीको निर्णयबाट आहत बनेकी चन्द्रकला भन्छिन्, “प्यानलवालाले टिकट पाए, एमाले मात्रै हुँदा किनारा लगाए।”

उता राप्रपाबाट अशोक मेयरका उम्मेदवार बन्ने पक्का थियो। पटक पटक भाइसँग चुनाव लडेका उनी 'छोरीमाथि अन्याय हुँदा' आफू उम्मेदवार बन्न मन नलागेको बताउँछन्। उनले आफूले मेयरको टिकट त्यागेर राप्रपाबाट उपमेयर लड्न चन्द्रकलालाई टिकट दिलाए। जे भए पनि पार्टीको निर्णय सहेर राप्रपाबाट उम्मेदवार नबन्न छोरीलाई प्रकाशले गरेको बारम्बारको आग्रह यहाँनेर काम लागेन। “पार्टी जुनसुकै भए पनि आफूले राम्रो काम गर्ने हो भन्ने लागेर ठूलोबुवाले भनेको मानें”, चन्द्रकला भन्छिन्। प्रकाशले घरमा सूर्य र हँसिया हथौडा भएका दुई वटा झ्ण्डा लगाएका थिए। तर, उम्मेदवार बनेपछि चन्द्रकलाले सूर्य झ्िकेर गाईको झ्ण्डा लगाइन्, हँसिया हथौडाको झ्ण्डा भने त्यहीं छ। “बुवा आफ्नो ठाउँमा हुनुहुन्छ, राजनीतिक प्रतिस्पर्धा आफ्नो ठाउँमा छ” उनी भन्छिन्, “मेरो प्रचारमा हिंड्नुस् भनेकी छैन। दिनभरि आ–आफ्नो पार्टीको प्रचारमा हुन्छौं, साँझ् घरमा सँगै खाना खान्छौं।”

comments powered by Disqus

रमझम